शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनगणना : महिलाको अनुपात ०.४६ प्रतिशतले कम, किन ?

बिहीबार, १३ माघ २०७८, १२ : ५५
बिहीबार, १३ माघ २०७८

केन्द्रीय तथ्याङ्क विभागले बुधबार १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक भएको प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । अघिल्लो जनगणना २०६८ को तुलनामा यो २७ लाखले बढी हो । 

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८५८ ले बढी भएको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको हालको कुल जनसंख्यामध्ये महिलाको संख्या ५१.०४ प्रतिशत अर्थात् एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसंख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । 

जबकि १० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्यामा महिलाको संख्या ५१.५ र पुरुषको संख्या ४८.५ प्रतिशत थियो । यसरी हेर्दा महिला संख्याको अनुपात भने १० वर्षपछि ०.४६ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ ।

महिलाको संख्या बढी भएपनि अनुपातमा कमी हुनुको मुख्य कारण लिङ्ग पहिचान गरी छोरीको भु्रणहत्या भएको महिला अधिकारकर्मी बबिता बस्नेतको भनाई छ । छोरा–छोरीबीचको विभेद वा पितृसत्तात्मक समाजमा भ्रुणहत्याको समस्या र घटना दिन प्रतिदिन बढ्दो रहेको उनको जिकिर छ । 

सरकारले लिङ्गको आधारमा गर्भपतन गराउनेलाई कानूनी रुपमा कारबाहीको दायरामा ल्याएको छ । तै पनि, मेरी स्टोप सेन्टर, नर्सिङ होमलगायत विभिन्न क्लिनिकमा लिङ्ग छुट्याउने काम भइरहेको छ । कानूनी रुपमा बन्देज भएपनि चिकित्सकको मिलेमतोमा अझैपनि यस्ता गैरकानूनी धन्दा फस्टाइरहेको बस्नेत बताउँछिन् । घरमा पारिवारिक सम्बन्ध सुमधुर बनाइराख्न पनि महिलाहरु यस्तो जघन्य अपराधमा संलग्न देखिन्छन् । यसले नेपालको सामाजिक, साँस्कृतिक परिवेशमा गम्भीर चुनौती पैदा गराएको छ ।

दोस्रो महिलाको अनुपातमा कमी आउनुको कारण एक वा दुई सन्तानमा चित्त बुझाउनु हो । पहिले–पहिले एउटै परिवारमा कम्तीमा पनि ५÷६ जना सदस्य हुन्थे । तर अहिले एउटा वा बढीमा दुई भन्दा धेरै सन्तान हुँदैन । आधुनिक समाजमा अहिले महिला वा पुरुष बिहेवारीमा पनि ढिला बाँधिन्छन् र सन्तान पनि छोरा वा छोरी जे भएपनि एउटा सन्तान भए पुग्छ भन्ने सोचाई हाबी हँुदै जानुले पनि अनुपातमा कमी आएको बस्नेत बताउँछिन् । आगामी १० वर्षमा यो अनुपात अझै घट्ने उनको भनाइ छ । 

यस्तै, यो जनगणनाबाट नेपालको जनसंख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । २०६८ को जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप