ad
x

कोरोनाबाट  कहिले पाइएला उन्मुक्ति ?

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

विनाशकारी विश्वव्यापी कोरोना जीवाणु व्यथा पटक पटक आफ्नो स्वरूप आकार प्रकार लहर परिवर्तन गर्दै झन्झन अत्याइरहेको छ । संसारमा आर्थिक, सामाजिक जीवनलाई काकाकुल पारेको पहिलो, दोस्रो हुँदै तेस्रो स्वरूपले विश्वव्यापी मानव मात्रै होइन, समस्त प्राणी जगतलाई बिलखबन्द पारेको छ । मानिसहरू हायलकायल अत्यासपूर्ण  दिनचर्या बिताउन विवश छन् । लाखौं मानिसले आफ्नो अमूल्य ज्यान र प्रियजन गुमाएका छन् । विश्वभर संक्रमण हुने र मृत्यु हुने क्रम जारी छ । 


खोप उत्पादन भएर केही ज्यान बचाउ सफल भएजस्तो देखिएता पनि अझै पूर्ण आश्वस्त हुने सञ्जीवनी बुटी फेला नपरेको भन्दा अतिशोक्ति नहोला । यथेष्ट ठोस भेउ पाउन नसकिएको प्रयासमा झन्डै कोरोनाको नयाँ जीवाणु ओमिक्रोन अद्यावधिक भ्याक्सिनले काम गरेको छ । नगरेको भए के पो हुन्थ्यो ? गरिब विपन्न अस्थिरता सत्तामाथि लुछलाछ पार्ने मुलुकहरूले आफ्ना नागरिकहरूलाई पूर्ण खोपको अनुपात पुर्याउन हम्मेहम्मे छ । लामो समय बितिसक्दा आधा जनसंख्यालाई पनि लगाउन सकिरहेका छैनन् । अझ बुष्टर डोज कता हो कता । चुस्त व्यवस्थापन भएका मुलुकबाहेक अधिकांश मुलुक अनुदान र भिक्षादानबाट वा खरिद गरेको खोप सीमित पहुँच भएकाले मात्रै पहिलो र दोस्रो मात्रा खोप लगाइएका छन् भन्दा हुन्छ । 



राज्यको जन्म सामूहिक पहलका लागि भएको हो । यसको सार्थकता औचित्य आफ्ना नागरिकप्रतिको जनउत्तरदायित्वबाट मात्रै पुरा हुन्छ । यस्तो विषम परिस्थितिमा आफ्ना नागरिकलाई चटक्कै छोडेर एकात्मक हठी भ्रष्ट कमिसनको घनचक्करमा फसेको सुन्दा लज्जित गराउँछ । चाखलाग्दो कुरा विकसित मुलुकका कतिपय नागरिक खोप लगाउन उत्प्रेरित गर्दा खोप लगाएका छैनन् । उनीहरू सुसम्पन्न छन् तर पनि राज्य आफ्ना नागरिकप्रति रेखदेख अभिभावकत्व दिन छोड्दैन ।  



जोर–बिजोरको आदेशले सक्रिय संक्रमण रोक्न सकिन्छ त ? स्वास्थ्य मापदण्डको पालना उच्च मनोबल सहानुभूति बढी जनसंख्या भीडभाड हुने र कम जनघनत्व भएको क्षेत्र छुट्याउने, बाहिरबाट आउनेलाई चेकजाँच गर्ने संक्रमित भएकालाई अलग्गै राख्ने बाँकी दैनिक जीवन सुचारु गर्न दिनुपर्छ विज्ञले उहिले नै सुझाव नदिएका कहाँ हुन् र । राजनीतिक दलका कुम्भमेला जुलूस भेलाले गर्दा नेपालमा तेस्रो लहर ह्वात्तै बढाउने काम भयो । संबैधानिक कठिनाइ आइपरेको लाचारी नेतृत्व नै मूल कारण हो । कुनै कुरा पनि समय पूरा नगर्ने, अनि जब पर्यो राती तब बूढी ताती झैं मात्रै भइरहेको छ यहाँ ।



सहरकेन्द्रीत विकास र राज्य व्यवस्था समान पहुँच र अवसरबाट देशको दूरदराजमा बस्ने जनतालाई कसरी बेवास्ता गर्न सकिन्छ ? जनताले सकी नसकी पालेका तीन तहका सरकार छन् । आपसी वैमनस्यता, मैं खाऊँ मंै लाऊँ जस्तो निच बानीले सामान्य समन्वय पनि देखिदैंन । देशको विकट भूभागमा बस्नेहरूले राज्यबाट प्राप्त हुने सामान्य आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको छ । सहरमा बस्नेहरूले यो महामारीको समयमा गाउँ सम्झे, कति फर्के पनि । तर त्यहाँ राज्यको बेवास्ता देख्दा वाक्क दिक्क भएर फेरि सहर फर्किन र विदेशिन विवश हुन्छन् । 



पार्टी भागबन्डामा होस्, चाहे मन्त्री, सांसद, मेयर, अध्यक्ष, उपाध्यक्ष अथवा वडा सदस्य किन नहुन्, समानुपातिक कोटामा परेका भाग्यमानीहरू सुविधा सम्पन्न सहरमा आरामको जिन्दगी, कुनै कुरा सुर्ता नहुने आर्थिक श्रोत ओतको कमी नहुने । त्यसरी प्रतिनिधित्व गर्ने भूगोल पिछडिएको क्षेत्रबाट मनोनित, निर्वाचित त्यहाँका जनताको सुखदुःख के हो अतोपत्तो हुँदैन । कुनै जिम्मेवारी, कर्तव्य र चासो राख्दैनन् । जनप्रतिनिधिलाई भेट्न आजकाल सामाजिक सञ्जालमा एकाअर्कालाई नानाथरी गालीगलोज गरेको गुटबन्दीको मतियार भएको, सहरमा विलासी जीवन बिताएको भेट्टिन्छन् । पदाधिकारीले संबैधानिक अधिकार सुविधाभोग गर्ने मात्रै नहोला, आमनागरिकका हक अधिकार पनि कार्यान्वयन गर्न सक्नुपर्छ । 



झट्ट हेर्दा सुन्दा हलुका लाग्न सक्छ तर विकृत राजनीतिको जडतत्व यति गहिरो झाङ्गिएको छ कि त्यसलाई उखेल्न बुलडोजर लगाएर नसक्ने खालको छ । ओमिक्रोन बुस्टर डोज लगाए मानवीय क्षति नहुने बताइन्छ तर नेपालमा मौलाएको कुशासन भ्रष्ट विकृत राजनीति त्यो भन्दा अब्बल छ । त्यसैले भनिन्छ, सबै नीतिको सर्वश्रेष्ठ नीति राजनीति हो । राजनीति नै सही छैन, सही मार्गदिशा मा नहुँदासम्म सुशासन विधिको शासन नागरिकका नैसर्गिक र संबैधानिक हक पाउन सक्दैन । संविधानको धारा ३५ ले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको हक हुने ग्यारेन्टी गरेको छ । यो टुकी बालेर नि फेला पर्दैन । 



एक पटक होइन, दुई दुई पटक खर्चिलो संविधानसभाको चुनाव गरियो ।   बडो मुस्किलसँग कठिनाइका साथ दोस्रो संविधानसभाबाट लिखित र पारित संविधान अझै लखतरान दुधे बालकको जस्तो हुनु सर्वत्र दुःखद् अवस्था छ । दुनियाँ कोरोना कहरबाट आक्रान्त नागरिक र आजित हुँदै गर्दा, हाम्रो देश त्यो संगगसंगै राजनीतिक चक्रवातमा पनि फँसेको छ, कुन वेला कस्तो हुन्डरी आउने हो ठेगान छैन । 

यत्रो महामारीको घडीमा एकोहोरो सत्ताको माथिको छिनाझम्टी, लछारपछार फिरंगी मानवता हराएको आक्रान्त जनताको घाउमा नुनचुक छर्केको कुरा प्रहसन पीडा दिएको कुरा लुकाएर लुक्दैन । शान्ति सुरक्षाको कवच उदाङ्गो भूराजनीतिक उल्टो चक्रवात उन्मुख छ । उत्पादनमा जोड नदिई आवश्यक नीति ल्याउने तर्खर, तयारी नै छैन । सत्ताको चरमभोग जसको हालीमुहाली छ, त्यतिले सबै नागरिक राजीखुशी होलान् भन्न मिल्छ ? 

भनिन्छ, अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ । आर्थिक तरलता कानुनी जटिलता, बारको आन्दोलन, संसद अवरुद्ध, विद्यालय कलेज विश्वविद्यालय बन्द, मेडिकल कलेजले चर्को शुल्क लिए भनेर विद्यार्थीको तालाबन्दी, चर्को मूल्यवृद्धिको मार, देशको व्यापार घाटा चुलिंदो, सरकार र सरकारी निकाय निकम्मा र मौन । सर्वदलीय छलफलमा यस्तो जनपक्षीय विषयले प्राथमिकताका उठान हुँदैन । यी यावत विषय एकापसमा मिलेर ती महत्त्वपूर्ण र जल्दाबल्दा समस्याको समाधान गर्नुपर्ने होइन र ?

देश हाँक्ने नेताहरु एक नभए सबैखाले समस्या, पीडा, महामारी, प्राकृतिक विपत्तिको सामना रोकथाम, नियन्त्रण असम्भव छ । राष्ट्रिय सहमति जनता र देशको हितमा हुनुपर्छ । गठबन्धन चुनावी तालमेल, सत्ता समीकरण, सत्ताको सिढी चढ्ने जोड घटाउ मात्रै नबनोस् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।