बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्क्रमण दर घटे पनि किन बढ्दै छ मृतक सङ्ख्या ?

सोमबार, २४ माघ २०७८, ०७ : ४८
सोमबार, २४ माघ २०७८

नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण दर घटे पनि मृत्यु दर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक साताको तथ्याङ्कलाई केलाउँदा दैनिक ७ जनादेखि १६ जनासम्मको मृत्यु भएको छ । सङ्क्रमणकै कारण माघ १ गतेदेखि २१ गतेसम्म २०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सङ्क्रमित अस्पताल भर्ना हुने दर घटेको छैन । 

सरकारले माघको तेस्रो सातादेखि सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेअनुसार कम हुँदै गए पनि मृत्यु दरमा भने कमी आएको छैन । वीर अस्पतालका डा. प्रज्वल श्रेष्ठ कोभिड वार्डको आईसीयूमा भर्ना हुने दीर्घरोगी र वृद्धावृद्धाको सङ्ख्यामा कमी नआएको बताउँछन् ।

‘पछिल्लो दुई तीन सातादेखि सङ्क्रमित भई अस्पतालका आईसीयूमा भर्ना भएका बिरामी भेन्टिलेटर पुगेका छन्,’ डा श्रेष्ठ भन्छन्, ‘भेन्टिलेटरमा पुगेकाहरूको मृत्युका कारण पछिल्ला दिनमा मृतकको सङ्ख्या बढेको हो ।’ जति सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन्, उनीहरू मिर्गौला, क्यान्सर, कलेजो, छातीसम्बन्धी गम्भीर समस्या भएका बिरामी पनि हुन् ।  

उता पाटन अस्पतालका डा. आशिष श्रेष्ठले पनि अस्पतालमा कोरोना परीक्षण गर्ने सङ्ख्यामा कमी भएपनि आईसीयूमा भर्ना सङ्क्रमण दरमा कमी नआएको बताए । ‘अघिल्ला महामारीमा श्वासप्रश्वास तथा छातीको समस्या आएर आईसीयूमा भर्ना भएका थिए,’ उनले भने, ‘अहिले अन्य दीर्घरोगी, ज्येष्ठ नागरिक बढी भर्ना भए ।’

यस्तो छ सङ्क्रमित र मृतकको अवस्था 

स्रोतः स्वास्थ्य मन्त्रालय

कुन उमेर समूहका कतिको मृत्यु ?

नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ८१४ जनाको ज्यान गइसकेको छ । यसमा ९ वर्ष मुनिका ५० जना बालबालिकाको, १० देखि १९ वर्ष समूहका ५७ जनाको ज्यान गएको छ । यस्तै, २० देखि २९ वर्ष उमेर समूहका ३६९ जनाको मृत्यु भएको छ भने ३० देखि ३९ वर्षसम्मका ९५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

त्यस्तै, ४० देखि ४९ वर्षसम्मका १६ सय ५३ को मृत्यु भएको छ भने  ५० देखि ५९ वर्ष उमेर समूहका २२ सय ७९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण ६० देखि ६९  वर्ष समूहका २४ सय ७६  को, ७० देखि ७९ वर्षसम्मका २३ सय ४१ जनाको, ८० वर्षभन्दा माथिका १६०० जनाको मृत्यु भएको छ । र, १३ जना अज्ञात उमेर समूहको मृत्यु भएको छ । 

मृत्यु हुने बढी दीर्घरोगी र ६० वर्ष काटेका

पछिल्लो ओमिक्रोन भेरियन्ट सङ्क्रमणकै कारण मात्रै सङ्क्रमितको मृत्यु नभएको चिकित्सकहरू जिकिर गर्छन्  । पछिल्लो समय मृत्यु हुनेमध्ये ५० देखि ८० वर्ष उमेर समूहका, जटिल स्वास्थ्य समस्या भएका, दीर्घरोगी र कोरोनाभाइरस विरुद्धको खोप नलगाएकाहरुको मृत्यु भएको पाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् । उनले भने, ‘मृत्यु हुने प्रायः दीर्घरोगी, खोप नलगाएका छन्, त्यसलै खोप नलगाएकाहरूले खोप केन्द्रमा पुगी तत्काल खोप लगाऔँ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.शेर बहादुर पुनका अनुसार तेस्रो लहरको पहिलो चरणमा घरबाहिर निस्कने ठूलो सङ्ख्यामा सङ्क्रमित भए । त्यसपछि उनीहरूबाट घर घरमा बसेका दीर्घरोगी, स्वास्थ्यमा जटिल अवस्था सिर्जना भएका र ज्येष्ठ नागरिक सङ्क्रमित भएका छन् ।

ओमिक्रोन भेरियन्ट सङ्क्रमण हुँदा स्वास्थ्य जटिलता आउँदैन भनेर बेवास्ता गरिरहँदा घर भित्रका ज्येष्ठ नागरिक, दीर्घरोगीलाई परिवारकै सदस्यले जोगाउनुतर्फ ध्यान दिन अति आवश्यक रहेको  सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् ।

कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले पछिल्ला दिनका मृत्यु दरले अझै उच्च सतर्कता अपनाउनुको विकल्प नभएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप