बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

बिहीबार, १३ माघ २०७८, १५ : ३६
बिहीबार, १३ माघ २०७८

जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् ।  आज हानथुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङ मार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारुको उद्वार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुङ्गा पठाइएको छ ।

आज करिब ४/५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदूर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा परेका अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहेपनि  अन्य निर्माण सामग्रीका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ । सुरुङ मार्गभित्र मानिसका साथै निर्माण सामग्री ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप