शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डडेल्धुरामा विद्यालयबाट अवैध काठ बरामद

बुधबार, १२ माघ २०७८, १६ : ३९
बुधबार, १२ माघ २०७८

डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना माध्यमिक विद्यालय परिगाउँको परिसरभित्र अवैध रूपमा काटिएको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय डडेलधुराले सिसम र हल्दोका गरि १८८ दशमलव ८० क्यूफिट काठ बरामद गरेको हो। 

प्रारम्भिक विवरणअनुसार सिसमका आठ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए । उनका अनुसार सिसमका आठ रुखको ४५ दशमलव शून्य ६ क्यूफिट काठ र हल्दोको १४३ दशमलव ७४ क्युफिट काठ बरामद गरिएको हो। 

विद्यालयमा भवन निर्माणका लागि टेक्का सम्झौता भएको र भवन बनाउने स्थानमा एउटा सिसिमको रुख परेकाले जरासहित उखेको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थ्वालले बताए । उनले वडा कार्यालयबाट रुख कटानका लागि वन कार्यालयलाई सिफरिस गरे पनि वन कार्यालयको निर्णयअघि नै केही रुखहरू कटान गरेको बताए।

सिसम, साल, खयर र हल्दोका साना ठूला गरि धेरै रूख कटान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य केशव नाथले बताए । रूख काट्ने विषयमा आफूलाई कुनै जानकारी नै नभएको र प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरिएको उनको भनाइ छ ।

‘धेरै रूख कटान भएको छ । विद्यालयको प्रयोजनको लागि काटिएको होइन । यदि विद्यालयको प्रयोजनका लागि कटान हुन्थ्यो भने मलाई पनि जानकारी हुनुपर्दथ्यो । तर, जानकारी नै छैन,’ उनले भने, ‘कटान गरिएका रुखका काठ राति नै डोजर प्रयोग गरि खाडलमा पुर्ने काम भएको छ । कतिपय काठ नजिकैका स्थानीयको घरमा लुकाएर राखिएको छ ।’

डिभिजन वन कार्यालयले देखाउनको लागि मात्र काठ बरामद गरेको उनी बताउँछन् । परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका कर्मचारीले मौखिक रुपमा रूख कटान गर्न अनुमति दिएको स्थानीय बताउँछन् । काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभिजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयंको देखाउन खोजेको उनीहरूको भनाइ छ । 

विद्यालयले रूख कटान गरेपछि आफूले तीन हजार रूपैयाँ हालेर दाउरा खरिद गरेको स्थानीय हरि नाथले बताए । रूख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालयले भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालयको अनुमतिबिना विद्यालय परिसर भित्रका सिसम लगायतका रुखहरू अवैध कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप