बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पारासिटामोलको अस्वाभाविक माग बढेको हो, उत्पादनमा समस्या छैन’

उद्योगीहरूले प्रतिट्याबलेट ३० पैसा सम्मको घाटा बेहोरिरहेका छन् : प्रज्वलजंग पाण्डे
बुधबार, १२ माघ २०७८, १० : ५५
बुधबार, १२ माघ २०७८

कोभिड–१९ महामारीको तेस्रो लहर उत्कर्षमा रहँदा दैनिक दसौँ हजार मानिस सङ्क्रमित भइरहेका छन् । यही समयमा अत्यावश्यक औषधी पारासिटामोलको चरम अभाव छ । ज्वरो आए, टाउको दुःखेमा डाक्टरको सल्लाह बिनै प्रयोग गर्न सकिने पारासिटामोल किन्न जाँदा औषधी व्यवसायीले छैन भनेर फर्काउने गरेका छन् । विगत १४ वर्षदेखि पारासिटामोलको मूल्य समायोजन नगरेकाले यसको उत्पादनमा घाटा भइरहेको भन्दै उद्योगीले पर्याप्त उत्पादन नगरेको आरोप पनि लागेको छ । यो आरोप सही हो वा पारासिटामोलको अभाव हुनुमा अन्य कारण पनि छन् ? यस विषयमा रातोपाटीका निकेश खत्रीले नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेसँग गरेको कुराकानीः

कोभिड महामारीको तेस्रो लहर उत्कर्षमा रहँदा बजारमा पारासिटामोलको चरम अभाव छ । यस्तो किन भइरहेको छ ?
सरल ढंगबाट बुझ्दा माग र आपूर्तिको कारणले महामारी वा संकटको समयमा पारासिटामोलको अभाव चुलिन्छ । सामान्य अवस्थामा पौने २ करोड ट्याब्लेट पारासिटामोल उत्पादन र बजारीकरण भइरहेको हाम्रो तथ्याङ्क छ । सामान्य अवस्थामा यो पर्याप्त हुन्छ । तर, यो पछिल्लो दुई हप्ता पारासिटामोलको माग अस्वाभाविक रूपमा बढेको छ । यस्तै, कोभिड सङ्क्रमित बढ्दा अत्यावश्यक औषधीका रूपमा यसलाई प्रयोग गरिँदा पनि यसको माग बढेको देखिन्छ ।

यसका साथै, सर्वसाधारणले सञ्चित राख्दा समेत पारासिटामोल अभाव भइरहेको हो । खाद्यान्न नै हामीले अघिल्लो लकडाउनमा सञ्चित गरेर अर्को लकडाउनसम्ममा प्रयोग गर्‍यौ । औषधीमा पनि यस्तै भयो । तेस्रो लहर घर घरमा पुगेको अवस्था पनि भएकाले भविष्यलाई सञ्चित गर्नतर्फ लाग्दा यसको माग बढेको देखिन्छ । फलस्वरुप अभाव देखिएको हो ।

निजी उद्योगले हेर्ने फाइदा हेर्ने भए पनि आफ्नो उद्योग सामाजिक उत्तरदायित्व वहन गर्नकै लागि घाटा सहेरै उत्पादन गरिरहेका छन् । उद्योगीले घाटा सहेरै बाढी पहिरो, भूकम्प र अन्य प्रकारका महामारी र सङ्कटमा आफ्नो उत्तरदायित्व पुरा गरेका छन् । नाकाबन्दीमा समेत औषधी उत्पादकले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निभाएका छन् ।

सरकारले लामो समयदेखि औषधीको मूल्य बढाएको छैन । यही कारण उद्योगीले  उत्पादन घटाएको आरोप पनि छ नि ?

यसलाई हामीले दुई ढंगबाट लिन सक्छौँ । यो प्रश्न सत्य भएकाले हामी स्वीकार्छौं । सरकारले २०६४ सालमा पारासिटामोल लगायत र केही अन्य औषधी नागरिकले सस्तोमै पाउनुपर्छ भनेर मूल्य तोकेको थियो । उक्त समयमा प्रति ट्याब्लेट पारासिटामोलको मूल्य १ रुपैयाँ तोकिएको थियो । जुन, आजसम्म पनि कायम छ । जबकी, यतिबेला कच्चा पदार्थको मूल्य ११ गुणाले बढिसक्यो ।

आजको दिनमा विश्वमा सबैभन्दा सस्तो पारासिटामोल उत्पादन गर्ने देश नेपाल हो । विकसित राज्यको उत्पादन मूल्यसँग तुलना गर्दा नेपालको उत्पादन पाँचौं गुणा सस्तो छ । छिमेकी राष्ट्रमा हाम्रो भन्दा ५० प्रतिशत बढी मूल्य छ । मूल्यकै कारणले पारासिटामोल अभाव हुने भएमा विगत केही वर्षदेखि पारासिटामोल उत्पादन नै हुँदैनथ्यो । नेपालमा २२/२३ वटा पारासिटामोल उत्पादन गर्ने उद्योग छन् । करिब १४ वटा कम्पनीले पारासिटामोलको आयात अनुमति लिएका छन् । तर, नेपाल भन्दा बाहिर महँगो मूल्य भएकाले ती कम्पनीले आयात गर्दैनन् ।

उद्योगीहरूले प्रतिट्याब्लेट ३० पैसा सम्मको घाटा बेहोरिरहेका छन् । निजी उद्योगले हेर्ने फाइदा हेर्ने भए पनि आफ्नो उद्योग सामाजिक उत्तरदायित्व वहन गर्नकै लागि घाटा सहेरै उत्पादन गरिरहेका छन् । उद्योगीले घाटा सहेरै बाढी पहिरो, भूकम्प र अन्य प्रकारका महामारी र सङ्कटमा आफ्नो उत्तरदायित्व पुरा गरेका छन् । नाकाबन्दीमा समेत औषधी उत्पादकले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निभाएका छन् ।

यस बीचमा तपाईंहरुले पारासिटामोलको मूल्य बढाउन सरकार समक्ष प्रस्ताव गर्नुभएन ?

हामीले बारम्बार सरकारसँग पारासिटामोलको मूल्य बढाउन प्रस्ताव गरिसकेका छौँ । पारासिटामोल लगायत अन्य केही औषधी विदेशबाट आउँदैन । त्यसैले भविष्यमा अभाव हुन सक्ने भन्दै राज्यलाई पटक–पटक जानकारी गराएका छौँ । मूल्यसहित अन्य समस्या समेत समाधान गरौँ भनेका थियौँ । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । 

विदेशी मुलुकमा प्रतिट्याब्लेट ५ रुपैयाँ पर्छ पारासिटामोलको । हामीले सोही मूल्यमा नेपालमा पनि बिक्री वितरण हुनुपर्छ भनेका छैनौँ । उत्पादन लागतअनुसार मूल्य तोकिनुपर्छ भनिरहेका हौँ । यसको मूल्य निर्धारणमा अनावश्यक राजनीति भइरहेको छ । सरकारले यसको मूल्य बढाउनै चाहिरहेको छैन । फलस्वरूप घाटामै पारासिटामोलको उत्पादन गरिरहेका उद्योग र उद्योगीहरूले जस नपाउने स्थिति सिर्जना गरियो । यो विदेशबाट आयात हुँदैन । स्वदेशी उद्योगीले नै आवश्यकता अनुसार उत्पादन गरिरहेका छन् । विभिन्न राष्ट्रको मूल्य देखाएर हामी अगाडी बढ्नुपर्छ ।

अर्कोतर्फ कोभिड उपचारका लागि विदेशतिर ६५० मिलिग्राम (एमजी)को पारासिटामोल प्रयोग हुन्छ । जबकि, नेपालमा ५०० एमजीभन्दा बढी एमजीको पारासिटामोल उत्पादन गर्न अनुमति नै दिइएको छैन । ६५० एमजीको पारासिटामोल उत्पादन अनुमति लिन दुई वर्ष अगाडी निवेदन दिएका थियौँ । जुन, आजसम्म सुनुवाइ भएको छैन । कोभिड उपचारमा ६५० एमजीको एक चक्की खाए पुग्ने विदेशी मुलुकको अनुभवले देखाइसकेको छ । तर, ५०० एमजीको दुई चक्की खानुपर्छ । यसको जिम्मा कसले लिने ?

सङ्कटमा अभाव गराएर मूल्य बढाउन सरकारसँग बार्गेनिङ गरेको हो कि भन्ने आशंका देखिन्छ । के हो वास्तविकता ?

होइन, उत्पादन घटाएको भए यो कुरालाई पुष्टि गर्न सकिन्थ्यो । तर, हामीले संकटको समयमा उत्पादन बढाइरहेका छौँ । यस्तो संवेदनशील अवस्थामा पनि उद्योग चौबीसै घन्टा खुला राखेर पनि उत्पादन गरिरहेका छौँ । यस्तै, कोभिड महामारीको तेस्रो लहर आउने बारेमा हामी अनभिज्ञ थिएनौं । केही महिना अगाडी नै तयारी गरेको भए हामीलाई केही सहज हुन्थ्यो । पूर्वतयारी अवस्थामा रहेको भए हामीसँग मासिक, साप्ताहिक, दैनिक रूपमा खपत हुने पारासिटामोलको तथ्याङ्क उपलब्ध हुन्थ्यो र सोहीअनुसार उत्पादन गर्न सहज हुन्थ्यो ।

अहिले उद्योगहरूले कोभिडको तेस्रो लहर अघिको भन्दा बढी उत्पादन गरिरहेका छन् । दैनिक उत्पादन बढाएर बजारमा पठाइरहेको अवस्था छ । अबको एक साता भित्रमा ३०/४० लाख ट्याब्लेट उत्पादन गरेर बजारमा पठाउने तयारी हाम्रो छ । सबै उद्योगले उत्पादन गरिरहेको पारासिटामोलको तथ्याङ्क हामीसँग छ । कसैले पनि पारासिटामोल घरमा सञ्चित नगरिदिन हामी अनुरोध गर्छौँ । अहिले घरमा लगेर सञ्चित गरेर राखेको ६ महिनापछि प्रयोग मिति सकिने हुन्छ । यो

नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा पारासिटामोल उत्पादन भइरहेको छ भन्नुभयो । यस हिसाबले यताबाट तस्करी हुने सम्भावना कत्तिको रहन्छ ?

तस्करीको सम्भावना छ । यसलाई आवश्यकताअनुसार अवलोकन गर्न पाए पुष्टि हुन्थ्यो होला । खुला बोर्डरका कारणले भारततर्फ तस्करीको सम्भावना रहन्छ । त्यसैले यसलाई अलिकति जागरूक बनेर अनुगमन बढाउन पाए तस्करी हुने रहेछ भने रोक्न सकिन्थ्यो जस्तो लाग्छ ।

अब कहिलेसम्ममा पारासिटामोलको सहज आपूर्ति हुन्छ होला ?

अहिले उद्योगहरूले कोभिडको तेस्रो लहर अघिको भन्दा बढी उत्पादन गरिरहेका छन् । दैनिक उत्पादन बढाएर बजारमा पठाइरहेको अवस्था छ । अबको एक साता भित्रमा ३०/४० लाख ट्याब्लेट उत्पादन गरेर बजारमा पठाउने तयारी हाम्रो छ । सबै उद्योगले उत्पादन गरिरहेको पारासिटामोलको तथ्याङ्क हामीसँग छ । कसैले पनि पारासिटामोल घरमा सञ्चित नगरिदिन हामी अनुरोध गर्छौँ । अहिले घरमा लगेर सञ्चित गरेर राखेको ६ महिनापछि प्रयोग मिति सकिने हुन्छ । यो महँगो औषधी पनि हैन । सबैजनाले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्दा यसको अभाव हट्न सक्छ ।

अहिले पारासिटामोल मात्रै अभाव छ वा अन्य प्रकारका औषधी समेत अभाव भइरहेको छ ?

नेपाली औषधी उद्योगले अन्य धेरै प्रकारका औषधी यहीँ उत्पादन गर्छन् । बजारमा अन्य प्रकारका औषधीको अभाव छैन । विदेशबाट आउने औषधी समय समयमा अभाव हुन सक्छ । तर, नेपालमै बन्ने अन्य औषधीको अभाव देखिँदैन । कहिलेकाहीँ ढुवानीमा समस्या आउँदा अभाव हुनु स्वाभाविक हो । त्यसबाहेकको समयमा खासै समस्या आउँदैन । 

विश्वमा कुनै पनि देश कुनै पनि वस्तुमा पूर्ण आत्मनिर्भर हुँदैन । तर, सरकारले नीतिगत व्यवस्थामा सुधार गरिदिए औषधीको बजार हिस्सा ८० प्रतिशतसम्म पुर्‍याउन सकिन्छ । पूर्ण आत्मनिर्भर नबने पनि त्यसतर्फ अगाडी बढ्न सक्छौँ । सबै राष्ट्रले आफूलाई चाहिने वस्तु आफै उत्पादन गर्न थालेका छन् । हाम्रा छिमेकी मुलुक औषधीको उत्पादनमा निरन्तर सुधार गरिरहेका छन् ।

नेपालमा कति प्रकारका औषधी उत्पादन हुन्छन् ? यसका लागि कति वटा उद्योगले लाइसेन्स लिएका छन् ?

यहाँ औषधी उत्पादन गर्ने करिब १०५ वटा उद्योग दर्ता भइसकेका छन् । त्यसमध्ये ६५ वटा उद्योगले मार्केटिङ लाइसेन्स लिएरै उत्पादन गरिरहेका छन् । यस्तै, यी उद्योगहरूले करिब ६५० प्रकारका औषधी उत्पादन गरिरहेका छन् । ३/४ दशक अगाडीको इतिहास हेर्दा नेपालमा औषधीको उत्पादन हुन्छ र ? भन्ने प्रश्न आउँथ्यो । अहिले नेपालका प्रमुख उद्योगको सूचीमा औषधी उद्योग पनि पर्छ ।

नेपाली औषधी उद्योगले कुल बजारको कति हिस्सा ओगटेका छन् ?

नेपालमा वार्षिक ४० अर्ब हाराहारीको औषधी प्रयोग हुँदै आएको छ । यसको आधा हिस्सा नेपालकै उद्योगले ओगट्दै आएका छन् । अर्थात् नेपाली औषधी उद्योगले नेपालको कुलमध्ये ५०/५२ प्रतिशत बजार हिस्सा ओगटेका छन् । यो क्रमिक रूपमा बढ्दो अवस्थामा पनि छ । 

विश्वमा कुनै पनि देश कुनै पनि वस्तुमा पूर्ण आत्मनिर्भर हुँदैन । तर, सरकारले नीतिगत व्यवस्थामा सुधार गरिदिए औषधीको बजार हिस्सा ८० प्रतिशतसम्म पुर्‍याउन सकिन्छ । पूर्ण आत्मनिर्भर नबने पनि त्यसतर्फ अगाडी बढ्न सक्छौँ । सबै राष्ट्रले आफूलाई चाहिने वस्तु आफै उत्पादन गर्न थालेका छन् । हाम्रा छिमेकी मुलुक औषधीको उत्पादनमा निरन्तर सुधार गरिरहेका छन् ।

अन्त्यमा, नेपालमा औषधी उत्पादनको चुनौती के के हुन् ? 

मुख्य रूपमा सरकारले नियन्त्रणमुखी भन्दा पनि प्रोत्साहनमुखी भूमिका खेल्नुपर्छ । यसलाई हामी उद्योगमैत्री वातावरण भन्छौँ । यस्तो वातावरण भएमा भोलिका दिनमा नेपालका उद्योगहरूले आफ्नो क्षमता बढाएर बजार हिस्सा बढाउन सक्छन् । औषधी उद्योगहरूले वार्षिक अर्बौँको आयात प्रतिस्थापन गर्न र देशको आर्थिक वृद्धिमा राम्रो भूमिका खेल्न सक्ने सम्भावना छ । यसका लागि राज्यले यी उद्योगलाई प्राथमिकतामा राख्नुपर्छ । औषधी उद्योगलाई निजी उद्योग भन्दा राष्ट्रिय उद्योगको रूपमा हेरिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप