शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोनको ट्रेन्ड : आईसीयू ४ गुणा र भेन्टिलेटर प्रयोग गर्ने दर ५ गुणा घट्यो

अधिकांश सङ्क्रमितलाई अस्पताल चाहिएन
बुधबार, १२ माघ २०७८, १७ : ०९
बुधबार, १२ माघ २०७८

नेपालमा पुस २० गते कोरोनाभाइरसको तेस्रो लहर तीव्र रूपमा फैलिरहेपनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले केही राहत दिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पताल भर्ना हुने, आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने बिरामीको सङ्ख्या ५ गुणासम्म घटेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै बढे पनि गम्भीर अवस्थाका बिरामी भने कम रहेको बताए । यद्यपि उनले कोरोनालाई हेलचेक्रयाइँ नगरी स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।

‘तेस्रो लहरका दिनहरू गुजारिरहँदा गत जेठसम्म डेल्टा थियो । त्यस बेलाको अहिले तुलना गर्ने हो भने अहिले ४ गुणा आईसीयूमा र ५ गुणाभन्दा कमलाई भेन्टिलेटर आवश्यक परेको छ । संस्थागत आईसोलेशनमा रहनेको सङ्ख्या पनि पाँच गुणाभन्दा कम रहेको छ’, उनले बुधबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा भने, ‘सङ्क्रमण बढी र भर्ना हुने दर धेरै कम रहेको छ । तर, सङ्क्रमण दर बढ्दै जाँदा भर्ना हुने दर पनि बढी हुने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी रहेको छ ।’

उनका अनुसार हाल १ हजार ८१९ संस्थागतमा रहेका छन् भने त्यसमध्ये २५१ आईसीयू र भेन्टिलेटरमा ४८ जना रहेका छन् ।  कुनै पनि भाइरसको सङ्क्रमणपछि पनि स्वास्थ्यमा कस्ता जटिलता हुन्छ भन्ने रोग प्रतिरोधी क्षमतामा भर पर्ने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्दै स्वास्थ्यको ख्याल गरिराख्नु पर्ने उनको भनाइ छ ।

यी हुन् ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला

उनका अनुसार ५०० बढी सक्रिय सङ्क्रमित रहेका जिल्ला बढ्दो क्रममा रहेका छन् । बुधबारसम्म झापा, मोरङ, सुनसरी , धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की र नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म कुल परीक्षणको हिसाबले सङ्क्रमण दर १८.१ प्रतिशत रहेको छ भने २४ घण्टाको परीक्षणको आधारमा संक्रमण दर दर  हेर्ने हो भने ४१.१ प्रतिशत रहेको छ । उनले तथ्याङ्कले सङ्क्रमण दर अझै उत्कर्षमै रहेको देखिएको बताए ।  संक्रमण दर पुसको २० गतेदेखि उकालो लागेको र माघ पहिलो सातादेखि तलमाथि हुने क्रममा रहेको उनको भनाइ छ ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय सङ्क्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सङ्क्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल जनसङ्ख्याको ४१ प्रतिशत जनसङ्ख्याले पूर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप