शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुरुप बन्दै ऐतिहासिक रंगभूमि मैदान

सरोकारवाला निकायहरु जिम्मेवारीबाट पन्छिँदै
बिहीबार, १३ माघ २०७८, १६ : ३२
बिहीबार, १३ माघ २०७८

 प्राचिन ग्रन्थ अनुसार जनकपुरधामस्थित बाह्र बिघा मैदान अर्थात् रंगभूमि मैदानमा भगवान राम र सीताको विवाह भएको मानिन्छ । पछिल्लो समय रंगभूमि मैदानमा विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुद लगायतका गतिविधि सञ्चालन हुँदै आएको छ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधामको रंगभूमि मैदान विगत केहि वर्षदेखि संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । यसको संरक्षणमा तीनै तहको सरकार गम्भीर नदेखिएको स्थानीयवासीको भनाइ छ ।​ बाह्रबिघा मैदान सामान्य वर्षा याममा पनि जलमग्न हुने गरेको छ भने सुक्खायाममा खुला शौचालय क्षेत्रका रुपमा परिणत हुने गरेको छ । प्रमुख सरोकारबाल निकाय वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यसको संरक्षण र सौन्दर्यीकरणतर्फ ध्यान दिएको देखिँदैन ।

बाह्रबिघा मैदानको सौन्दर्यीकरण र संरक्षणका लागि भारत सरकारले समेत आर्थिक सहयोग गरेको छ । तर पनि यसको स्वरुपमा भने कुनै परिवर्तन हुन सकेको छैन ।

चेम्बर्स अफ कमर्स धनुषाका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले रंगभूमि मैदानको सौन्दर्यीकरण एवं विकासको नाममा भारतीय दूतावासदेखि विभिन्न शीर्षकमा बजेट छुट्याएर पैसा कुम्ल्याउने र कुरुप बनाउने कामबाहेक अरु केही हुन नसकेको आरोप लगाए ।

रंगभूमि मैदान स्थानीय तह, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, गुठी संस्थान र मधेस सरकारको मातहत परे पनि संरक्षण र सौन्दर्यीकरणका लागि यी सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य देखिएको छैन । जसले गर्दा पछिल्लो समय रंगभूमि मैदान तीव्र रुपमा अतिक्रमणको चपेटमा पर्दै गएको छ ।

युवा अभियन्तासमेत रहेका मिश्रका अनुसार बाह्रबिघा मैदान संघ, प्रदेश र स्थानीय तह तथा गुठी संस्थान र बृहत्तर जनकपुर विकास परिषद मातहत पनि पर्दछ । तर, त्यसको संरक्षण र सौन्दर्यीकरण गर्नतर्फ कसैको ध्यान नपुगेको उनले बताए । ‘प्रमुख सरोकारवालाले नै ध्यान नदिएपछि वर्षामा यो पौडीस्थल र अन्य समय फोहोर थुपार्ने डम्पिङ साइट तथा खुला शौचालयमा परिणत भइरहेको छ,’ उनले भने ।

वातावरण तथा प्रदुषण नियन्त्रणसम्बन्धी सञ्चालन गरेको परियोजना अनुसार बाह्रबिघा मैदानभित्र चारैतर्फ वृक्षारोपण गर्ने प्रस्ताव राखिएको थियो । वृहत्तर जनकपुर विकास परिषद समक्ष यस्तो प्रस्ताव गरिए पनि निर्देशक बलराम ठाकुरले बेवास्ता गरे ।

मिश्रले भने, ‘बाह्रबिघाको चारैतर्फ पर्खाल वरिपरि तराई मधेशबाट लोप हुँदै गएको विरुवाहरू लगाउने योजना लिएर हामी पुगेका थियौं, ‘तर बृहत्तरका कार्यकारी निर्देशकले योजना नै सुन्न चाहनु भएन ।’

यता बृहत्तर क्षेत्र विकास परिषदले बाह्रबिघा हेर्ने जिम्मा जनकपुरधाम उपमहानगरपालिकालाई दिइएकाले आफूहरुको सरोकारको विषय नरहेको बताउँदै आएको छ ।

स्थानीय तह मातहत समेत रहेको रंगभूमि मैदान सौन्दर्यीकरणका लागि जनकपुरधाम उपमहानगरपालिकाले पनि खासै केही गरेको देखिँदैन ।

सरोकारवाला निकायहरु भने एक अर्कामाथि दोषारोपणमै व्यस्त छन् । जसले गर्दा रंगभूमि मैदान दिनानुदिन कुरुप हुँदै गएको छ ।

जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीता मिश्रले रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व उपमहानगरको रहे पनि यसको रेखदेख मुख्य रुपमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले नै गर्दै आएको बताइन् । उनले संघ सरकार वा प्रदेश सरकार अनुदार भएकै कारण रंगभूमि मैदान कुरुप भएको आरोप लगाइन् । 

रंगभूमि मैदान व्यवस्थित नहुँदा अहिले आएर यत्रतत्र फोहोर, ठूलठूला घाँस, खाल्डा खुल्डी भएकाले खेलको अभ्यास गर्नमा समेत निकै कठिनाई भईरहेको जनकपुरधामका क्रिकेट खेलाडी गुड्डु पाण्डे बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप