शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवापुस्तामा सबैभन्दा बढी कोरोना संक्रमण, वृद्धवृद्धामा पनि संक्रमण दर बढ्दो

सोमबार, १० माघ २०७८, १६ : ३१
सोमबार, १० माघ २०७८

नेपालमा दैनिक झैं कोरोना संक्रमणले ‘रेकर्ड ब्रेक’ गर्दै आएको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै युवा पुस्तामा संक्रमण भएको पाइएको छ । गएको २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका १९ सय १० जना तथा ३१ देखि ४० वर्ष उमेर समूहका १५ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । 

सबै उमेर समूहलाई संक्रमण पुष्टि भएपनि ठूलो मात्रामा युवाहरु संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । गएको साता पीसीआर परीक्षण गरेका मध्ये करिब ५० प्रतिशतलाई संक्रमण पुष्टि भएको छ । माघ २ देखि ९ गते सम्मको तथ्याङ्क हेर्दा २१ देखि ३० वर्ष उमेर समूहका हालसम्म २२ हजार ५७३ जना संक्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० वर्षसम्म १८ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ । 

उमेर समूह अनुसार गएको एक सातामा संक्रमितको अवस्था

माघको पहिलो साता युवाहरु बढी कोरोना संक्रमित भएपनि आउँदो सातामा घरभित्र सीमित भएका वृद्धावृद्ध तथा दीर्घरोगी बढी संक्रमित हुन सक्ने संक्रमण रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला अनुमान लगाउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघको तेस्रो साता संक्रमण दर उच्च विन्दुमा पुग्ने तथा दैनिक २० हजार बढी संक्रमित हुने प्रक्षेपण गरेको छ । 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना महमारीको तेस्रो लहर घरमा फैलिएको बताउँछन् । गएको एक सातामा दैनिक कोरोना संक्रमित हुने दर युवा समूहको मात्रै नबढेर बालबालिकामा समेत संक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

बालबालिकाको संक्रमित अवस्था

अघिल्लो लहरमा भन्दा कोरोना महामारीको तेस्रोे लहरमा बालबालिकामा संक्रमण दर बढेको छ । यस्तै, संक्रमण भई अस्पतालमा भर्ना हुने बालबालिकाको संङ्ख्या पनि बढेको बालचिकित्सकहरुको भनाइ छ ।  
यस्तै पछिल्ला दश दिनयता ६१ वर्षदेखि ८१ वर्षमाथि उमेरका मानिसमा कोरोना संक्रमणको दर बढेको छ । 

बृद्धबृद्धाको संक्रमित अवस्था

कोरोना संक्रमण दर युवा तथा बालबालिकामा भन्दा ६० वर्ष माथि उमेरमा संक्रमण कम भए पनि दैनिक संक्रमण क्रमशः बढ्दै गएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । यस्तै, कोरोना संक्रमण भई अस्पताल भर्ना हुने दीर्घरोगी वृद्धवृद्धा बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ओमिक्रोन भेरियन्टको डबल रुपमा म्युटेसन हुने भएकाले जटिल स्वास्थ्य समस्या भएकामा संक्रमण पुष्टि भएको खण्डमा घातक सावित हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरुको सुझाव छ । पछिल्लो समय मृत्यु हुनेमा ५० देखि ८० वर्ष सम्मका खोप नलगाएका, दीर्घ रोगीहरु रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी बताउँछन् । 

सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा डेल्टा भेरियन्टलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेको पाइएको छ । कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुना ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप