शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

सोमबार, १० माघ २०७८, १० : १४
सोमबार, १० माघ २०७८

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् ।

कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरामा फैलिइरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्योपचार गर्ने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएपछि पोखरामा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच जना स्टाफ नर्स सहयोग गरेको छ ।

केही दिनअघि नेलम्बोले सरुवा तथा सङ्क्रामक अस्पताललाई समेत चार जना स्वास्थ्यकर्मी सहयोग गरेको थियो । स्वास्थ्यकर्मी अधिकतम मात्रामा सङ्क्रमित भइरहेको अवस्थामा स्वास्थ्य अस्पतालमा बिरामीको उपचारमा स्वास्थ्यकर्मीको अभाव सिर्जना नहोस् र नागरिकले सहजरुपमा स्वास्थ्योपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले आगामी छ महिनाको लागि पाँच जनाको स्वास्थ्य जनशक्ति  सहयोग गरिएको नेलम्बोले जनाएको छ ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा आइतबार नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । अध्यक्ष देवकोटाले हाल कोभिड १९ ले विश्वनै आक्रान्त भइरहेको अवस्थामा कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव नहोस र बिरामीको उपचारमा सहयोग गर्नका लागि जनशक्ति सहयोग गरिएको बताए। जनशक्ति सहयोगबापतको सबै खर्च नेलम्बोलेनै गर्ने बताइन्छ । 

प्रतिष्ठानका निर्देशक डा खत्रीले नेलम्बो नेपालले कोभिड–१९ सम्बन्धी सुरुआती चरण देखिनै कोरोनासँग जुध्न र जोखिम न्यूनीकरणका लागि कार्य गर्दै आएकामा आभार व्यक्त गरे । पछिल्लो केही दिनयता सङ्क्रमण बढ्दै जाँदा प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा मानवीय सेवाको कार्य गर्ने नेलम्बोको सहयोग महत्वपूर्ण रहेको बताए । 

माछापुछ्रेमा अत्यावश्यबाहेकका सेवा स्थगन

कास्कीको माछापुछ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखि १४ गतेसम्म नियमितरुपमा प्रवाह नहुने जनाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक कामबाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । उनले भने, “अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौँ । त्यसबाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिएको छ ।” गाउँपालिकाले समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको र जोखिम उच्च रहेकाले गाउँपालिकावासीलाई सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न र घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न अपिल गरेको छ । 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडीसहित तीन जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी नौ जना  र तीन जना कर्मचारी सङ्क्रमित भएको जानकारी दिए । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ जना रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप