शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गरिबको चमेली बोल्दिने कोही छैन...

घाइतेलाई सहयोग माग्दा मुख्यमन्त्री राउतले भने, ‘त्यो मेरो निर्वाचन क्षेत्रभित्र पर्दैन’
शनिबार, १५ माघ २०७८, १६ : २८
शनिबार, १५ माघ २०७८

घटना माघ १० गते साँझ ६ः३० बजेको हो । बारा आदर्श कोतबाली–३ का लछु महराका छोरा जयराम बिहेका लागि उत्साहित थिए । जन्ती जाने तयारी भइरहेको थियो । ठूलो आवाजमा गीत घन्की रहेको थियो । त्यसको धुनमा नाचगान पनि भइरहेको थियो । 

दलित बस्तीमा भइरहेको बिहेले सबै जना खुसी थिए । रथमा चढेर बेहुला ब्रहमबाबाको पुजा गरेर फर्किरहेका थिए । रथ चलाइरहेका ड्राइभरलाई पिसाब लाग्यो । उनी रथ रोकेर पिसाब फेर्न झेरे । त्यतिकैमा स्थानीय प्रवीण ठाकुर रथमाथि चढेर रथलाई मोटर साइकलको साँचोले त्यसलाई स्टार्ट गरे । 

उनलाई रथ चलाउन आइरहेका थिएन । उनले जथाभाबी स्टेरिङ घुमाउन थाले । रथ अनियन्त्रित हुँदै अघि बढ्यो । रथ डिजेको धुनमा नाचीरहेकाहरुलाई कुल्चिँदै अगाडी बढ्यो । एकै छिनमा भागदौड मच्चियो । अन्त्यमा रथ एउटा रुखमा गएर ठोक्किएर रोकिए ।

एक छिनमा बिहेको माहौल युद्धभूमि जस्तो देखियो । जताततै घाइते, आफन्तको चिच्याहट ! एकछिन अघिको खुसीयाली रुवावासीमा परिणत भयो । त्यति बेलासम्म को मरे, को बाँचे, कसैले ठम्याउन सकिरहेका थिएनन् । कोही छटपटाई रहेका थिए, कोही बेहोस थिए । लछु रामले भन्छन्, ‘बाटोभरि सबै लडिरहेका थिए ।’

रातको समय थियो । आआफ्नो मान्छे पहिचान गर्दै घाइतेलाई उठाउँदै केही अस्पताल तिर दौडिरहेका थिए भने कोही त्यहीँ प्राथमिक उपचार गरिरहेका थिए । घाइतेमध्ये निर्मल कुमारी राम र बालकुमारी रामको घटनास्थलमै निधन भयो । र, त्यसबाहेक १४ जना घाइतेलाई अस्पताल पुर्‍याइयो । 

मेघु रामले भने, ‘त्यो घटनामा मेरो श्रीमती पनि घाइते भएकी छिन् । आर्थिक अवस्थाका कारण उपचार गराउन समस्या भइरहेको छ । तर कतैबाट कुनै सहयोग प्राप्त भएन । राज्यले हेर्नुपर्छ र सहयोग गर्नुपर्छ । तर आज घटना भएको पाँच दिन भइसक्यो, अहिलेसम्म हालचाल बुझ्नसमेत कोही आएनन् । 

मृतक र घाइतेमध्येका सबै दलित हुन् । उनीहरूको आर्थिक अवस्था राम्रो छैन । जनता समाजवादी पार्टी नेपालका युवा नेता सञ्जय यादव भन्छन्, ‘मृतक तथा घाइतेको एक धुर जमिन पनि छैन, दिनमा काम गरेपछि राति खाने अवस्था भएकाहरू हुन् । सबैले मजदुरी गरेर जिविका चलाइरहेका थिए । अचानक यस्तो घटना भयो, सबैको हालत खराब भएको छ ।’ घाइतेमध्ये त्रिपति रामको अवस्था खराब हुँदै गएपछि उनलाई काठमाडौ पठाउन लागिएको छ । 

बेहुलाका पिता लछु राम भन्छन्, ‘बिहे हुन लागेको जयारामलाई केही भएन । तर अर्को छोरा सीयारामको हालत खराब छ । अरुको हालत पनि त्यस्तै छ । आर्थिक अवस्थाका कारण उपचार गराउनमा पनि समस्या भइरहेको छ । रथवाला र रथ चलाउनेसँग अलिअलि रकम प्राप्त भए पनि १५–१६ जना घाइतेलाई उपचार गर्न गाह्रो भइरहेको छ । कहीँ कतैबाट कुनै सहयोग पाइरहेको छैन ।’

गाउँमा चन्दा संकलन गरेर त्रिपतिलाई थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको नेता यादवले रातोपाटीलाई बताए । देशमा संघीय, प्रदेश र स्थानीय सरकार छ । तर दलितलाई हेर्ने कोही भएन । ‘उनीहरूलाई आर्थिक सहयोगको आवश्यकता छ । उनीहरू घरबाट एक रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैनन् । तर यी दलितको पीडासँग तीनटै सरकार बेखबर छन् । प्रदेश तथा स्थानीय सरकार एउटा सानो भेटघाट कार्यक्रममा लाखौँ रुपियाँ खर्च गर्छन् तर अस्पतालमा छटपटाई रहेका दलितका लागि सहयोग गर्ने बजेट छैन,’ उनी भन्छन् ।

नेता यादवले भने, ‘मैले प्रदेश प्रमुखदेखि लिएर स्थानीय तहका प्रमुखसम्म गुहार मागे तर उहाँहरूले त्यति चासो देखाउनु भएको छैन ।’ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फोन गरेर सहयोगका लागि आग्रह गर्दा उनले त्यसरी सहयोग गर्न कुनै बजेट नरहेको प्रतिक्रिया आफूलाई दिएको उनले बताए । कतिपय स्थानीय प्रमुख, प्रदेश सांसद तथा संघीय सांसदहरूलाई पनि आग्रह गरे पन दलितलाई हेर्न आएका छैनन् । 

मधेस प्रदेश सरकारका दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले आफूलाई घटनाको बारेमा जानकारी भएको र यसको बारेमा मुख्यमन्त्री राउतसँग कुरा गर्दा उनले त्यो ठाउँ सरोज यादवको चुनावी क्षेत्रमा पर्ने भएकाले उनीसँग नै त्यस विषयमा कुरा गर्न आफूलाई भनेको बताए । ‘मुख्यमन्त्री राउतको क्षेत्रमा परे मात्र उनले सहयोग गर्ने हो त ?,’ उपाध्यक्ष बैठाले प्रश्न गरे, ‘मुख्यमन्त्रीजीले सानो कुरामा लाखौँ रुपैयाँ वितरण गर्नुहुन्छ तर आज उहाँ त्यो आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेको भन्दै पन्छिनुभएको छ ।’

आफूले प्रदेशसभाका सभापति सरोज यादवसँग पनि यस विषयमा कुरा गर्ने बताउँदै बैठाले भने, ‘समितिसँग त्यसरी सहयोग गर्ने कुनै बजेट छैन । तर कतै नकतैबाट सहयोग गराउने प्रयास गर्छु ।’ १४ जना घाइतेमध्ये छजनाको उपचार राज्यलक्ष्मी अस्पताल कलैयमा भइरहेको छ भने चारको उपचार वीरगञ्जको न्युरो अस्पतालमा भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप