शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकामा सङ्क्रमण बढ्दै

कान्तिबाल अस्पतालमा बिरामीको भर्ना दर बढ्यो
बुधबार, १२ माघ २०७८, ०८ : ५३
बुधबार, १२ माघ २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागेसँगै बालबालिकामा पनि सङ्क्रमण देखिन थालेको छ । कोरोनाविरुद्धको खोप पहुँचभन्दा बाहिर साना बालबालिका रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बालरोग विशेषज्ञहरू बताउँछन् । केही दिनयता बालबालिकाको सङ्क्रमण दरले दैनिक रेकर्ड तोड्दै गएको छ । 

मंगलबार मात्रै १० वर्ष मुनिका १८४ जना बालबालिका सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार नै ११ वर्षदेखि १९ वर्ष उमेर समूहका ५१३ जना कोरोना सङ्क्रमित भएका छन् । माघ १ गते यताको १० वर्ष मुनिका बालबालिकाको तथ्याङ्कलाई केलाउँदा निरन्तर सङ्क्रमण दर बढ्दै गएको छ । माघ १  गते दश वर्षमुनिका बालबालिका ८६ जना सङ्क्रमण पुष्टि भयो भने २ गते ९१ जना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, ३ गते अर्थात् सोमबार ८७ जना सङ्क्रमण भए भने मंगलबार १५९ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार  १५१ बालबालिका सङ्क्रमित हुँदा बिहीबार सङ्क्रमितको सङ्ख्या बढेर १८९ जनामा पुष्टि भयो । शुक्रबार अर्थात् ७ गते १५३  दश वर्ष मुनिका साना बालबालिका सङ्क्रमित थिए । 

शनिबार  १४६ जना सङ्क्रमित हुँदा आइतबार १०५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । सोमबार सङ्क्रमितको सङ्ख्या बढेर पुनः १२३ पुग्यो भने बालबालिका सङ्क्रमण दर निरन्तर उकालो लाग्दै मंगलबार १८४ जनामा सङ्क्रमण पुष्टि भयो । 

यस्तो छ माघ एक गतेदेखि ११ गतेसम्म दश वर्षमुनिका सङ्क्रमित बालबालिका र ११ वर्षदेखि १९ वर्षसम्मका बालबालिकाको सङ्क्रमण दरको अवस्था 

यता ११ देखि १९ वर्षसम्मका उमेर समूहमा पनि सङ्क्रमण तीव्र गतिमा बढिरहेको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । यस उमेर समूहमा एक साताको तथ्याङ्क केलाउँदा सङ्क्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ । मंगलबार मात्रै ५१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । माघ ५ गते ६४३ जना सङ्क्रमित भए भने माघ ६ गते ५८८ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, क्रमशः५२३, ४३३, ३०५ र ३८४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमित बालबालिकाको सङ्ख्या उच्च रहे पनि उनीहरूको स्वास्थ्यमा गम्भीर खालका समस्या भने देखिएको छैन । तर, पछिल्ला साता सङ्क्रमित बालबालिकाको सङ्ख्या बढेसँगै चार पाँच दिनमा  कान्ति बाल अस्पतालमा भर्ना दर बढेको अस्पतालले जनाएको छ । 

पाँच दिन अघिसम्म दैनिक एक दुई जना सङ्क्रमित बालबालिका   भर्ना भए पनि हाल भर्ना हुने सङ्ख्या बढेको कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझी बताउँछन् । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ९ वर्ष मुनिका ४९ जना बालबालिकाको ज्यान गएको  छ । यस्तै, १० देखि १९ वर्ष उमेर समूहका ५७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना सङ्क्रमणको उच्च साना नानी रहेको निर्देशक डा. रायमाझी बताउँछन् । अस्पतालमा भर्ना हुने बालबालिकाको अवस्था र प्रक्रिया बारे डा. रायमाझी यस्तो भन्छन् :

पछिल्ला पाँच छ दिनयता कान्ति बाल अस्पतालको ओपीडीमा भर्ना हुने दर बढेको छ । अस्पताल आएका कोभिडको लक्षण देखिएका बालबालिकालाई पहिला स्क्रिनिङ वार्डमा राखिन्छ । यदि बिरामी बालबालिकालाई कोभिड–१९ को आशंका लागेमा बालबालिकाको पीसीआर परीक्षण गछौँ । अस्पताल भर्ना गर्नुपर्ने बालबालिकालाई पुनः अवलोकन गरी पीसीआरको  रिपोर्ट नआउन्जेल राखिन्छ । पीसीआरको रिपोर्ट नेगेटिभ आएका नन कोभिड वार्डमा उपचार गर्न सुरु गर्छौँ । परीक्षणको  नतिजा पोजेटिभ आएमा कोभिड वार्डमा बालबालिकालाई भर्ना गर्ने गरेका छौँ ।

ओपिडी वार्डमा मात्रै दैनिक डेढ सय बालबालिका आउने गर्छन् । यस्तै कोभिड वार्डमा पनि सङ्क्रमित बालबालिका दिनहुँ थपिरहेका छन् । मंगलबारसम्म कोभिड वार्डमा १९ जना बालबालिका भर्ना भएका छन् । आज नै तीन जना डिस्चार्ज भए । सङ्क्रमित १० जना बालबालिकालाई सुईबाट औषधि दिइरहेको छौँ । एक जना भेन्टिलेटर उपचाररत छन् । उनको दिमागमा इन्फेक्सन भएकाले भेन्टिलेटर राखी उपचार भइरहेको छ । अन्य बालबालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।

तेस्रो लहर भन्दाअघि दैनिक जसो १/२ जना सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुन्थे। पछिल्लो समय भर्ना हुने दर बढ्दै जाँदा चार-पाँच दिन यता सङ्क्रमित बालबालिका भर्ना दर १९ जना पुगेको छ । 

बालबालिकालाई कोभिड भएको कसरी थाहा पाउने ?

सानो उमेर समूहका बालबालिकाले आफ्नो स्वास्थ्य गडबडी हुँदा थाहा पाउँदैनन् । पछिल्लो समय बच्चालाई रुघा खोकी, नाकबाट पानी बग्यो, हल्का ज्वरो आइरह्यो,घाँटी दुख्ने, स्वर बस्ने, टाउको दुख्यो, चक्कर लाग्यो भन्यो भनेर अभिभावकले अस्पताल ल्याएका छन् ।

यस महामारीमा कोरोना विरुद्धको खोप लगाएका परिवारका सदस्यमा सङ्क्रमण भइहाले पनि सामान्य खालको लक्षण देखिन्छ । तर, साना बालबालिकाले खोप लगाएका हुँदैनन् । धेरै अवस्थामा परिवारका सदस्यबाट बालबालिका कोरोना सर्ने गरेको छ ।   बच्चालाई कोरोना भाइरसको जस्तो लक्षण देखियो भनेर अस्पताल ल्याउने अभिभावकहरूलाई पनि कुनै कुनै लक्षण भएको पाइएको छ । ११ वर्ष मुनिका साना नानी बाबुलाई नेपालको सन्दर्भमा खोपको उपलब्धता छैन । नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रामक भएकाले चाडैभन्दा चाडै खोप उपलब्धता गराउनुपर्छ भनेर सरकारलाई दबाब तथा सुझाव दिइरहेका छौँ ।

कलिला बालबालिकामा स्वास्थ्यसम्बन्धी शिक्षा हुँदैन । अर्थात् जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको थाहा पाउँदैनन् । रोगका  लक्षणहरु पनि प्रष्ट भन्न सक्ने अवस्था समेत नहुने भएकाले अभिभावकले धेरै ख्याल गर्नुको विकल्प छैन । बालबालिका अहिले घरभित्र सीमित भए पनि धमाधम सङ्क्रमित भइरहेका छन् । उनीहरूको सङ्क्रमणको स्रोत परिवार सदस्य भएकाले परिवार सदस्यहरूले विशेष ख्याल गर्नै पर्छ । सबै बालबालिकाको स्वास्थ्य अवस्था सामान्य खाल नहुन सक्छ । त्यसैले स्वास्थ्य अवस्था जटिल भएकालाई बालबालिकामा सङ्क्रमण भएको खण्डमा स्वास्थ्यमा जटिलता नआउला भन्न सकिँदैन ।

बालबालिकाको ख्याल कसरी गर्ने ?

बालबालिकामा कोरोना सङ्क्रमणको लक्षण देखिएमा उनीहरूलाई घरभित्रै खेल्न प्रोत्साहन गर्नुपर्छ । धेरै मान्छेसँग घुलमिल हुन नदिने, झोलिलो पदार्थ खुवाउने । यस्तै नियमित रूपमा तातो झोलिलो चिजहरू ख्वाउन प्रोत्साहन गर्ने । बुझ्ने बालबालिकालाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन लगाउने । अनावश्यक रूपमा बालबालिकालाई विवाह, भोजभतेरमा लैजान भएन । बालबालिकाले भने भन्दैमा रेस्टुरेन्ट तथा घर बाहिर लगेर यस महामारी कालमा लगेर ख्वाउने प्रवृत्तिलाई बन्द गर्ने । अभिभावकले सावधानी अपनाएको खण्डमा बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप