बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

बुधबार, १२ माघ २०७८, १८ : ५८
बुधबार, १२ माघ २०७८

पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

हाल देशको सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  बिहीबार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव ६ डिग्री र अधिकतम तापक्रम १६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप