शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङका हिमाली बस्तीमा हिमपात, जनजीवन प्रभावित

आइतबार, ०९ माघ २०७८, १८ : ३६
आइतबार, ०९ माघ २०७८

हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रोपटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरुमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ ।  

अहिले हिमाली बस्तीहरु हिउँले छोपिएको छ । गत बिहीबारदेखि हिमपात हुन सुरु भएकोमा आज पनि हिमपात जारी रहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका शेर्पाले बताए । 

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपायसमेत प्रभावित भएको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताएका छन् । हिमाली क्षेत्रका प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउ नै मुस्किल पर्ने शेर्पाले बताए। सबैभन्दा याक चौँरीका बाछाबाछीलाई हिमपातको समयमा जोगाउन समस्या हुने शेर्पाले बताए । 

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुङगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपातले बस्ती छोपेको छ । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात  भएको मिक्वाखोला गाउँपालिका–६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए । 

त्यस्तै समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारणले पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीसमेत प्रभावित हुन पुगेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । 

हिमपात भएसँगै यता सदरमुकाम फुङलिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावित भएको छ । ताप्लेजुङमा पहिलो पटक पुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो  २९ गते हिमपात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने बताए । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप