राष्ट्रियसभा सदस्य निर्वाचन : हेटौंडामा मतदान जारी, आजै बेलुका परिणाम आउने
राष्ट्रियसभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएको हो । मतदान दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरू गरी बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिनेछ ।
राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किसान पार्टीका दुई जनाबीचबाट दुई जना चयन हुनेछन् । गठबन्धनले महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो । प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यकाबीच चुनाव भएको हो । यस्तै, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
चुनावमा प्रदेशसभाका एक सय नौ जना सांसद, प्रदेशका एक सय १९ स्थानीय तहका प्रमुख एवं उपप्रमुख गरी तीन सय ४६ जनाले मतदान गर्दैछन् । मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यी दुई फरक फरक मतदान केन्द्रमा मतदान गरिरहेका छन् ।
मतदानका बेलामा फोटो खिचिएको विषयमा सुरुमा विवाद समेत भएको थियो । माओवादी केन्द्र दोलखाबाट प्रतिनिधित्व गरेकी प्रदेशसभा सांसद हिमाली गोलेले भोट हालेको फोटो खिचेपछि मतदानस्थलमा विवाद भएको थियो । गोलेले भोट हालेर फोटो खिच्ने क्रममा प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले रोकेपछि दुवै जनाबीचमा भनाभन भएको हो ।
यस्तै, आफ्नो पार्टीका तर्फबाट चुनावमा उम्मेदवार नभएकाले चुनावमा भोट पनि नहाल्ने बताएको राप्रपाले मतदान गरेको पाइएको छ । सो पार्टीले प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताए पनि बागमती प्रदेशसभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ
-
कर्णालीमा एमाले र माओवादीको प्रतिष्ठाको लडाइँ : माओवादीको शक्ति कति ?
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’