शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नीतिकथा : क्षमाधर्मको चमत्कार

आइतबार, १६ माघ २०७८, ११ : ४७
आइतबार, १६ माघ २०७८

कसैले कुनै गर्‍यो भने सजायको सट्टा माफी दिनुलाई क्षमा भनिन्छ, जसलाई धर्मशास्त्रले ठूलो धर्म मानेको छ । क्षमा दुई किसिमको हुन्छ । शक्ति नभएर दिने क्षमा र शक्ति भएर पनि दिने क्षमा । शक्ति नभएर दिइने क्षमा सामान्य हो, जसले पनि दिन्छ, दिएको हुन्छ तर शक्ति भएर पनि दिइने क्षमा भने विशेष हुन्छ । यसैलाई नीतिशास्त्रले ठूलो धर्म मानेको हो, जुन जोकोहीको वशमा हुँदैन । यसका लागि मन ठूलो हुनुपर्छ, छाती फराकिलो । यस्ता मानिस महान् हुन्छन्, सितिमिति भेटिँदैनन् ।

प्रसङ्ग महाभारतको हो । जुवा हारेर वनबासमा रहनुपरेको बेला महारानी द्रौपदीले बिलौना गर्दै भनिन्–

‘महाराज ! भारी सभामा दुर्योधन र उनका भाइहरूले मेरो त्यति ठूलो बेइज्जती गरे । उनीहरूकै कारण सर्वस्व त्यागेर वनबासमा आउनुप¥यो । तैपनि हेरिरहनुभयो । बिरुद्धमा एकशब्द बोल्नुभएन । प्रतिवाद गर्ने शक्ति नभएर भन्न त सक्दिन किनकि तपाईँहरू उनीहरूभन्दा सयौँ गुणा बढी शक्तिशाली हुनुहुन्छ तर कारण भने अहिलेसम्म पनि बुझ्न सकेकी छैन ।’

‘क्षमाधर्म महारानी !’ द्रौपदीको बिलौना सुनेर युधिष्ठिरले लामो सास फेर्दै भने–

‘दुर्योधनहरू क्रोधी थिए । जे थियो त्यही दिए, जस्ता थिए त्यस्तै गरे तर म त्यस्तो छैन । क्षमाधर्मले बाँििधएको छु । अर्कोले यस्तो ग¥यो, उस्तो ग¥यो भनेर आफ्नो धर्म छाड्न सक्दिन । मसँग जे थियो त्यही दिएँ, जस्तो थिएँ त्यस्तै गरेँ, जुन कुरा तिमीलाई पनि थाहा हुनुपर्छ भन्ने ठान्छु ।’

‘तपाईँ जहिले पनि यस्तै भन्नुहुन्छ ।’ मलीन अनुहार लगाउँदै द्रौपदीेले भनिन्–

‘थाहा छैन आफूमाथि त्यति ठूलो अन्याय गर्नेलाई पनि क्षमा गर्ने तपाईँको यो कस्तो धर्म हो । लौ मानौँ एकछिनलाई तपाईँको यो स्वधर्म नै हो रे तर नीतिशास्त्रमा आइलाग्नेमाथि जाइजाग्नुलाई पनि धर्म नै हो भनिएको छ । त्यसलाई चाहिँ के भन्नुहुन्छ नि ?’

‘कुरा त्यति मात्र पनि होइन !’ युधिष्ठिर सम्झाउने प्रयास गर्दै भने–

‘तिमीले ठीकै भन्यौ, आइलाग्नेमाथि जाइलाग्नुपर्छ, यो पनि धर्म नै हो तर त्योभन्दा ठूलो धर्म क्षमाधर्म हो, जसको बन्धनमा बाँधिएको छु ।’

‘रुखो कुरा गर्नुपरेकोमा माफी चाहन्छु महाराज !’ द्रौपदीले सुकसुकाउँदै भनिन्–

‘तपाईंको धर्मले के ग¥यो र त्यस्तो, जसलाई ठूलो धर्म भनेर मानौँ ? आफैँ राजा हुनुहुन्थ्यो । इन्द्रप्रस्थको गद्धीमा बस्नुभएको थियो । दुनियाँले मान्थे । रातदिन, साँझबिहान हरबखत सयौँ मानिस अघिपछि लाग्थे, ज्यूहजुरी गर्थे तर अहिले त्यही क्षमाधर्मकै कारण निर्जन स्थानमा एक्लै बस्न वस्न आउनुभएको छ । दुःखसुख सोध्न एउटै व्यक्ति छैनन् । म आफैँ द्रुपद राजाकी छोरी याज्ञसेनी हुँ, जसका दाजु धृष्टद्युम्नजस्ता महारथि छन्, जसका पति नामै सुन्दा संसार काम्ने पाण्डवहरू छन् । तैपनि वनमा कन्दमूल खोज्न र बिहान बेलुकाको जुठोचुलोमै दिन काट्न वाध्य भएकी छु । भीमसेन, जसको बाहुमा दशहजार हातीको बल छ, उनको दिन घाँस दाउरामा बितेको छ । गाण्डीवधारी अर्जुन, जो अद्वितीय धनुर्धर मानिन्छन् उनको अवस्था त्यस्तै छ, नहकुल र सहदेवको अवस्था त्यस्तै छ । फेरि पनि त्यही धर्मलाई ठूलो धर्म भन्नुहुन्छ भने तपाईँको धर्म चाहिँदैन भो, आफैँसित राख्नुस् ।’

‘अवस्थालाई बुझ्ने प्रयास गर महारानी !’ युधिष्ठिरले थप सम्झाउने प्रयास गर्दै भने–

‘तिमीले एउटा पाटोलाई मात्र हे¥यौ । अर्को पाटो हेरिनौ । हो, रूपमा त्यही हो, जो तिमी भनिरहेकी छ्यौ तर सारमा कुरो अर्कै छ । उनीहरूका चुरीफुरी क्षणिक हो । हेर्दै जाऊ समय आएपछि चुरीफुरी मात्र होइन उनीहरू नै सकिनेछन् । त्यतिबेला थाहा पाउनेछ्यौ क्षमाधर्मको शक्ति कति हुन्छ भन्ने कुरा ।’

‘आजमरी भोलि औषधी भनेको यही हो ।’ द्रौपदीेले कडा प्रतिवाद गर्दै भनिन्–

‘यति ठूलो अन्याय सहनु पनि धर्म हो भने पाप केलाई भन्ने ? हरेक कुरा अवस्थामा भरपर्छ । दान गर्नु धर्म हो भन्दैमा बेलुका खाने दानसमेत दिएर पठाउनु पनि धर्म हुन सक्छ र ? यस्तो कार्य धर्म होइन भनेर शुक्राचार्यले सम्झाउँदै सम्झाउँदै वामन भगवान्लाई सर्वस्व दान गर्ने राजा बलिको अवस्था के भयो थाहा छैन ? समय अनुसार क्षमा पनि दिनुपर्छ दण्ड पनि दिनुपर्छ । जसलाई पनि क्षमा दिँदै जाने हो भने कमजोर ठान्छन् र घरमै पालेका नोकरले समेत टेर्न छाड्नेछन् । क्षमा दिने भनेको सज्जनलाई हो, बदमासलाई होइन । त्यो पनि अनजानमा भएको गल्ती छ भने । कसैले जानीजानी गल्ती गर्छ भने उसलाई दण्डित गर्नैपर्छ । यसले उसैको लागि पनि भलो गर्छ ।’

‘हरे ! महारानी ! तिमीलाई कसरी सम्झाउँ ।’ खुइय गर्दै युधिष्ठिरले भने–

‘जसले गल्ती गर्छ उसले सँजाय भोग्नैपर्छ । कसैले पनि अरूले गल्ती ग¥यो भन्दैमा स्वधर्मलाई छाड्नुहुँदैन । स्वधर्म पालन गर्नेको रक्षा सोही धर्मले गर्छ । धर्मशास्त्रमा ‘धर्मोरक्षति रक्षितः’ भनिएको छ । यो भनेको स्वधर्मको रक्षा गर्नेलाई धर्मले नै रक्षा गर्छ भन्ने हो । हो, अन्याय सहन गाह्रो हुन्छ तर जसले सहन सकेको छ, अन्ततः जित उसैको हुन्छ । किनकि उसको साथमा क्षमा धर्म रहेको हुन्छ ।’

त्यसपछि द्रौपदी चुप लागिन् । युधिष्ठिरको कुरामा चित्त बुझेर चुप लागिन् कि यिनीसँग बहस गर्नु बेकार छ भनेर लागिन् उनै जानून् तर अन्ततः त्यस्तै भयो, जुन युधिष्ठिरले भनेका थिए । साथमा १०० भाइको बल भए पनि महाभारतको युद्धमा दुर्योधनहरूले पाँच भाइ पाण्डवसँग हार्नु मात्र परेर एकएक गरी उनीहरूकै हातबाट सकिनुसमेत प¥यो । कारण उनीहरूका साथमा भगवान् कृष्ण थिए, जो धर्मका मूर्ति थिए, धर्मस्थापन गर्नकै लागि आएका थिए । जहाँसम्म पाण्डवहरूले भगवान् कृष्णले साथ पाउनुको कारण छ त्यसको मूलमा भने युधिष्ठिरको यही क्षमाधर्म पालन नै रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप