बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक पत्र : सम्पादकलाई

मङ्गलबार, ११ माघ २०७८, १० : १६
मङ्गलबार, ११ माघ २०७८

मणि दाजु, तपाईंले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ– खासगरी पत्रकारिता र त्यो पनि ‘समाज’–को समालोचना गरेर । करिब २ घण्टादेखि समाजको मसँग भएको सङ्ग्रह पल्टाइरहेँ र सोचिरहेँ क्यै त लेख्नै पर्यो । तपाईं एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नू कलाकौशलको समीक्षा । 

त, यो दुई घण्टा म सोचिरहेँ । र केही पनि सोच्न सकिनँ । कम से कम छाप्ने लायक त केही पनि सोच्न सकिनँ । तपाईं भन्नु होला छाप्ने लायक छुट्याउने अधिकार त सम्पादकमाथि पो छ । मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थ चाहिँ हो, त्यस्तो विषय जो मानिसले पढ्न मन पराउँछ । अब तपाईंकै पत्रिका लिऊँ न । मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन् जसले त्यसमा प्रमुखता पाएका छन् । किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईंको पत्रिका पहिले नै बन्द भइसक्थ्यो !) 

म आजकल अनौठा पुस्तकहरू पढिरहेको छु । स्टिफन ज्वाइनको ‘द वर्ल्ड अफ यस्टरडे’, अलेवर कामुको ‘मिथ अफ सिसिफस’, ‘भीमसेन थापा र तत्कालीन नेपाल’ । यसैबाट तपाईं बुझ्नुहुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु । मानिसको मृत्युपट्टिको भावना ।

मृत्युको अध्ययन गर्नानिमित्त आरम्भ गर्ने बिन्दु हो जीवन । कारण मृत्युको जन्म जीवनको जन्म साथै भएको हुन्छ । त्यो क्षण जब म जन्मेँ, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त ? त आज जीवनकै कुरा गरौँ र मृत्युलाई चिन्ने प्रयास गरौँ । 

म अहिले पसलमा बसिरहेछु । पानी परिरहेछ, झमझम । भर्खर राजदूतहरू र मन्त्रीहरूको मोटरको ताँती फक्र्यो– नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा... ।

सडक पारिपट्टि एउटा माग्नेजस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ । एउटा मानिस म त्यसलाई चिन्दछु तर नाम जान्दिनँ, जो दिनभरी त खसीबोका बेची हिँड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन अक्षता र फूल अबिरले भरेको । एउटा कुकुर आङ चिलाएकाले पेटीको भित्तामा आङ घिसारिरहेछ । एउटी कैली गाई गइन्, कसैले उनको निधारमा पूजा गरेको छ । केटीहरू छाता ओढेर किताब च्यापी गइरहेछन् । एउटा केटो बर्साती ओढी स्कुल जान बस पर्खिरहेछ । एउटा मानिस पिउन बुकमा खातका खात चिट्ठी च्यापेर दोबाटोमा कता–नै–जाउँ–पहिलोको भावमा अलमलिरहेछ । 

र, मलाई एउटा लेख लेख्नु छ । यस्तो लेख जसले नेपाली साहित्यको उत्थान गरोस्, यस्तो लेख जसले मणि दाजुको ‘समाज’को स्तर नगिराओस, यस्तो लेख जुन पढ्दा नेपाली जनता रामाओस् । तर मणि दाजु, म अलमलिरहेछ, मेरो मन स्थिर छैन, सबै कुरा जो आँखा अगाडि घटिरहेछन् तिनलाई म हेरिरहेछु, र बुझ्न नसक्नेछु । 

म बुझ्दिनँ त्यो जुम्रा जन्म्यो नै किन जब उसलाई लँगौटीकै कापमा दुईवटा औँलाका नङले पिसिएर मर्नु थियो ? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसीबोको ज्यान पनि लिन्छ ? त्यो कुकुर लुतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ ? मानिस गाईलाई पूजा गर्छ भने उसले बाच्छीको भाग खोसेर किन दूध खान्छ फेरि ? त्यो तरुनी केटी जो अग्रवालको थ्योरी अफ इकोनोमिक्स बोकेर कलेज जँदैछ, किन त्यो पढ्छे जब उसलाई विधवा हुनुपर्ने छ, सायद पोइल जानुपर्ने छ, सायद वेश्यावृत्ति अपनाउनुपर्ने छ, सायद.... त्यो बच्चा केको आशामा अरूको छापेको विश्वासहरू बोकेर स्कुल जाँदैछ जब एक दिन उसलाई रानीपोखीमा डुब्नु नै छ, व्यर्थ बनी बेकार बनी, दुई तीन छोराछोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयौँ अरू केटाहरूको प्रतिस्पर्धा बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिट्ठीहरू, जब उसलाई थाहा छैन पत्रमा के छन् ? कसैको खोसुवा–पुर्जी, कसैको विवाहको निमन्त्रणा, कसैको मृत्युको समाचार ? 

बुझ्नु भो मणि दाजु, यो जम्मै चरित्र तपाईंका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन् । ती आज भाद्र ३, २०१९ साल बिहान १० बजे मेरो निमित्त बनेका हेडलाइनहरू हुन् । यिनको महत्त्व, तर तपाईंलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी ती भाक्लाक भुक्लुक सडकमा मरून्, या रानीपोखरीमा हामफालून्, या मोटरले किल्चिऊन्, तपाईं भातको गाँस छोडेर प्रेसतिर भाग्नुहुनेछ । तपाईंको कलम कागजमा दौडनेछ, तपाईंको कम्पोजिटरले औँला चाल्नेछ, तपाईंको ट्रेडलले काम पाउनेछ, पत्रिका छाप्नेछ, र बिक्ने छ पाँच पैसामा ।

ढ्याक्क.... ।

ढ्याक्क.... ।

ढ्याक्क.... ।

ढ्याक्क.... ।

प्रत्येकपल्ट इम्प्रेसन र छ मृत्यु । यो यत्तिका जनाको–जुम्रा, पूजारी, कुकुर, केटी, केटा र पिउन ६ जनाको जीवनको मूल्य सिर्फ ५ पैसामा बिक्ने छ ? यिनका मृत्युको समाचार बोकेर अखबारका पानाहरू छापिनेछन्, सड्नेछन्, बिलाउनेछन् खतम हुनेछन् । 

मणि दाजु, के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नोस् ? के यस्तो हुन सक्दैन तपाईं भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस् ? के यस्तो हुँदैन, कहिले त साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईं आफ्नो सच्चा कथन भन्न सक्नुहोस् ?  के यस्तो हुँन सक्दैन, कहिले आफैँलाई चिरेर आफ्नू महत्त्व छाप्नुहोस् ?

तपाईं आज सोच्नुहुँदो हो पत्रिका चलाएर तपाईं देश र जनताको सेवा गर्दै हुनुहुन्छ । तपाईं भन्ठान्नु हुँदोहो, नेपाली इतिहासमा तपाईंको स्थान छ, सदा रहिरहनेछ, तपाईंको देन पत्रकारिता जगत्ले कहिले पनि भुल्न सक्ने छैन होला । मूर्ख दाजु बेकार हो ! तपाईंको नाम अखबारले त्यहाँ छापेको छ सधैँ जहाँ समाचारलाई एक कालो धर्काले तपाईंबाट सीमा रेखा छुट्याएको हुन्छ । थाहा छ तपाईंलाई, तपाईंको अखबारले रोजै कति कसिङ्गर र गुहु झ्यालबाट चोकमा मिल्काउँछ ? थाहा छ तपाईंलाई.... ? थाहा छ तपाईंलाईं .... ? थाहा छ तपाईंलाई ? तपाईंलाई केही थाहा छैन । तपाईंलाई किन साँढेमाथि सम्पादकीय लेखेँ भन्ने पनि थाहा छैन । तपाईं किन भीमसेन थापामाथि सम्पादकीय लेखिन्नन् भन्ने पनि थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्दिनँ भन्ने पनि थाहा छैन । 

अझ, मणि दाजु तपाईं किन सम्पादक हुनुभयो त्यो पनि थाहा छैन तपाईंलाई, तपाईं सम्पादक नभए के हुनुहुन्थ्यो त्यो पनि थाहा छैन तपाईंलाई । 

तपाईंको पत्रिका त ऊ त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औँलाले जुम्रा मारिरहेछन् । म सायद त्यो लुत्याहा कुकुर हुँ, तपाईं सायद निधारमा टीका लाएको त्यो गाई हो । अथवा तपाईं कुकुर हो, म गाई हुँ अथवा म जुम्रा तपाईं नङ्ग्रा अथवा तपाईं पुजारी म बोका, अथवा तपाईं पिउन म चिट्ठी, अथवा तपाईं केटी म केटा । तपाईं जे पनि हो, म जे पनि हुँ । 

तपाईं र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त कत्ति आशा र विश्वास र हिम्मत संसारमा जन्म्यो । खै, त्यो आज खै ? तपाईं र म जन्मिनुअघि कति सहिद र कति गद्दार जन्मे, खै ती आज खै ? अमरसिंहको बारेको सत्य के ? इतिहासको तथ्य खै ? सत्य खै ? आज तपाईं भन्नसक्नुहुन्छ, इतिहासमा कहाँनिर कल्पाना सुरु भएको छ, कहाँ वास्तविकता हराएको छ ? भन्न सक्नुहुन्छ, तपाईंका अखबारमा छापेको अत्महत्याका खबरको वास्तविकता के थियो ? किन रामेचा या कृष्णचा या कखचाले आफूलाई मार्नुअघि छोराछोरीलाई र स्वास्नीलाई मार्यो ? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे ?

मणि दाजु, बेकार छ । हामी सदा नै आफूलाई छोप्न खोज्छौँ । हामी अर्काको मृत्युको समाचारबाट आफ्नू मृत्युको समाचार छोप्न खोज्छौँ । हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौँ । हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौँ । म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नो औँलामा लागेको बोकाको रगतको रङ्गलाई अबिरले छोप्न खोज्छु । तपाईं जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ । मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ । शङ्कर लामिछानेलाई पति, पिता, व्यापारी शङ्कर लामिछानेले छोपिरहेछ । तपाईं आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दैछु । तपाईं र म नमरीकन के खबर लायकका हुँदैनौँ ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्त्वहीन छ, हामी स्वयं त्यसबारे सोच्न पनि चाहन्नौँ । यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ? 

मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु ? कसरी म साहित्यको सृजना गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु ? कसरी म राष्ट्रियताको नारा लगाउन सक्दछु ? –जब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवापुर्जी, मेरो प्रमोसन, मेरो निमन्त्रणा, मेरो मृत्यु खामबन्दी छ ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पिउन जसलाई खामबन्दी चिट्ठीको मजबुन नै थाहा छैन । 

भो, मणि दाजु, विशेषाङ्क निकाल्ने आवश्यकता नै के छ र ? तपाईंले विशेषङ्क निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छु र ! यत्ति हो– यस पटक म लेख दिन असमर्थ छु । सायद अर्को पटक तपाईंको पत्रिकाको हेडलाइनमा आउन उम्किएँ भने– सायद अर्को वर्ष । 

कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला । 

तपाईंको भाइ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप