शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रका लागि राजा महेन्द्रमाथि बम प्रहार गर्ने दुर्गानन्द झा

शनिबार, १५ माघ २०७८, १५ : ३९
शनिबार, १५ माघ २०७८

 ‘नरुनु आमा, कुनै दिन तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । गणतन्त्र अब आउँछ–आउँछ ।’

शहीद दुर्गनन्द झा जेलमा रहेको बेला आफूलाई भेट्न आएकी आफ्ना श्रीमती र आमालाई भनेको कुरा हो यो । यो कुरा भनेको ४५ वर्षपछि देशमा गणतन्त्रको घोषणा पनि भयो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो । 

तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका बेला त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा २०२० माघ १४ गते उनका आमा र श्रीमती भेट्न गएका थिए । दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई भेटाउनका लागि गाउँबाट बोलाएर ल्याएको थियो । मृत्युको समय तय हुँदा पनि दुर्गानन्द झामा कुनै त्रास थिएन । मर्ने निश्चित भएको बेलामा पनि उनले त्यहाँ श्रीमती र आमासँग हाँसी हाँसी कुरा गरेको वरिष्ठ पत्रकार राजेश्वर नेपाली बताउँछन् ।

झाको सम्झनामा नेपाली काँग्रेसले माघ १५ गते बलिदानी दिवस मनाउने गरेको थियो । पटक पटक सरकारमा गए पनि काँग्रेसले उनलाई शहीद भने घोषणा गरेन । झालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ फागुन १९ गते शहीद घोषणा गरेका थिए । गणतन्त्रका लागि हाँसी हाँसी फाँसी चढेका दुर्गानन्द झाले शहीदको सम्मान पाउनका लागि ५२ वर्ष कुर्नु पर्‍यो । २०२० माघ १५ गते फाँसी दुर्गानन्द झालाई फाँसी दिइएको थियो ।

को हुन् दुर्गानन्द झा ?

शहीद दुर्गानन्द झाको जन्म वि.सं. १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रूपमा भएको थियो । बुवाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दापढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँग उनको विवाह भएको थियो ।

विवाहको एक वर्षपछि नै श्रीमती गर्भवती भएकी थिइन् । तर राजनीतिमा लागेका झाले उनको ख्याल राख्न पाएनन् । घरमा श्रीमती र आमा मात्र हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । हाइस्कूलमा अध्ययनरत झाको अधिकांश समय छात्रवासमा बसेर राजनीतिमा बित्ने हुँदा काशीदेवीसँग उनको भेट महिनामा एकआध चोटीमात्र हुने गरेकाे थियो । 

महेन्द्रमाथि बम

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरङ्कुश कदमको विरुद्ध काँग्रेसले आन्दोलन सुरु गर्‍यो । यता युवा झाले प्रजातन्त्रको हत्या गर्नेलाई नछाड्ने भनेर मनमा ठानिसकेका थिए । त्यही क्रममा उनी भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगे । अनि त्यहीँ बन्यो, राजामाथि बम प्रहार गर्ने योजना  । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने तय भयो । 

कडा सुरक्षाबीचमा रहेका महेन्द्रमाथि जनकी मान्दिरमा झाले बम प्रहार गरे । बम महेन्द्र चढेको गाडीको सिसामा लाग्यो । तर त्यो पड्केन । बम प्रहार गरपछि सुरक्षाकर्मीको बीचबाट उनी भाग्न सफल भए । उनी भागेर जनकपुरमै हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बास बसे । भोलिपल्ट बिहानै उनी त्यहाँबाट भारतको उभगाँव पुगे । 

यता नेपालमा बम प्रहारको घटनाले देशैभरि हल्लीखल्ली भएको थियो । बम कण्डका नाममा विभिन्न व्यक्तिलाई धडपकड गरिरहेको थियो । बमकण्डको आरोपमा पक्राउ परेकालाई थुनामा राखेर यातना दिइएको थियो । तर बम फाल्ने को थिए भनेर प्रहरीले पत्ता लगाउन सकिरहेको थिएन । बम प्रहार गरी सीमापारी काँग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्द झालाई निर्दोषलाई कुटपिट गरी यातना दिएको कुराले सह्य भएन ।

त्यसपछि उनले नेपाल आउने निधो गरे । जयनगरबाट रेल चढेर जनकपुरमा ओर्लन नपाउँदै उनलाई तत्कालीन एसपी मानबहादुर राईको नेतृत्वमा गएका टोलीले पक्राउ गर्‍यो । पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट काठमाडौँको केन्द्रीय कारागारमा ल्याइयो । उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो । 

फाँसी दिन कानुन संशोधन

जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, ‘सरकारले बमकाण्डको अध्ययन गर्नका विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । त्यो आयोगले आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर, ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भने कुरा त्यतिबेलाको कानुनमा उल्लेख थियो ।’

कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाह पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरीसमेत दिएका थिए । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउने आदेश दिए । त्यही सालको फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।

२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्ती पत्र लेख भनिएको थियो, तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे । फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिएको थियो । दुर्गानन्दकी आमाले उनको शव मागे पनि दिइएन । पछि कुशको लास बनाएर दुर्गानन्दको भारतको गयामा अन्तिम संस्कार गरिएको थियो । 

 

काशिदेवीको अवस्था

शहीद पत्नी काशीदेवी झा अहिले आफ्नो माइतमा आश्रित छिन् । उनी कहिले जटही त कहिले काठमाडौँ बस्ने गर्छिन् । जुन पार्टीका लागि उनका श्रीमान् दुर्गानन्द झाले आफ्नो ज्यान दिए, त्यो पार्टीले अहिले बलिदानी दिवस मनाउन समेत छाडिसकेको छ । बरु पहिलो संविधानसभामा तत्कालीन तमलोपाबाट समानुपातिक सांसद भएकी काशीदेवी झा कानुन राज्यमन्त्री समेत बनेकी थिइन् ।

दुर्गानन्द झाको नाममा जटहीमा अस्पताल बनाउने घोषणा भएको थियो । तर अहिलेसम्म त्यसले पूर्णता पाएको छैन । काशीदेवी झाकी भतिजी मनु चौधरी भन्छिन्, ‘सात आठ वर्षदेखि अस्पताल बनिरहेको छ । कहिले तयार हुन्छ कहिले सुचारु हुन्छ कुनै पत्तो छैन ।’ तमलोपा सरकारमा भएको बेला दुर्गानन्द झाको नामबाट उनको गाउँ जटहीमा अस्पताल बनाउने निर्णय गराएको थियो ।

जनकपुरमा दुर्गानन्द झाको मूर्ति राख्ने पनि निर्णय भएको थियो । मूर्ति तयार पनि भइसकेको छ तर कहाँ राख्ने भनेर अझैसम्म निर्णय हुन सकेको छैन । महेन्द्रमाथि बम हानेको ठाउँ जानकी मन्दिर परिसरमा उनको मूर्ति राख्ने तयारी गरिएको थियो तर जानकी मन्दिर प्रशासनले त्यहाँ राख्न दिनका लागि मानिरहेको छैन ।

घटनाक्रम

१९९९ वैशाख १४

जनकपुरबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सीमानासँग जोडिएको जटही गाउँमा शुक्ल एकादशीका दिन शहीद दुर्गानन्दको जन्म भएको थियो । उनी देवनारायण र सुकमारी देवीको एकमात्र सन्तान थिए । वाल्यकालमै हुँदा उनको पिताको निधन भएको थियो । उनी पण्डित भोलानाथ झाका तीनभाइ छोरामध्येका एकमात्र उत्तराधिकारी थिए । 

२०१७ पुस १

संसद र संसदीय व्यवस्थाको विघटन भएको थियो । त्यसपछि तत्कालीन राजा महेन्द्रको विरोध भएको थियो । त्यसै क्रममा शहीद दुर्गानन्द सक्रिय भएका थिए  । 

२०१८ माघ ९

महेन्द्र पूर्वी तराई भ्रमणका क्रममा जनकपुर पुगेका थिए । उनले माघ ९ गते राजा महेन्द्रमाथि प्रहार गरेका थिए । उनका साथी अरविन्द ठाकुर माघ ९ नै गते विशेष विमानबाट राजा महेन्द्र जनकपुर पुग्नुअघि नै विमानस्थलबाट बमसहित पक्राउ परेका थिए । बम हानेपनि महेन्द्रलाई लागेन उनी भाग्न सफल भए । बमकाण्डका नाममा निर्दोषहरूलाई प्रहरी र प्रशासनले दुःख दिन थालेपनि उनी नेपाल फर्केका थिए । 

२०२० भदौमा १

शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणाहरूले मृत्युदण्ड दिएको २३ वर्षपछि दुर्गानन्दलाई मृत्युदण्ड दिनुअघि प्रचलित मुलुकी ऐनमा संशोधन गरी एक शताब्दीभन्दा बढी अवधिसम्म दोषी बाहुनलाई मृत्युदण्ड नदिने मुलुक ऐनको व्यवस्थामा संशोधन ।

२०१९ भदौ १९

नेपालको तत्कालीन विशेष अदालतले कुनै सुनुवाइ नै नगरी दुर्गानन्दा झालगायत अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिने निर्णय । निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिए पनि विशेष अदालतकै निर्णय सदर गरियो ।

२०२० पुस १०

राजदरबारको पत्र प्रेषित । उक्त पत्र अनुसार दुर्गानन्दलाई प्रचलित कानुन अनुसार भन्दै अन्य दुईको मृत्युदण्डलाई जन्मकैदमा परिणत ।

२०२० माघ १

श्रीमती काशी देवी झा र आमा सुकमारी देवी दुर्गानन्द झालाई भेट्न काठमाडौँ आएका थिए । त्रिपुरेश्वरमा बसेका उनीहरूलाई महिला प्रहरीहरुले सादा कागजमा जवर्जस्ती औठा छाप लिएको थियो । 

२०२० माघ १५

काठमाडौँस्थित केन्द्रीय कारागारमा मध्यरातमा दुर्गानन्द झालाई गोली हानी मृत्युदण्ड । 

२०६४ साल

 शहीद दुर्गानन्द झाका पत्नी काशीदेवीलाई तत्कालीन तमलोपाले समानुपातिक तर्फबाट सभासद् बनायो ।

२०६६ असार 

सरकारले प्रस्तुत गरेको बजेटमा प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको नाममा उनको जन्मस्थल जटहीमा १० शैयाको अस्पताल बनाउने घोषणा । 

२०७२ फागुन १९

तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुर्गानन्द झालाई शहीद घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप