शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

बिहीबार, १३ माघ २०७८, १९ : ११
बिहीबार, १३ माघ २०७८

६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । 

अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ ।  मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दीपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो । 

मनाङका फ्राङ्कलिन टेला, शिव गुरुङ, रुपेश केसी र कप्तान आफिज ओलावाले पेनाल्टीमा सफल भए । आर्मीका कप्तान भरत खवास, जर्ज फ्रिन्स कार्की र विवेक बस्नेतले पेनाल्टीमा गोल गरे । 

यसअघि खेलको निर्धारित समय र अतिरिक्त समय समेत गोलरहित बराबरीमा सकिएपछि खेल खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।  खेलको पहिलो हाफमा मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । विमल रानाले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे । 

मनाङ र आर्मी दुवै आफ्नो मुख्य खेलाडीबिना मैदान उत्रिएका थिए । मनाङका कप्तान अन्जन विष्ट, रक्षक दिनेश राजवंशी, नितिन थापा, पूजन उपरकोटी राष्ट्रिय टोलीमा रहेका छन् ।  आर्मीका सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, जगजित श्रेष्ठ मौरिससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप