शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्र साहित्य : एक समाजसेवीलाई पत्र

शनिबार, १५ माघ २०७८, १४ : २८
शनिबार, १५ माघ २०७८

  प्रिय समाजसेवी, तिमीसँग  संवाद गर्ने कुनै नैतिकता नहोला । तर, पनि तिम्रा लागि मनमा उब्जिएका केही कुरा पोख्न मन लाग्यो र आँट गरेर यो पत्र लेख्दै छु ।

तिमीलाई कति याद आउँछ आउँदैन थाहा भएन । मलाई भने तिमीले दिएका केही  विश्वासिलो  अटुट माया र तिम्रो  मीठो बोलीले आकर्षित गर्ने कलाको हरदम याद आइरहन्छ ।

जीवन त्यति सजिलो कहा हुँदो रैछ र ? मैले पनि तिमीसँगको सामिप्यतामा त अनुभव गरेकी । साँच्चै जीवन कल्पना भन्दा बाहिर जाँदाका क्षणलाई अनुभूति गर्न सकियो भने केही सहजता भने पक्कै आउँदो हो । अपरिपक्वता, चञ्चले उमेर, त्यसमा पनि आफूले माया गरेको मान्छेको साथ भएपछि आउँदा दिनहरुप्रति जिम्मेवार, महसुस त के कल्पनासम्म नि गर्न नसकिदो रैछ । मैले त जीवन जिउन सङ्घर्ष गर्नु पर्छ भन्ने मात्र सुनेकी थिएँ । जीवन जिउनका लागि के के कुरामा सम्झौता गर्नुपर्दछ, त्यो चाहिँ बुझेकी रहिनछु ।

सङ्घर्ष, समाज प्रतिको मात्र नभएर पारिवारिक दायित्वबोध सहितको सङ्घर्ष गर्नुपर्ने रहेछ । जुन तिमीले महसुस गरेका छौ भन्ने लाग्छ । समाजमा  तिमीले पाएको मान, प्रतिष्ठाप्रति म गौरव गर्छु । जसरी एउटा सचेत युवाले समाजमा निभाउनु पर्ने आफ्नो जिम्मेवारी तिमीले निभाएकै हो । तर, एउटा जिम्मेवार युवाले समाज र सामाजिक उत्तरदायित्व मात्र पूरा गरेर पारिवारिक समस्या हल नहुने रहेछ ।

तिमीले रोजेको राजनीतिक बाटोले कुनै पद, प्रतिष्ठा, पैसा र शक्तिमा रुम्मलिने तिम्रो सोच चाँडो पूरा होस्, मेरो कामना । राजनीति सँगसँगै परिवार सँगको तिम्रो जिम्मेवारी तिमीले निर्वाह गर्नैपर्छ । सधैं यसरी बरालिएर  जिन्दगी बिताउने कोसिस नगर । आफ्नो र परिवारको लागि केही गर्नुपर्छ । आफू बलियो भए मात्र समाजलाई सही बाटोमा लान सकिन्छ । कमजोरी लुकाएर लामो यात्रामा हिँड्न सकिंदैन महोदय ।

तिम्रो यस्तै हर्कत र बेवास्ताको कारण म तिमीदेखि अलग हुने आँट गरेकी हुँ । हुन त निभिसकेको टुकीमा तेल थप्नुले त्यति अर्थ राख्दैन । म तेल भएर तिमीसंग नभए पनि तिम्रो घर सधैं झलमल्ल उज्यालो होस् ।

तिम्रा ती क्रियाकलापले न तिमीले केही गर्ने आँट गरेउ, न मलाई नै केही गर्न दियौ । अन्ततः माइतीको सल्लाह र सहयोगमा सानो व्यवसाय गर्न थालेकी छु । म यतै खुसी छु । तिमीले पनि आफ्नो र परिवारको खुसीको लागि  केही गर्नुपर्छ । नत्र त्यही समाजले झोलेको उपनामले चिनाउन समय लाग्दैन ।

तिमीले पाएको मान प्रतिष्ठाले घर व्यवहार नचल्दो रहेछ । तिम्रा ती मिठास कुराले  सधैं अघाउन नसकिने रहेछ । त्यसैले आगामी दिनमा तिम्रो राजनीतिक यात्रा सँगसँगै परिवारको  जिम्मेवारी पनि राम्रोसँग बहन गर्न सक्ने हुनेछौ । यही आशा र भरोसाका साथ आगामी जीवनको सफलताको शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप