शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार छौं : माधव नेपाल

शनिबार, १५ माघ २०७८, १३ : ४६
शनिबार, १५ माघ २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि स्थानीय निर्वाचन सामना गर्न तयार रहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गरे ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने पनि सामना गर्न तयार छौं । स्थानीय तहको निर्वाचन पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं ।’

अध्यक्ष नेपालले जनतामा जाने कुराबाट आफुहरु अत्यन्त खुसी हुने समेत बताए । उनले भने, ‘चुनावको कुराबाट बरु अरु आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान् । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाईदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान् । तर आज बिहान भएको बैठकमा पनि नेपाली काँग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसावको प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’ गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु । र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनि सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यकता छैन ।’ 

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राखे । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरे । अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । 

उनले भने, ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नुपर्दछ । संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ । अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिनाभित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो ? भनेर हामीले त्यो समयलाई हेर्नुपर्दछ ।’

अध्यक्ष नेपालले काँग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरूको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप