बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणनाको प्रारम्भिक तथ्यांकमा विभागले समेटेन तेस्रो लिङ्गी

बुधबार, १२ माघ २०७८, १४ : १७
बुधबार, १२ माघ २०७८

तथ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ ।  तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको देखाइएको छ । तर, विभागले तेस्रो लिङ्गी ( यौनिक तथा लैंगिक अल्पसंख्यक)को तथ्यांक कतै समेटेको छैन ।

पुरुष र महिलाको जनसंख्या सार्वजनिक गर्दा तेस्रो लिङ्गीलाई किन छुट्याएको भन्ने प्रश्नमा विभाग भन्छ, ‘यो प्रारम्भिक रिपोर्ट हो । यसमा विस्तृत तथ्यांक समेटिएको छैन ।’ गणकहरूले जनगणना गर्दा सोध्न तयार पारिएको मूख्य प्रश्नावलीका आधारमा यो प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको विभागको भनाई छ ।

विभागले जनगणनाको प्रश्नावलीमा लिङ्गमा पुरुष र महिलालाई मात्र समेटेको जनाएको छ । जनगणनाको तथ्यांक संकलन गर्दै गर्दा गणकहरूको मूख्य प्रश्नावलीमा तेस्रो लिङ्गीलाई नसमेटिएकाले नै तथ्यांक आउन ढिला हुने विभागले बताएको छ ।

‘अहिले महिला र पुरुषको मात्रै जनसंख्या समेटिएको छ । उमेर समूहअनुसार र बालबालिका तथा वृद्धवृद्धाको संख्या समेटिएको छैन,’ विभाग भन्छ, ‘अब विस्तृत तथ्यांकमा सबैलाई समेटिन्छ ।’ एक यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मीले जनगणनामा महिला र पुरुष मात्रै उल्लेख गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘तथ्याङ्क विभागले महिला पुरुषको मात्र तथ्याङ्क निकालेको देखिन्छ । नेपालमा कति यौनिक तथा लैंगिक अल्पसंख्यक छन् भनेर तथ्याङ्क सार्वजनिक किन नगरेको होला ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप