‘मनको कोरोनालाई पनि जितौं’
कोरोनाको तेस्रो लहर हिमाल सरी लमतन्न अगाडि उभिएको छ । मनमा त्राससँगै कामको व्यस्तता यथावत छ । महामारी सामान्य भयो भन्दै जनजीवन पनि सामान्य बन्दै गरेको र केही आशाका किरण उज्याल्लिरहेको अवस्थामा पुनः बाधा खडा भएको महसुस भइरहेको छ । कति घरकै ओछ्यानमा छन् त कति अस्पतालमा । यतिवेला, कोरोनामय डरले हरेकको मनमा डेरा जमाएको छ। जसबाट बाहिर निस्किन जरुरी छ ।
अचेल हामी सामाजिक सञ्जालमा रुघाखोकी, घाँटी, जीउ, टाउको दुखाई जस्ता लक्षण देखियो भन्ने थुप्रै पोष्ट देख्न सक्छौं । त्यति मात्रै होइन, कतिका मनका भय पनि सामाजिक सञ्जालमा छरपष्ट पोखिएको देख्न सकिन्छ । कोरोनाको यो प्रजाति संक्रामक भए पनि कमजोर भएको विज्ञहरुले सुझाइरहेका बेला सजगता अपनाउने हो भने गम्भीर दुर्घटनाबाट बच्न सकिन्छ ।
कोरोनाको नयाँ रुप ओमिक्रोनको प्रभाव शरीरमा त छँदैछ, साथसाथै यसको प्रभाव मानसिक स्वास्थ्यमा अझै उच्च रुपमा रहेको देखिन्छ । भनिन्छ नि, “शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ” । शरीरमा जब दुखाई महसुस हुन्छ, मानिसको दिमागमा विभिन्न नकारात्मक भाव आउन थाल्छ । किनकि हाम्रो मष्तिष्कमा भएको दुखाइको सेन्टर परिचालनमा आउँछ । जसको कारण निरासा, चिडचिडापन, कमजोरी, हीनतावोधको भावना उत्पन्न हुन थाल्दछ । दुखाईसँगै आउने यस्ता मानसिक तनावले झनै समस्या निम्त्याएको देख्न सकिन्छ ।
किन हुन्छ त तनाव ?
मन र शरीर एक अर्काका परिपुरक हुन् । जब मनमा केही समस्या हुन्छ, यसको प्रभाव शरीरमा स्वतः देखिन थाल्छ । शरीरमा प्रभाव पर्दा हामी सजिलै उपचारमा लगिहाल्छांै तर जब मनमा हुन्छ, यसको उपचारमा लाग्न हामी हिचकिचाउने गर्छौं, कारण मनको समस्या देखिदैँन । नदेखिने भएकाले आफूमा भएको दिक्दारी, नरमाइलोपन, आलस्यता, अन्यौलता बढ्दै गइरहेको हुन्छ तर पत्तो हुँदैन ।
पहिले त शरीरको पीडाले मनमा नकरात्मक भावनाको उत्पति हुन थाल्छ । जस्तैः छाती दुख्ने, डर लाग्ने, मन आत्तिने लगायत समस्या आउन थाल्छ । मर्छु कि भन्ने डर, अब मेरो जीवन यत्ति नै हो भन्ने अनेकन नकारात्मक सोच आइरहने, उदासीपन बढ्ने, आफूलाई कमजोर महसुस गरिरहने हुन्छ ।
यस्ता खालको सोच दिनभरी जस्तै आइरहने भयो भने यसलाई मनोसामाजिक लक्षण भनिन्छ । यस्तो अवस्थामा तत्काल चिकित्सकको सल्लाह लिने र मनोसामाजिक परामर्शमा जानुपर्छ, यसले सकारात्मक उर्जा प्रवाह भई हामीलाई अगाडि बढ्न प्रेरित गर्छ । जीवनका पाटालाई नजिकबाट नियाल्न पनि मनोसामाजिक परामर्श जरुरी हुन्छ ।
सामान्य अवस्थामा हामीले आफैलाई सोध्न सक्छौ, किन म आत्तिई रहेको छु या डराइरहको छु ? यसरी तनावका लक्षण पहिचान गरी आफूले आफैलाई जाँच्ने कोशिस गर्न सकिन्छ । आफैलाई जाँच्ने केही उपाय यस्ता छन् ।
वातावरणप्रति अपेक्षा
कतै मैले सोच्छु कि कोभिडको यो त्रास गइहालोस् । सबै मैले भनेको जस्तो होस् । आफूले गर्दै आएको कामबाट बढी अपेक्षा गरिन्छ, जस्तो मेरो व्यापार छिटै अगाडि बढोस्, यसले सजिलै ऋण तिर्न सकुँ । मैले यो वर्ष यति आम्दानी होस् भनेको थिएँ तर कोभिडले हुन दिएन । यसरी दोष जति कोभिडलाई दिइन्छ । जबकि महामारी एउटा चरण हो, यस्तो वेला आफ्नो असफलताको वा आफूले चाहे जस्तो भएन भनेर महामारीलाई दोष दिन थालियो भने यसले थप तनाव उत्पन्न हुन्छ । महामारी न त मेरो नियन्त्रणमा छ, न त आम्दानी वा अन्य प्रगति तत्काल सम्भव भन्ने मन बनाउने वित्तिकै आत्मवल बढाउन सम्भव हुन्छ ।
बरु महामारी जस्तो कुरा रोक्न वा यसबाट बच्ने उपायमा मेरो बशमा छ भन्ने हामीले बुझ्न जरुरी छ । जस्तो स्वास्थ्य सतर्कता अपनाउने, राम्ररी हात धुने, मास्कको प्रयोग, सामाजिक दूरी राख्दै आफ्नो व्यापार व्यावसाय वा कामलाई नयाँ दिशातिर अगाडि बढाउनेबारे योजना बनाउन सकिन्छ ।
के नयाँ गर्ने त ? व्यापार व्यावसाय छ भने नयाँ नयाँ प्रविधिमैत्री बनाउँदै परिमार्जन गर्दै लैजाने, बजार र नयाँ पुस्ताको मागलाई अध्ययन गर्दै त्यहीअनुसार परिमार्जन गर्दै लैजाने, घरमा नै बसिन्छ भने पनि घरबाटै पनि केही आम्दानी हुने काम गर्न सकिन्छ । त्यसबारे खोजी गर्ने र त्यसमा लागिपर्ने । जागिरबाट बाहिरिनुपर्यो वा भनेजस्तो जागिर भएन भने यसको विकल्पमा के नयाँ गर्नेबारे अध्ययन अनुसन्धान गर्ने, आफूसँग भएको कला क्षमताअनुसार कसरी अगाडि वढ्ने ? अब आफैले आफैलाई प्रश्न गर्ने गर्नुहोस् ।
भनिन्छ, “मानिससँग समस्या हुन्छ कि त योजना,” यदि समस्या मात्रै देख्न थाल्यो भने नकारात्मक दिशातिरको संकेत हो । त्यही समस्यालाई योजनामा परिणत गरियो भने भविष्यमा सफलता निश्चित छ । जस्तै, कोही कपडाको पसल गर्नुहुन्छ भने अनलाइनमार्फत् मार्केटिङ अनि व्यापार गर्न सक्नुहुन्छ । नयाँ सीप सिक्न सक्नुहुन्छ । यसले मनलाई सकारात्मक कार्यमा व्यस्त राख्छ । जे गरिन्छ, त्यो आफ्नो नियन्त्रणमा हुनु पर्यो, जसले सफलतालाई डोर्याउँछ र आत्मबल पनि बढ्छ । आत्मबल मानवको आन्तरिक शक्ति हो, जसले बाहिरी कार्य गर्न उर्जा प्रदान गर्छ ।
व्यक्तिप्रति अपेक्षा
हामी सामाजिक प्राणी हौ, यसकारण अरुप्रति अपेक्षा राख्नु स्वाभाभिक हो । तर, कतै यो अपेक्षा नै तनावको कारण त होइन ? यो हामीले जाँच गर्न जरुरी छ । हामी परिवार, साथीभाई, आफन्त, अन्य कोहीसँग पनि धेरै अपेक्षा राखिरहेका हुन्छौं । हामीले सोचेको जस्तो अरुले नगर्न सक्छन् । त्यसैले आफ्नो अपेक्षालाई कम गरी त्यसबाट उत्पन्न हुने नकारात्मक भावनालाई आफै समाधान गर्न सकिन्छ । हामीलाई थाहा हुनु आवश्यक छ कि को प्रति कति अपेक्षा राख्ने ? अन्यथा यही नै तनावको कारण हुन सक्छ । जति अरु प्रति कम अपेक्षा रखियो, त्यति नै मनलाई शान्ति मिल्छ ।
आफैप्रति अपेक्षा
मानवीय स्वभाव हो कि, जति कार्य गर्यो, त्यति नै अघि बढ्न मन लाग्ने । धेरै काम गर्ने व्यक्तिहरुमा त्यही गतिमा तनाव उत्पन्न भइरहेको हुन्छ । कोरोना संक्रमणको कारण कार्यालयमा आफ्नो कार्य सम्पादन समयमा नसक्दा उत्पन्न हुने निराशा वा दिक्दारीपन, व्यापार व्यावसाय गर्नेको हकमा पनि आम्दानी खर्चदेखि कर्मचारीको तलव, बैंकको ऋण, समयमा सामान विक्री नहुँदा विग्रिने डर जस्ता कुराले उत्पन्न हुने तनाव व्यवस्थापनमा हामी चुकिरहेका हुन्छौं । यस्ता खालका तनावका कारण खानपिन, निन्द्रामा असर परिरहेको हुन्छ ।
यसैगरी, महामारीको समयमा विद्यार्थी वर्गमा अपेक्षाकृत परिणाम नआउँदा निराशा उत्पन्न हुन सक्छ । भन्न खोजिएको के भने हामीले आफैप्रति कतिसम्म अपेक्षा गर्ने र अपेक्षा पुरा नहुँदा के गर्नेबारे विचार पुर्याउन जरुरी छ । अपेक्षाकृत सफलता नमिल्दा हुने हीनतावोधले मानसिक विचलन ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ । तनाव बढ्दै जाँदा हाम्रो शरीरमा भएका सिम्प्याथेटिक नर्भस् सिस्टम सक्रिय हुन्छ, जसका कारण छटपटी, आत्तिने भइरहन्छ ।
हामीले तनावबाट छुटकारा पाउन एकैछिन आनन्दले बस्ने, आफूले आफैलाई हेर्ने, आफ्ना विगतलाई नियाल्ने अनि अगाडि कसरी बढ्नेबारे सोच्ने । सकिन्छ भने वरपर हरियाली भएको वातावरण रोज्ने, केही शान्त ध्वनि सुन्ने, ध्यान गर्ने जसले हामीलाई शान्त रहन मद्दत गर्छ ।
आफूलाई शान्त राख्न र निराशाबाट बाहिर आउन यी माथिका तीन तत्व बाहेक अरु पनि हुन सक्छ । तनावको कारण हाम्रो प्रतिरक्षा प्रणालीमा नै असर परिरहेको हुन्छ । थकान मसहुस हुने, मानसिक रुपमा कमजोर महसुस हुने हुँदा हाम्रो उर्जाशील समय खेर गइरहेको हुन सक्छ ।
हामीले आफ्नो तनाव र निराशाको कारण आफै पत्ता लगाउने कोसिस गरौं । शारीरिक स्वास्थ्यको जड मानसिक स्वास्थ्य हो । त्यसैले शारीरिक स्वास्थ्यमा जति सजग हामी छौं, त्यति नै मानसिक स्वास्थ्यमा पनि हुने हो भने जीवन अवश्य सहज भइदिन्छ ।
लेखक मनोविमर्शकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा