ad
x

अमेरिकामा विवाहका लागि जोडी खोज्न सहयोग गर्दै नेपाली मन्दिर

person explore access_timeमाघ ११, २०७८ chat_bubble_outline0

के तपाई नेपालमा हुनुहुन्छ तर अमेरिकामा रहेका नेपाली समुदायसँग विवाह गर्ने सोचमा हुनुहुन्छ ?  अथवा तपाई अमेरिकामा हुनुहुन्छ र नेपालमा गएर बिहे​ गर्ने योजना बुन्दै हुनुहुन्छ ?  यदी यसो हो भने तपाईंका लागि योग्यजोडी खोज्नका लागि अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा रहेको नेपाली मन्दिरले सहयोग गर्न सक्नेछ । 


नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, जसलाई नेपाली मन्दिर अथवा पशुपतिनाथ तथा बुद्ध मन्दिरका नामले चिनिन्छ यही संस्थाले नेपाली संस्कृतिमै विवाह गर्न चाहनेका लागि सहयोग गर्ने विशेष कार्यक्रम सुरु गरेको छ । ‘बरबधु मिलन कार्यक्रम’ नाम दिइएको यो कार्यक्रम सुरु भएको एक हप्ता भयो । यसबीचमा संस्थामा विवाह गर्नका लागि दर्जनौ नामहरु प्राप्त भैसकेको कार्यक्रम संयोजक डा. मुरली अधिकारीले जानकारी दिए । 
योग्य जीवनसाथीको खोजीमा पसेका । तर पाउन नसकेका दर्जनौ व्यक्तिहरु अमेरिकामै भेटिन्छन् । स्पष्टसँग कुरा राख्न पनि नसक्ने र यिनका त ब्वाईफ्रेण्ड या गर्लफ्रेण्ड होलान् भन्ने अनुमानका भरमा कुरा अघि बढाउन आँट नगर्दा ३० वर्ष नाघिसकेका पनि थु्प्रै भेटिन्छन् ।



यही समस्यालाई हल गर्ने उद्देश्यले ड्यालसको मन्दिरले बरबधु मिलन कार्यक्रम थालनी गरेको हो । नेपाली मन्दिरले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यबहारिक पक्षको अनुसन्धान पछि यो कार्यक्रम सुरुवात गरेको छ । 
‘नेपाली संस्कार र संस्कृति भित्रै बर तथा बधु चाहनेहरुका लागि सजिलो र विश्वासयोग्य प्लाटफर्म हुनुपर्छ भन्ने उद्वेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ डा.अधिकारीले प्रष्टाए । अमेरिकामा सामाजिक सञ्जालका माध्यमबाट वा भारतीयले जोडी मिलाउने वेवसाइटहरु चलाएका छन् । तर नेपाली समुदाय र अझै विशेषगरि अमेरिकामा नेपालीले स्थापना गरेको मन्दिरबाट यस्तो वैवाहिक कार्यक्रम पहिलोपटक सुरु भएको हो । 
‘यो कार्यक्रमबाट बरले उपयुक्त बधु र बधुले आफूले खोजेको जस्तो वर पाउन सक्ने अवस्था सिर्जना हुनेछ’ कार्यक्रमकी वेवसाइट निर्देशक डा. विष्णुमायाँ उपाध्यायले भनिन् । झट्ट हेर्दा कार्यक्रमको प्रारुप म्यारिज व्यूरोको जस्तो देखिन्छ । तर सामाजीक तथा धार्मिक संस्थाले कुनै व्यबसायीक प्रयोजनका लागि नभै समुदायकै लागि यो कार्यक्रम सुरु गरेको हो । 



अमेरिकामा सम्पर्क तथा पहुँचको अभावले अध्ययन सकेर, राम्रो काम गरेर विवाहयोग्य उमेर पुगेका थुप्रै नेपालीहरु छन् । तिनलाई एउटै वेवसाइट मार्फत सम्पर्कमा जोड्ने पुलको काम मन्दिरले गर्न लागेको हो ।
यो कार्यक्रममा सहभागी हुनका लागि १८ वर्ष उमेर पुगेकाहरुले वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्छ । अभिभावकले समेत आफ्ना विवाहयोग्य छोराछोरीका लागि फर्म भर्न सक्नेछन् । ‘वेवसाइटमा भरिएका सबै विवरणहरु गोप्य हुनेछन् । उहाँहरुको विवरणहरु मध्यबाट जात, उमेर, उचाई, शैक्षिक योग्यता लगायतका विवरणमात्र वेवसाइटमा सार्वजनिक हुनेछन्’ बरबधु कार्यक्रमको लागि सहजीकरण गर्नुहुने मन्दिरका पूजारी मेघराज निरौलाले भने । 



आवेदन दिनका लागि https://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/application-form मा गएर सबै विवरण भर्नुपर्छ । मजाकको विषय नहोस् र सिरियस व्यक्तिहरुले मात्र आवेदन दिउन् भनेर ९९ डलर शुल्क राखिएको छ । निशुल्क गर्दा हेरौं न त भनेका भरमा जथाभावी दर्ता हुने संभावना देखिएपछि शुल्क राखिएको हो । केही समयका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । यो प्रवद्र्धनात्मक अवधिका लागि छुट गरिएको हो । 



बरबधुको लागि भनेर भरिएका व्यक्तिगत डाटाको सुरक्षा लगायतका कानुनी प्रकृयाका बारेमा मन्दिरले निकै लामो अध्ययन गरेको छ । यही क्षेत्रमा लागेका अमेरिकी कानुनका ज्ञाताहरु समेतको परामर्शमा वेवसाइटको डिजाइन गरिएको छ । यो कार्यका लागि मन्दिरले झण्डै एक वर्ष समय खर्चिएको संयोजक डा. अधिकारीले उल्लेख गरे । 



‘पछिल्लो समयमा हाम्रो समुदायका लागि कुन कुरा बढी आवश्यक छ भनेर हेर्दा विवाहयोग्य उमेर पुगेका थुप्रै व्यक्तिहरु देखिएको र जोडा मिलाउन सक्ने निकाय नभएपछि यो कार्यक्रम सुरु भएको हो’ नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेलले थपे । 
बरबधु कार्यक्रममा सहभागी हुनका लागि अमेरिकामै नभएपनि हुन्छ । नेपालमा रहेका र विवाहयोग्य उमेर पुगेकाले आपूmले चाहे अनुसारको बरबधु उल्लेख गरेर पनि फर्म भर्न सक्नेछन् । फर्म भर्दा कुन देशमा रहेकासँग विवाह गर्न चाहेको समेत उल्लेख गर्न सकिन्छ । 



अमेरिकामा रहेकाले नेपाल वा अन्य देशमा र नेपालमा रहेकाले पनि अमेरिका लगायत अन्य देशमा रहेका नेपालीसँग विवाह गर्नका लागि आफ्नो विवरण भरेर वेवसाइटमा राख्न सक्छन् । वेवसाइटमा रहने हरेक व्यक्तिका लागि छुट्टाछुट्टै आइडी नम्बर हुन्छ । त्यही आइडी नम्बरका उल्लेख गरेर मन्दिरका पुजारी तथा सहजकर्ता मेघराज निरौलासँग सम्पर्क गर्न सकिन्छ ।

सहजकर्ताले दुबै पक्षको फोन नम्बर आदान प्रदान गरेर भेट गराउने व्यबस्था गर्नेछन् । दुबै पक्षबीच भेटघाट पछि चित्त बुझेमा विवाह गर्ने या नगर्ने सबै निर्णय संबन्धित व्यक्तिकै हुनेछ । ‘भेट गराइदिनेसम्मको दायित्व मन्दिरको हो, त्यसपछि उहाँहरुबीचनै सहमतिमा बिहेको कुरा अघि बढाउने या रोकिने निधो हुन्छ’ डा. अधिकारीले भने । 

अविवाहित मात्र नभएर कानुनी रुपमा डिभोर्स भैसकेका, पति या पत्नीको निधन भएका व्यक्तिले पनि फर्म भरेर बुझाउन सक्नेछन् । सामाजिक सेवाका रुपमा मन्दिरले थालनी गरेको यो कार्यक्रमबाट नेपाल बाहिर प्रवासमा रहेका धेरै व्यक्तिहरु लाभान्वित हुनसक्नेछन् । 

अमेरिकामा रहेका र नेपालमै बिहे गर्न चाहने, नेपालमा रहेका र अमेरिकामा रहेका नेपालीसँग बिहे गर्न चाहनेलाई यो कार्यक्रमबाट निकै सहजता हुने प्रतिकृया समुदायका अगुवाहरुले व्यक्त गरेका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।