शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिजिटल भुक्तानी सेवा ईसेवा १४औँ वर्षमा, सेवाग्राही सङ्ख्या ६० लाख पुग्यो

मङ्गलबार, ११ माघ २०७८, १५ : २५
मङ्गलबार, ११ माघ २०७८

डिजिटल रूपमा भुक्तानी कम्पनी ईसेवा १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ देखि बेटा भर्सनमार्फत सेवा सुरु गरेको कम्पनी नगदरहित कारोबारमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल बनेको छ । यस अवधिमा कम्पनीका प्रयोगकर्ताको सङ्ख्या ६० लाख पुगेको कम्पनीले बताएको छ ।

ईसेवामार्फत बिजुली, इन्स्योरेन्स्को प्रिमियम, मोबाइल र टेलिफोनको रिचार्ज, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल, हवाईजहाज र बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी समेत गर्न सकिन्छ । यस्तै, ट्राफिक प्रहरीको भुक्तानी तथा वैदेशिक रोजगारीको श्रम स्वीकृतिको भुक्तान समेत ईसेवामार्फत गर्न सकिन्छ । ईसेवाले सेवा सुरु गर्दै गर्दा नेपालमा डिजिटल कारोबारको पूर्वाधार अभावको सामना गर्नुपरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

उक्त समयमा नेपालमा सबै स्थानमा इन्टरनेट र सबै मानिसको हातहातमा मोबाइल थिएन । यस्तै, बैंक खाता खोलेका ग्राहकको सङ्ख्या कम हुनु पनि अनलाइन भुक्तानी सेवाको पूर्वाधार अभाव हुनु हो । यी कारणले सुरुवाती दिनमा कम्पनीले धेरै कठिनाइ भोगेको सापकोटाले बताए ।

भने, ‘ईसेवा स्थापना भएको चार÷पाँच वर्षपछि मात्रै सबैको हातमा मोबाइल फोन पुग्न थाल्यो । त्यस्तै , इन्टरनेट सर्भिस कम्पनीहरूको विकास पनि तीव्र गति बढ्दै गयो । त्यसपछि डिजिटल कारोबारको लागि बिस्तारै संरचनाहरूको विकास भयो ।’ तर, आवश्यक पूर्वाधार स्थापना हुँदै गर्दा अनलाइन कारोबार गर्न सरकारले कुनै कानुन बनाएको थिएन ।

यद्यपि, सरकारको आधिकारिक कानुन विनै कम्पनी रजिस्टारमा दर्ता भएर अन्तर्राष्ट्रिय प्रयोगको आधारमा ईसेवाले सेवा दिएको सापकोटाले बताए । ‘कम्पनी स्थापना हुँदै गर्दा कसले नियमन गर्ने, लाइसेन्स कसले दिने, प्रयोगकर्ताले कसरी विश्वास गर्ने, ईसेवामा राखेको पैसाको सुरक्षा लगायतका चुनौती थिए,’ उनले भने, ‘अहिले यस्ता खालका चुनौतीहरू समाधान भइसकेका छन् । अहिले राज्यले डिजिटल कारोबारको लागि कानुन बनाएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्न लाइसेन्स दिने, त्यस्ता संस्थालाई नियमन गर्ने गरी छुट्टै विभाग स्थापना गरेको छ ।’

ती पुराना चुनौती पार गरिसकेको ईसेवाका अगाडी अहिले सुरक्षाका नयाँ चुनौती थपिएको छ । यस्तै, उनले डिजिटल पेमेन्टबाट मात्रै अब यो ईसेवा चल्छ की चल्दैन भन्ने चुनौती समेत अगाडी आएको बताए । स्थापना कालमा ईसेवामा जम्मा ४ लाख रुपैयाँ लगानी भएको थियो । उक्त समय स्टार्टअपका रूपमा स्थापना भएको कम्पनी यतिबेला देशको ठूलो उद्योग बनिसकेको छ । यतिबेला ईसेवासँग खर्बौँको सम्पत्ति पुगेको सापकोटाको दाबी छ ।

ईसेवा स्थापना हुँदा अनलाइन कारोबारसम्बन्धी कानुन नै थिएन । यतिबेला अनलाइन कारोबार गर्ने कम्पनीको सङ्ख्या ३७ वटा छन् । ‘ग्राहकहरूमा डिजिटल कारोबार सम्बन्धी ईसेवाले भनै दिएको हो,’ उनले भने, ‘यस्तै, डिजिटल कारोबार गर्न चाहिने पूर्वाधार विकास समेत ईसेवाकै नेतृत्वमा भएको हो ।’ डिजिटल पेमेन्टको लागि सरकार समेत राजश्व सङ्कलन शतप्रतिशत गर्ने विषयमा डिजिटल पेमेन्ट स्वीकार गर्ने पक्षमा छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैँ क्यूआर कोर्ड लागू गर्न अभियान नै चलाएका छन् । यसले ईसेवा जस्ता कम्पनीलाई फाइदा पुगेको सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप