शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सरकारले निर्वाचन मिति धकेल्न खोजेको ओलीको आरोप, मुख्यमन्त्री र सीडीओसँग गृहमन्त्रीको टेलिफोन

राष्ट्रियसभा निर्वाचन : मध्यरातबाट मौन अवधि सुरु हुँदै
आइतबार, ०९ माघ २०७८, १९ : ४१
आइतबार, ०९ माघ २०७८

आज २०७८ माघ ९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा सरकारले स्थानीय तहको निर्वाचन मिति धकेल्न खोजेको ओलीको आरोप, राष्ट्रियसभा निर्वाचन : मौन अवधि आज मध्यरातबाट सुरु हुँदै, माघ २७ मा बस्ने बैठकबाट माओवादी केन्द्रले पदाधिकारी टुङ्ग्याउने, आइतबार कोरोना संक्रमितको संख्या घट्यो, एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत : राप्रपा, मधेस प्रदेशले सच्यायो राजपत्र, प्रधानमन्त्री देउवा र मन्त्री रेणु यादवको पुतला दहन, तीन मुख्यमन्त्री र १२ प्रमुख जिल्ला अधिकारीसँग गृहमन्त्रीको टेलिफोन संवाद लगायत छन् ।

१. सरकारले स्थानीय तहको निर्वाचन मिति धकेल्न खोजेको ओलीको आरोप
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत सरकारले स्थानीय तहको निर्वाचन मिति ६ महिना पर धकेल्न खोजेको आरोप लगाएका छन् । उनले आइतबार विज्ञप्ति प्रकाशित गर्दै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन रहने परिकल्पना नगरेको पनि प्रस्ट पारेका छन् । उनले संविधानअनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने अडानसमेत राखेका छन् । निर्वाचन आयोगले पनि वैशाखमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिँदै आएको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार मध्यरातपछि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न तथा मत माग्न पाइँदैन । 

​३. माघ २७ मा बस्ने बैठकबाट माओवादी केन्द्रले पदाधिकारी टुङ्ग्याउने
नेकपा माओवादी केन्द्रले माघ २७ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गर्ने भएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भए पनि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पार्टी अध्यक्ष पुष्कमल दाहालले आन्तरिक परिपत्र जारी गर्दै केन्द्रीय कमिटी बैठक माघ २७ मा बस्ने र सोही बैठकले पदाधिकारी चयन गर्ने जनाएका हुन् ।

४. आइतबार कोरोना संक्रमितको संख्या घट्यो
शनिबार १० हजारभन्दा बढीमा कोरोना संक्रमण पाइएकोमा आइतबार तुलनात्मक रुपमा नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ ।

५. एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । उनी हाल आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । यता, नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई पनि कोरोना संक्रमण भएको छ । उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

६. निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत : राप्रपा
राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्रका सम्बन्धमा उपयुक्त समयमा जवाफ दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले गत माघ २ गते राप्रपालाई पत्र काटेर पार्टीको विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र’ शब्दावली हटाउन भनेको थियो । आयोगले राप्रपाको झण्डामा गाई समेत नराख्न भनेको थियो । 

७. मधेस प्रदेशले सच्यायो राजपत्र
प्रदेशको नामकरणबारे जानकारी दिन मधेस प्रदेशले जारी गरेको राजपत्रमा नेपालको नक्सा नै त्रुटिपूर्ण पाइएपछि सच्याइएको छ । संसदले अनुमोदन गरिसकेको नेपालको नयाँ नक्सा प्रयोग गर्नुपर्नेमा प्रदेश राजपत्रमा पुरानै नक्सा प्रयोग भएको थियो । पुरानो नक्सा प्रयोग भएको भनेर विवाद बढेसँगै मधेस प्रदेशले राजपत्र सच्याएर पुनः प्रकाशन गरेको छ ।

८. प्रधानमन्त्री देउवा र मन्त्री रेणु यादवको पुतला दहन
जनकपुरमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन भएको छ । एमाले निकट युवा संघ नेपालले मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएको र प्रधानमन्त्री देउवाले मन्त्री यादवको संरक्षण गरेको भन्दै पुतला दहन गरेको हो ।

९. तीन मुख्यमन्त्री र १२ प्रमुख जिल्ला अधिकारीसँग गृहमन्त्रीको टेलिफोन संवाद
गृहमन्त्री बालकृष्ण खाणले आइतबार तीन मुख्यमन्त्री र १२ प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गर्दै कोभिड–१९ सामना गर्ने तयारी, शीतलहर प्रभावितको अवस्था लगायत जनसरोकारका विषयमा चासो राखेका छन् । उनले कोभिड संक्रमणको अवस्था, सीमा नाकामा स्वास्थ्य परीक्षण, होल्डिङ सेन्टर लगायतका बारेमा पनि जानकारी लिएका छन् ।

१०. आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार नआउने
मौसमविदहरुले आगामी तीन दिनसम्म नेपालको मौसममा उल्लेख्य सुधार नआउने प्रक्षेपण गरेका छन् । अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लागेको र देशका विभिन्न भागमा वर्षा भइरहेको उनीहरुको भनाइ छ ।

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा ओर्लिएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरेको पाइएको छ । शनिवार साँझ ती महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी जनार्दन जीसीले जानकारी दिए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुडिरहेको बोलेरोलाई किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप