शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका मृतक सङ्ख्या एक लाख ५५ हजार नाघ्यो

शनिबार, १५ माघ २०७८, ०७ : ०६
शनिबार, १५ माघ २०७८

लन्डन । बेलायतमा कोरोना महामारी सुरु भएयता कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप  २७७  जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण बढी मृत्यु हुने मुलुकहरूमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत  सातौँ स्थानमा पर्दछ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट एक लाख ५५ हजार ३१७  जनाको ज्यान गइसकेको छ । तर मृत्यु दर्ताका आधारमा भने एक लाख ७६ हजार भन्दा बढीको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ । विश्वभरमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६० हजार नाघेको छ ।

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा निरन्तर घट्दै गएको छ । ओमिक्रोन सङ्क्रमणका कारण दैनिक सङ्क्रमण दर दुई लाख नाघे पनि अहिले यो सङ्क्रमित सङ्ख्या घटेर एक लाख भन्दा काममा झरेको छ । पछिल्लो २४ घण्टामा  ८९ हजार १७६  जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ६३ लाख ३३ हजार ९८०  पुगेको छ ।

यसअघिको डेल्टा भाइरस भन्दा कम शक्तिशाली ठानिएको ‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण दर तीव्र भए पनि यसको असर कम भएकाले बेलायतमा कोभिड सम्बन्धी सबै प्रतिबन्धहरू हटाउँदै लागिएको छ । दुवै डोज खोप लगाइसकेका बेलायत भित्रिने यात्रुहरूको लागि यसअघि अनिवार्य गरिएका कोभिड सम्बन्धी परीक्षणहरू अर्को महिनाबाट अन्त गरिदैछ ।  

कोरोनाविरुद्धको खोपको प्रभावकारिता बढेसँगै बेलायतमा अहिले बुस्टर डोज वितरण कार्यलाई तीव्रता दिइएको छ ।बेलायतमा ९०.९ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या ८४ प्रतिशत रहेको छ । बुस्टर अर्थात् तेस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पनि ६४.६ प्रतिशत भन्दा बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप