शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावअघि नै गठबन्धन टुटाउनु ओलीको बाध्यता !

गोकुल बाँस्कोटा भन्छन् – हामीलाई कुनै सरोकार छैन
बिहीबार, २० माघ २०७८, १७ : ५६
बिहीबार, २० माघ २०७८

काठमाडौं ‘गठबन्धन टुटाउने प्रयास भयो, बचाउने प्रयास गर्‍यौँ । अहिले पनि भत्काउने प्रयास भइरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिँदैछ’, गत साउन ९ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘ ठूलै लडाइँ जितेर संविधानको रक्षा गर्ने ठाउँमा त आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्ताका साथ सामना गर्नुछ, सजिलो छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ६ महिनाअघि गरेको यो आकलनभन्दा फरक स्थिति अहिले पनि देखिएको छैन । त्यसैले अहिले पनि अध्यक्ष प्रचण्डले बारम्बार सोही किसिमको अभिव्यक्ति दिन छाडेका छैनन् ।

यो स्वभाविकै हो कि आफ्नो नेतृत्वको सरकार हटाउन बनेको गठबन्धन र उक्त गठबन्धनमार्फत बनेको सरकारप्रति नेकपा एमालेको दृष्टिकोण सकारात्मक छैन । त्यसैले उसले लगातार संसद् चल्न नदिएर होस् वा एमसीसीमा मौनता साँधेर नै किन नहोस्, सत्ता गठबन्धन टुटाउने र सरकारलाई असफल पार्ने घोषित प्रयास गरिरहेको छ ।

प्रचण्डले जस्तै गठबन्धनका अन्य नेताहरू पनि राष्ट्रिय– अन्तर्राष्ट्रिय शक्ति मिलेर गठबन्धन भत्काउन चाहिरहेको भन्दै सशङ्कित छन् । उनीहरूका बारम्बार आउने अभिव्यक्तिले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको छ भन्नेतर्फ संकेत गर्छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि गठबन्धन फुटाउन र टुटाउन सबैखाले शक्ति लागिरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यो गठबन्धनलाई तोड्न अनेकखाले देशी–विदेशी शक्तिहरू टाउको टेकेर लागेका छन्’, खनालले रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘तर जतिसुकै टाउको टेकेर लागे पनि उनीहरूको चाहनामा तुषारापातबाहेक केही हुँदैन, गठबन्धन दृढतापूर्वक अघि बढ्छ ।’

नेता खनालको बुझाइमा गठबन्धन टुटाउने प्रयासमा केपी ओलीको अर्जुनदृष्टि रहे पनि त्यो सफल हुनेछैन । ‘निश्चित राजनीतिक, संवैधानिक उद्देश्य, लोकतान्त्रिक मूल्य र मान्यताका उद्देश्य प्राप्त गर्न गठबन्धन बनाइएका हो, त्यसो भएकाले यो गठबन्धन कुनै हालतमा पनि टुट्दैन’, नेता खनालको विश्वास छ ।

गठबन्धन टुट्ने हल्लाका बीच बुधबार नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खनालकै जस्तो अभिव्यक्ति दिए । उनले भने,  ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस्, यो गठबन्धन टुट्नेवाला छैन ।’

गठबन्धन टुटाउनु एमालेको बाध्यता

विश्लेषकहरुका अनुसार चुनावको मुखमा प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेले सत्तारुढ गठबन्धन फुटाउन आफ्नो सबै शक्ति प्रयोग गर्न खोज्नु स्वाभाविकै हो । तथापि, यो गठबन्धन टुट्ने वा रहने सरकारकै क्रियाकलापमा भर पर्ने देखिन्छ ।

राजनीतिक विश्लेषक प्राडा. लोकराज बराल प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन टुटाउन गर्ने प्रयासलाई राजनीतिक अर्थमा सामान्य मान्नुपर्ने बताउँछन् । ‘आफ्नो पार्टी फुटाएको र काँग्रेसको नेतृत्वमा सरकार बनाएकोमा एमाले सन्तुष्ट हुने कुरा भएन । त्यसैले सरकार र गठबन्धनका विरुद्ध उभिनु स्वाभाविक हो’, विश्लेषक बरालको भनाइ छ ।

एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत दोहोरो दबाबमा रहेको भन्दै उनले एमसीसीमा निकास दिने जिम्मेवारी देउवाकै भएको बताए । देउवाको यही सोच गठबन्धनमा समेत प्रकट भएकाले गठबन्धन टुट्ने आशंका हुन थालेको बताउँदै उनले भने, ‘देउवा पनि निकम्मा भएर बस्न भएन, बाटो त निकाल्नुपर्यो । त्यही भएर एमसीसीलाई संसदसम्म पुर्याउन पाए जे हुन्छ, त्यहीँबाट हुन्छ भन्ने सोच देउवाजीको हुन सक्छ ।’

एमाले अध्यक्ष ओलीले पनि कि पार्टीले हटाएका सांसदलाई हिसाब गरेर बनाएको माधव नेपालको पार्टी अवैध करार गर्नुपर्‍यो, कि सभामुखले राजीनामा दिनुपर्यो भनेर अत्तो थापिरहने संकेत देखिएको बराल बताउँछन् । ‘यही वा अन्य कुनै मुद्दामा गठबन्धन फुटाउन सकियो भने आफूलाई राजनीतिक फाइदा हुने एमालेको लाइन प्रस्टै देखिन्छ’, उनको विश्लेषण छ ।

विश्लेषक बरालको भनाइमा आफैंले सुरु गरेको एमसीसीबारे देउवाले प्रष्ट लाइन लिनुपर्छ । तर, गठबन्धन टुटे पनि, नटुटे पनि एमालेसँगै काँग्रेसको प्रतिस्पर्धा हुने भएकाले यो गठबन्धन रहनु र टुट्नुमा देउवालाई खासै धेरै नाफा नोक्सान नहुने उनको दाबी  छ । उनी भन्छन् ‘देउवालाई पनि प्रचण्ड र माधव नेपालसँग किन सती जानु छ र ?’  

ओलीको अर्जुनदृष्टि

आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुँदैछ । अघिल्लो चुनावमा झण्डै एक्लै ४५ प्रतिशत स्थानीय तहमा प्रतिनिधि जितेको एमालेलाई अबको चुनावमा पनि त्यो हैसियत कायमै राख्नुपर्ने बाध्यता छ ।

आफ्नो पार्टीबाट अलग भएर फरक पार्टी गठन गरेका माधव नेपाल र आफ्नो सरकार हटाएर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउँदा पनि आफ्नो शक्ति कमजोर नभएको स्थानीय चुनावबाट एमालेलाई पुष्टि गर्नुपर्ने अर्को बाध्यता छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेको भन्दै एमालेले सरकार र गठबन्धनविरुद्ध आन्दोलन नै घोषणाको तयारी गरिसकेको थियो । सरकारले ऐन संशोधन गरेर स्थानीय तह निर्वाचन पर धकेल्ने प्रयास गर्दैगर्दा एमालेले त्यसको चर्को विरोध गर्‍यो । अन्ततः निर्वाचन आयोगले चुनावको नयाँ मिति (जेठ ४) प्रस्ताव गरिसकेको छ । यद्यपि सरकारले मिति घोषणा गर्न बाँकी नै छ ।

चुनावको मिति तोक्न माग गर्ने आन्दोलनको गृहकार्यबाट एमाले एक कदम पछाडि हटेको छ तर अब उसले आफ्नो शक्ति निर्वाचनतर्फ नै केन्द्रित गर्ने देखिन्छ । स्थानीय चुनाव हुने भएपछि अब एमालेले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न  गठबन्धन तोड्ने अन्य उपायको खोजी भने जारी नै राख्ने देखिन्छ ।

एमालेले आफूबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको बैधतामा प्रश्न उठाइरहने देखिन्छ । यसका लागि उसले सभामुख अग्नि सापकोटालाई अपदस्त गर्न चाहेको छ । यहीबेला चर्किएको एमसीसी प्रकरणमा काँग्रेसलाई सहयोग गर्ने बचन दिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई फकाउन सकिन्छ कि भन्ने एमाले अध्यक्ष ओलीको मनोविज्ञानले काम गरेको कतिपयको बुझाइ छ ।

एमालेले भित्रीरुपमा हरहमेशा गठबन्धन टुटाउने प्रयत्न गरिरहेको बताइन्छ । काँग्रेसलाई कमजोर पारेर आगामी चुनावमा एमालेलाई श्रेष्ठ बनाउन ओलीले माओवादीलाई पनि फकाउन सक्ने विश्लेषकहरू बताउँछन् । यही कारणले गर्दा एमाले र माओवादी मिल्ने पो हुन् कि भन्ने काँग्रेस नेताहरुमा डर पसिसकेको छ ।   

हामीलाई सरोकार छैन : गोकुल बाँस्कोटा

एमाले पोलिटब्युरो सदस्य तथा अध्यक्ष केपी ओलीनिकट मानिएका नेता गोकुल बाँस्कोटा गठबन्धन टुट्ने र फुट्ने कुरा एमालेको कुनै सरोकारको विषय नभएको टिप्पणी गर्छन् ।

के एमालेले गठबन्धन फटाउन लागेको हो ? भन्ने प्रश्नमा बाँस्कोटा यसमा कुनै साइनो सरोकार नै नभएको बताउँछन् । उनी भन्छन् ‘प्रस्ट छ, त्यसमा हाम्रो साइनो सरोकार नै छैन ।’ गठबन्धन फुटोस, रहोस् बचोस्, सरोकार नभएको भन्दै एमालेको सरोकारको विषय भनेको जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा मात्रै रहेको बताए ।

‘हाम्रो सरोकारको विषय स्थानीय तहको म्याद जेठ ५ मा सकिने भएकाले त्यसअघि नै निर्वाचन हुनुपर्छ र संविधानको प्रबन्धअनुसार सरकार चल्नुपर्छ । सरकारले संविधान मिच्न पाउँदैन’, बाँस्कोटाको भनाइ छ । त्यस्तै उनले जनताको मताधिकारको अपहरण पनि गर्न नपाइने बताए । ‘सरकारले आम निर्वाचन पनि गर्नुपर्‍यो । फागुन वा चैतमा गर्छु भनेर सत्ताको सुविधा अनुसार निर्वाचन हुने होइन’, पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले गठबन्धनबारे भने, ‘गठबन्धनको जग नै कमजोर छ । उत्तर र दक्षिणको दृष्टिकोण बोकेर सरकार र गठबन्धन कसरी चल्छ ? काँग्रेस एमसीसी पास गर्ने, माओवादी फेल गर्ने । उनीहरुमा संशय त्यही पैदा भयो । आफुतिरको समस्या एमालेतिर फर्काउनुको कुनै तुक छैन र हामीलाई मतलब पनि छैन । हामी त यो संसद्ले कामै गर्न सक्दैन भनिरहेका छौँ ।’

एमालेले संसद् अवरोध गर्‍यो भन्ने कुरा पनि नक्कली भएको बाँस्कोटाले  बताए । ‘के कुरा पास हुन बाँकी छ र, केही रोकिएको छ र ?’ उनको प्रश्न छ ।

एमसीसी पास गर्न काँग्रेस र एमाले मिल्न लागेको चर्चामा सत्यता छैन त ? भन्ने प्रश्नमा बाँस्कोटाले प्रतिप्रश्न गर्दै भने, ‘२०२१ सेप्टेम्बर ३ मा शेरबहादुर देउवा र प्रचण्डले एमसीसीका विषयमा अमेरिकनलाई लेखेको प्रश्नको जानकारी संसद्, जनता र राष्ट्रलाई जानकारी चाहियो ।’

बाँस्कोटाले प्रचण्ड स्वयंले एमसीसी पास गर्छु भनेर बचन दिएको दाबी गर्दै त्यो प्रमाण खोतल्न सञ्चार माध्यमलाई सुझाव दिए । उनले यो देशको हितमा भए एमसीसीको पक्षमा लाग्ने र विपक्षमा भए नलाग्नेमा एमाले प्रस्ट भएको दाबी गरे ।

‘यो देशको हित हुन्छ हामी जोसँग पनि सम्झौता गर्छौ, हित हुँदैन गर्दैनौँ’, उनले संसद्मा एमसीसी टेवल गर्न चुनौती दिँदै भने, ‘संसद्मा ल्याउनुपर्‍यो । सडकबाट रोटी सेकाएर हुन्छ ?’

एमाले नेता बाँस्कोटाले एमसीसी पास गर्ने वा फेल गर्ने भन्ने कुरा सार्वभौम संसदको विषय रहेको बताए । माओवादी पार्टीको कोटरीमा पाक्ने कुरा सभामुखले संसद्मा पेस गर्ने विषय नभएको भन्दै काँग्रेसको सानेपामा उम्लने त्यही कुरा संसद्मा पनि उम्लन नसक्ने बताए ।  उनले एमाले नेतृत्वको सरकारले एमसीसीका डकुमेन्ट लुकायो भनेर लगाएको आरोपमा कुनै तथ्य नरहेको दाबी समेत गरे ।

केपी ओलीलाई एमसीसीको पक्षधर भनेर खेदिएको बताउँदै बाँस्कोटाले भने, ‘केपी ओली एमसीसीमा कसैको पक्षधर पनि होइनन्, जसरी हिजो महाकालीमा खेदे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप