शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको निर्वाचन नतिजा : गठबन्धनमा उत्साहसहितको झस्का

एमाले अनपेक्षित रुपमा एक सीट जोगाउन सफल
बिहीबार, १३ माघ २०७८, १४ : २०
बिहीबार, १३ माघ २०७८

 रिक्त हुन लागेका २० मध्ये १९ राष्ट्रियसभा सदस्य पदमा बुधबार भएको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरुमा नाफा घाटाको हिसाबकिताब सुरु भएको छ । सातै प्रदेशमा भएको निर्वाचनका क्रममा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो । यद्यपि मतभारका हिसाबले तुलनात्मक रुपमा बलियो रहेको गठबन्धनलाई चकित तुल्याउँदै एक सीटमा एमालेका उम्मेदवार विजयी भए भने अर्का एक जना बराबरी मत ल्याएको अवस्थामा गोलाप्रथाबाट नतिजा गठबन्धनको पक्षमा गएको थियो ।

सत्तारुढ गठबन्धनमा भएको अन्तरघातबारे आन्तरिक छानविनको तयारी भइरहेको ती दलसम्बद्ध नेताहरुले बताएका छन् । बुधबार निर्वाचन भएका १९ पदमध्ये १८ वटा सीटमा सत्ता गठबन्धनले जित हात पारेको छ भने एक पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

१९ वटै सीटमा ‘क्लिन स्वीप’ गर्ने गठबन्धनको योजना पूरा हुन भने सकेन । यो परिणामले गठबन्धनमा धेरै उत्साह र थोरै झस्का दिएको छ । खासगरी प्रदेश १ मा गठबन्धनका उम्मेदवारले पराजय भोगेकोमा सामान्य झस्का महसुस भएको गठबन्धनका नेताहरुको भनाइ छ ।

उता, प्रमुख प्रतिपक्ष दल एमालेले गठबन्धनसँगको प्रतिस्पर्धामा यसअघि जितेका सात पद गुमाएर झट्का सहनुपरेको छ । कुनैबेला सत्ता र संसदमा मजबुत पकड बनाएको नेकपा एमालेले आफ्नो पकड लगातार गुमाउँदै गएको छ । अल्पमतमा हुँदाहुँदै पनि यो निर्वाचनमा एमालेले प्रदेश १ मा एक सिट जितेर गठबन्धनलाई झस्का दिन सफल भएको हो । हुन त, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हुनु केही दिन अघि नै अस्वाभाविक परिणाम आउन सक्छ भनेर हार स्वीकार गरिसकेका थिए । ओलीको यस्तो अभिव्यक्तिकाबीच प्रदेश १ मा गठबन्धनका उम्मेदवार हेमराज राई पराजित बन्दा एमाले उम्मेदवार सोनाम गल्याजेन शेर्पाले गठबन्धनको ‘क्लिन स्वीप’ योजना असफल बनाइदिएका हुन् ।

गठबन्धनका नेता भन्छन् –उत्साह थपियो

राष्ट्रियसभा सदस्य पदमा भएको निर्वाचनमा आएको नतिजाले गठबन्धनमा उत्साह छाएको गठबन्धनका नेताहरुको भनाइ छ । काँग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रियसभाको नतिजाले गठबन्धन आवद्ध दलहरुले संसदमा सिट बढाउन सफल भएको बताए । 

‘गठबन्धन सफल भयो । उत्साह थपिएको छ । आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ, यसमा सफलता छ भन्ने कुरा देखियो,’ उनले भने, ‘राजनीति गर्ने मान्छेले यसबाट के उपलब्धि हुन्छ भन्ने कुरा जान्नु प¥यो । नारामात्रै लगाएर हिँड्ने कि हिसाब पनि जान्ने ?’

पौडेलले अलिअलि अन्तरघात भए पनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताए । आगामी दिनमा गठबन्धनलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पनि राष्ट्रियसभाको निर्वाचन नतिजाले गठबन्धनमा उत्साह थपिएको बताए । ‘राष्ट्रियसभा निर्वाचनको नतिजाले पाँच दलीय गठबन्धन लामो समयसम्म जाने बलियो आधार प्रदान गरेको छ,’ उनले भने, ‘यसले एकीकृत समाजवादी र गठबन्धनमा रहेका दलहरुमा उत्साह थपेको छ ।’

केपी ओली दक्षिणपन्थी विसर्जनवादी कित्ताबन्दीमा लागिरहेका छन् र उनको पार्टीको राजनीतिक भविष्य कमजोर बन्दै गइरहेको छ भन्नेसमेत यो नतिजाले उजागर गरेको उनको भनाइ छ ।

उनले प्रदेश १ मा सामान्य गडबडी भए पनि समग्रमा नतिजा अनुमान विपरित नगएको भन्दै आउने चुनावसम्म गठबन्धन कायमै रहेको खण्डमा गठबन्धनले आगामी चुनावमा एमालेलाई पत्तासाफ नै पार्नसक्ने बताए ।

‘यो गठबन्धन कायम रह्यो भने आउने चुनावमा सफलता प्राप्तमात्रै होइन, नेकपा एमाले जो प्रतिगमनको सहारा लिएर सर्वसत्तावाद चलाउन चाहन्थ्यो, उसको पत्तासाफ नै हुन्छ’, खतिवडाले भने ।

गठबन्धनकै घटक नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि राष्ट्रियसभाको बुधबार भएको निर्वाचन नतिजाले राजनीतिक रुपमा सकारात्मक सन्देश दिएको बताए । ‘एकाध ठाउँमा थोरै गडबड भए पनि समग्रमा राम्रै भएको छ,’ उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्छ भन्ने पाँच दलको अभियान छ, त्यो अभियानमा यो अभिमतले साथ दिएको छ ।’

गुरुङका अनुसार गठबन्धनलाई निरन्तरता दिनुपर्छ र निरन्तरता दिँदा आगामी निर्वाचनमा पनि सफलता हात पार्न सकिन्छ भन्ने राजनीतिक सन्देश पनि यो नतिजाले प्रस्ट दिएको छ ।

त्यसैगरी गठबन्धनकै घटक राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियसभाको परिणामले उत्साहसहितको सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘उत्साहसहितको सकारात्मक सन्देश दिएको छ । किनभने प्रतिगमनविरुद्ध खडा भएको गठबन्धन यही रफ्तारमा जाने हो भने आगामी दिनमा पनि सफल हुन्छ । गठबन्धनको आवश्यक्ता थप महशुस भएको छ ।’

अपेक्षित नै थियो : एमाले नेता ज्ञवाली

सत्ता गठबन्धनमा राष्ट्रियसभाको नतिजाले उत्साह थपिए पनि प्रमुख प्रतिपक्ष नेकपा एमलेले भने यो नतिजालाई अपेक्षित नै भएको बताएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच दल एकातिर लागेको अवस्थामा एमालेको मत उनीहरुको तुलनामा थोरै रहेको बताए ।

‘यो अनपेक्षित होइन, किनभने आफ्नो पहिचान खुलेका, आस्था खुलेका निश्चित दलसँग आवद्ध प्रतिनिधिहरुले दिने मत भएका कारणले रिजल्ट स्वतः पूर्वानुमान गर्नसक्ने नै थियो’, ज्ञवालीले रातोपाटीसँग भने, ‘पाँच दलीय गठबन्धन हुँदा नेकपा एमाले हरेक ठाउँमा अल्पमतमा थियो ।’

त्यस्तो अवस्थामा पनि एक पदमा एमालेले विजय प्राप्त गरेको र अर्को एक पदमा बराबर भएर पराजित भएको भन्दै उनले त्यो पनि जितसरह भएको बताए ।

ज्ञवालीले अधिकांश आफ्ना उम्मेदवारले दलीय मतभारभन्दा बढाएकाले ५ दलीय गठबन्धनमा अविश्वास र विचलन देखिएको बताए । 

‘पाँच दलीय गठबन्धनभित्र अविश्वास र विचलन सुरु भएको देखिन्छ भने नेकपा एमालेप्रतिको आस्था जनप्रतिनिधिको तहसम्म पनि प्रभाव छ भनिसकेपछि हामी परिणामबाट सन्तुष्ट छौं,’ उनले भने, ‘यही कुराले हुनसक्छ उहाँहरु अत्तालिएको र गठबन्धन कायमै गर्नुपर्छ, स्थानीय चुनाव पर धकेल्नुपर्छ भनेको ।’

त्यस्तै उनले नेपाली काँग्रेसले ६ सिट लिएर १२ सिट अरुलाई दिएर पनि दंग परेकोमा आफूलाई आश्चर्य लागेको बताए । ‘कुनैबेला नेपाली काँग्रेस दुई तिहाइ बहुमत हासिल गरेको पार्टी, उसको यो स्खलन अनौठो लाग्दो छ’, ज्ञवालीले भने ।

राष्ट्रियसभामा एमाले नै ठुलो दल

राष्ट्रियसभामा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र काँग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । रिक्त हुन लागेका ती १९ सीटका लागि बुधबार निर्वाचन भएको हो ।

बुधबारको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाका ८ मध्ये १ सीटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सीट गठबन्धनका पाँच दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । राष्ट्रियसभामा काँग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सीट बढाएका छन् भने राष्ट्रिय जनमोर्चाले पनि एक सीटबाट खाता खोलेको छ । तर पनि राष्ट्रियसभाको ठूलो दल भने एमाले नै बनेको छ ।

पछिल्लो मतपरिणामपछि ७ सीट गुमाउँदा पनि राष्ट्रिय सभामा एमालेको १७ सीट हुन जान्छ । राष्ट्रियसभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र बनेको छ । उसको १५ सीट भएको छ ।

काँग्रेसको १० सीट पुगेको छ भने नेकपा एकीकृत समाजवादीको ८ र जसपाको ३ सीट तथा राजमोको १ सीट भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप