ad
x

बेलायतको राजनीतिमा बोरिसको अग्निपरीक्षा

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

संसदीय  व्यवस्थाको एक महत्त्वपूर्ण विशेषता भनेको दल बदलमा रोक हो भन्ने बुझाइ छ । एउटा पार्टीबाट चुनाव जितेर आउने तर पछि अर्को पार्टीमा जानबाट रोक्नु स्वाभाविक जस्तो पनि लाग्दछ । तोकिएको संख्या पुगेमा नयाँ दल खोल्न पाउने संवैधानिक ब्यवस्था भने हुन्छ नै ।  नेपालको परिवेशमा विशेषतः यो वर्ष यो विषयमा धेरै घटना परिघटना मञ्चन भए । प्रमुख प्रतिपक्षी दल एमालेले त यही विषयलाई लिएर अहिलेसम्म सदन नै चल्न दिएको छैन । यो झण्डै उस्तै प्रकृति जस्तो देखिने तर बिल्कुल फरक विषय थियो ।


नेपालको संविधानले दल बदललाई कानुनी मान्यता दिएको छैन । त्यो अहिले नै दिनुपर्छ भन्ने मेरो जिकिर पनि छैन । तर प्रजातन्त्रको जननी मानिने बेलायतमा भने एक पटक जनताद्वारा मत पाएर विजयी भएपछि त्यो सांसदलाई अर्को निर्वाचन नभएसम्म आफ्नो छुट्टै पहिचान स्थापना गर्न वा पार्टी परिवर्तन गर्न बन्देज लगाइएको छैन । जनताले निर्वाचनमा सम्बन्धित व्यक्तिको नाम अगाडि क्रस चिन्ह लगाउने हुँदा यो स्वतन्त्रता दिनुपर्छ भन्ने सिद्धान्तको बहस अठारौं शताब्दीको अन्त्यतिर नै भैसकेको थियो । सम्बन्धित सांसदले आफ्नो पार्टी नेतालाई अब आइन्दा तिम्रो पार्टीमा छैन भन्ने जानकारी दिएर स्वतन्त्र वा नयाँ पार्टीमा जान सक्ने व्यवस्था छ । यसको लागि राजीनामा दिएर उपनिर्वाचन हुँदैन । तर धेरैजसो असन्तुष्ट सांसदहरुले राजीनामा दिएर पद खाली गर्ने र उपनिर्वाचनमा आफै अर्को पार्टीबाट उम्मेद्वार बनेर हारजित हुने चलन देखिन्छ ।



अहिले बेलायतको राजनीतिमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग बढिरहेको छ । कोरोनाको समयमा सबै घरभित्रै बस्ने,छ जनासम्म मात्रै घर बाहिर भेटघाट गर्न पाइने नियम हुँदा आफू भने प्रधानमन्त्री निवासको बगैँचामा धेरै कर्मचारीहरु जम्मा गरी पार्टी गरेको विषय सार्वजनिक भएपछि यस्तो आवाज उठेको हो । बोरिस जोन्सन् आफूले त्यस्तो पार्टी आयोजना नगरेको,कसैले पनि त्यसो गर्न हुँदैन भनेर जानकारी नगराएको जस्तो हलुका प्रतिवाद  गरिरहेका छन् । केही दिनमा यसबारे सत्यतथ्य पत्ता लगाउन क्याविनेट सेक्रेटरी सु ग्रेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कस्तो आउँछ,त्यसैमा उनको भविष्य जोडिएको देखिन्छ ।



बोरिसले पटकपटक व्यक्तिगत,पारिवारिक र सामाजिक,राजनीतिक  विषयमा धेरै विवादित क्रियाकलाप गर्दै आएका छन् । उनी पहिलादेखि नै अरुलाई खासै महत्त्व नदिने,सकेसम्म कानुन र नियमबाट बढी बाँधिन नपरे हुन्थ्यो भन्ने प्रकृतिको विद्यार्थी थिए भन्ने उनलाई इटन कलेजमा पढाउनेमध्ये एक शिक्षकले गरेको खुलासा प्रमाणित भए जस्तो देखिन्छ । यो  विषयलाई लिएर विज्ञान मन्त्री,स्वास्थ्य मन्त्रीलगायत केही महत्त्वपूर्ण सांसदहरुले उनले तुरुन्तै राजीनामा दिनुपर्छ भनिरहेका छन् ।  धेरैजसोले भने जाँचबुझ आयोगको प्रतिवेदन पर्खिरहेका छन् ।



यही जनवरी १९ का दिन बेलायती राजनीतिक इतिहासमा एउटा नौलो घटना घटेको छ । विगत २५ वर्षमा जम्मा तीन जना सांसदले दल परिवर्तन गरेका थिए । ती तीनैजना सांसद कन्जरभेटिभबाट लेबर पार्टीमा गएका थिए । तर त्यतिबेला लेबर सरकारमा थियो । मानवीय विशेषताअनुसार प्रतिपक्षबाट सरकारी दलमा पद पाउनका लागि जानु स्वाभाविक पनि देखिन्छ । तर यसपालि भने पहिलोपल्ट क्रिस्चियन  वेकफोर्ड भन्ने सांसद सरकारी पार्टीबाट प्रतिपक्षमा गएका छन् । टोरी पार्टीबाट गत निर्वाचनमा बेरी साउथ निर्वाचन क्षेत्रबाट ४०२ मतको झिनो बहुमतले विजय भएका सांसदले आफूले पार्टी छाड्न परेको मुख्य कारण बोरिसको जनताप्रतिको अपमानजनक व्यवहार नै हो भनेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनतालाई नेतृत्वले खासै महत्व नदिएको पनि उनको जिकिर छ । अबका केही दिनमा यस्ता घटना दोहोरिने सम्भावना पनि छ ।



बेलायतमा पार्टी फुटाउने घटना बिरलै छ । ब्रेक्जिट जनमत संग्रहताका नयाँ गठन गरिएको युकिप पार्टी केही समय सक्रिय र सफल जस्तो देखियो । तर कन्जरभेटिभ पार्टीबाट राजीनामा दिएर युकिपमा जाने सांसदहरुको भविष्य भने त्यति लामो हुन सकेन । कतिपय विषयमा सांसदहरुलाई आफ्नो स्वतन्त्र धारणा राख्न पाउने मात्रै हैन,आफ्नो पार्टीले अगाडी सारेको प्रस्तावविरुद्ध पनि मतदान गर्न सक्ने अधिकार भएको कारण पनि सितिमिति पार्टी नै छाडी हाल्नपर्ने अवस्था नआएको हुनुपर्छ ।



यही परिवेशमा दोस्रो विश्वयुद्धकालीन ताका संसारमै निकै बलियो देखिएका प्रख्यात बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको राजनीतिक पृष्ठभूमि पनि रोचक देखिन्छ । उनी पहिलो पटक सांसदको रूपमा सन्् १९०० मा कञ्जरभेटिभ पार्टीको प्रतिनिधित्व गर्दै ओल्ड ह्याम क्षेत्रबाट वेस्ट मिनिस्टरमा प्रवेश गरेका थिए । विभिन्न विषयमा मतभिन्नता भएपछि उनले सन्् १९०४ मा आफ्नो पार्टी छाडेर लिबरल पार्टी प्रवेश गरे । त्यसपछि भएको निर्वाचनमा म्यानचेष्टर नर्थ वेस्टबाट चुनाव पनि जिते । यसरी ४० वर्ष नटेक्दै उनले विभिन्न महत्त्वपूर्ण राजनीतिक जिम्मेदारी बहन गरिसकेका थिए । सन्् १९१५ बाट चर्चिलको राजनीतिक जीवन ओरालो लाग्यो । पार्टीसँग विचार नमिलेर आमचुनावमा पार्टी छाडेर स्वतन्त्र उमेद्वार बने तर हार खान पर्यो । सन्् १९२४ मा भएको निर्वाचनमा भने इपिङ क्षेत्रबाट स्वतन्त्र भनिए पनि कञ्जरभेटिभहरुको भित्री सहयोगमा विजयी भए । एक वर्षपछि फेरि कञ्जरभेटिभ पार्टीमा नै फर्किएपछि तुरुन्तै चान्सलर एक्स चेकर (अर्थ मन्त्री) बन्न सफल भए ।



सन्् १९२९ मा टोरी पार्टी सरकारबाट बाहिरिएपछि दश वर्षसम्म चर्चिलको राजनीतिक जीवन फेरि ओझेलमा पर्यो । उनी पहिलो पटक मे १९४० मा ७१ वर्षको उमेरमा प्रधानमन्त्री बन्न सफल भएका थिए । सन्् १९४५ मा भएको निर्वाचनमा पार्टीको हार भएकोले विपक्षी दलको नेता बन्न उनी बाध्य भए । सन्् १९५१ मा भएको निर्वाचनमा कन्जरभेटिभले फेरि लेबर पार्टीलाई हराउन सफल भयो । र,उनी फेरि दोश्रो पटक प्रधानमन्त्री बने । तर बिग्रँदो स्वास्थ्य तथा वृद्ध उमेरको कारण उनले सन्् १९५५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए । मृत्यु हुनु एक वर्ष अगाडी सन्् १९६४ सम्म उनी सांसद नै थिए ।



अहिले ६५० सदस्य भएको बेलायती सदनमा एक जनादेखि ३६१ जना प्रतिनिधि भएको एघार वटा राजनीतिक पार्टीको उपस्थिति रहेको छ ।  मुख्यत दुई पार्टीको वर्चस्व देखिने बेलायतमा पार्टी स्थापनाको इतिहास हेर्ने हो भने सन्् १७२१ देखि १८३४ सम्म ह्विग र टोरी पार्टी मात्रै देखिन्छ । सन्् १८३४ मा कन्जरभेटिभको उदय भयो । मजदुरहरुको हक हितलाई ध्यानमा  राखेर सन्् १९०० मा स्थापित लेबोर पार्टी सन्् १९१७ मा को–अपरेटिभ पार्टीसँग सहकार्य गरेर एउटै पार्टी बनेको देखिन्छ । ह्विग पार्टीकै एउटा हाँगा लिबरल पार्टी हुँदै सन्् १९८८ मा लिबरल डेमोक्र्याट हुन पुग्यो । सबैभन्दा नयाँ पार्टी स्कटल्याण्डका पूर्व मुख्यमन्त्री एलेक्स साल्मोनले स्कटिस न्याशनलिष्ट पार्टीबाट अलग भएर गठन गरेको अल्बा पार्टी हो । सन््् १९९० मा स्थापित ग्रीन पार्टीले पनि जनस्तरमा केही छाप छोड्न सफल हुँदै आएको छ ।

सन् १९२९ मा लेबर पार्टीको २८८ सिट थियो तर १९३१ को निर्वाचनमा मात्र ५२ सिटमा चित्त बुझाउन पर्यो । सन्् १९४५ को चुनावमा लेबर पार्टीले भारी मतान्तरले जित हासिल गर्यो । त्यस बीचमा पार्टी टुटफुटले असर पार्यो । सन् १९९७ मा आइपुग्दा लेबर पार्टीले सन् १९४५ मा भन्दा बढी नतिजा हात पार्यो । कन्जरभेटिभ पार्टीले आफ्नो आधा भन्दा बढी सिट गुमाउनु पर्यो ।

बेलायतमा सन् २०१० देखि भने कन्जरभेटिभ पार्टीले कहिले एकल त कहिले संयुक्त सरकार चलाइरहेको छ । लेबर पार्टीले सन् १९२९,३५ र ६४,७० र ७४,७९ र १९९७,२०१० गरी पटक पटक सरकारको नेतृत्व गरेको देखिन्छ भने बाँकी समय कन्जरभेटिभले शासन गर्दै आएको छ । पहिलो र दोश्रो विश्वयुद्ध ताकाको केही समयबाहेक बेलायतको इतिहासमा पूर्ण मिलिजुली सरकार भने सन् २०१० देखि २०१५ सम्म  कन्जरभेटिभ र लिबरल पार्टीले मात्रै सञ्चालन गरेको देखिन्छ । सन् १८६८ देखि १९२२ सम्म लिबरल पार्टीका चारजना नेता आठ पटक प्रधानमन्त्री बनेको इतिहास छ भने पछिल्लो समयमा निक क्लेग पाँच वर्ष उपप्रधानमन्त्री बनेर लिबरल पार्टीको उपस्थितिसम्म देखाउन सके ।

अहिले बोरिसले पद त्याग गर्नुपर्ने परिस्थिति आउने सम्भावना बढी नै देखिन्छ ।  कथम्कदाचित अहिलेलाई उनले यो खड्गो काट्न सके भने पनि आउँदो मे महिनामा हुने स्थानीय निर्वाचनमा फेरि यो प्रसंगले उग्र रुप लिने छ । र,कञ्जरभेटिभ पार्टीले हार ब्यहोर्नु पर्ने हुन सक्छ । जे होस्,ढिलो वा चाँडो अहिलेको नेतृत्वले शक्ति हस्तान्तरण गर्नैपर्ने देखिन्छ । त्यसपछिको शक्ति सामान्य त चान्सलरकोमा जाने परम्परा कायम भयो भने बेलायतले पहिलोपटक भारतीय मूलका बेलायती प्रधानमन्त्री पाउने सम्भावना देखिन्छ । हेरौँ,बेलायतको राजनीतिले कसरी आफ्नो भविष्य निर्धारण गर्ने छ ?त्यति लामो राजनीतिक पृष्ठभूमि बनाइ नसकेका ऋषि  सुनकलाई सम्भावित प्रधानमन्त्रीको अग्रिम शुभकामना ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X