प्रेरक व्यक्तित्व

कसरी बनेका थिए क्षत्रीय राजा विश्वरथ महर्षि विश्वामित्र ?

person explore access_timeमाघ २५, २०७८ chat_bubble_outline0

महर्षि विश्वामित्रको नाम सबैले सुनेका छौँ । उनलाई कौशिक ऋषि पनि भनिन्छ । कुशिक कुलमा जन्मेकाले कौशिक भनिएको हो । उनी नेपालको भूमिपुत्रमा पनि पर्छन् । उनको जन्म पूर्वीनेपालको कुनै कुनामा भएको हो भन्ने आम बुझाइ छ । उनको आश्रम नजिककी नदीलाई कौशिकी भनिन्छ । कौशिकको आश्रम नजिक बग्ने भएकीले कौशिकी भनिएको हो, जसलाई हिजोआज कोशी भन्ने गरिएको छ ।


मूलतः विश्वामित्र वैदिक ऋषि हुन् तर पौराणिक ग्रन्थहरूमा पनि राम्रै चर्चा पाउने महर्षिमा पर्छन् ।  ऋग्वेदको तृतीय मण्डलका सूक्तहरू उनकै देन हुन्, जसमा ६२ वटा सूक्त र ६३९ मन्त्र छन् । हाल जसलाई गायत्री महामन्त्र भनेर उपासना गर्ने गरिएको छ त्यसको द्रष्टासमेत उनै हुन् । यस मन्त्रलाई उनले ऋग्वेद मण्डल तीन, सूक्त ६२ को दसौँ नम्बरमा गुम्फन गरेका छन् ।



विश्वामित्रको वास्तविक नाम विश्वरथ हो । उनको जन्म क्षत्रीय राजकुलमा भएको थियो । उनका बाबुका नाम भने गाधीराज थियो, जो तत्कालीन समाजको जानेमाने प्रशासकमा पर्थे । बाबुको मृत्युपछि पैतृकगद्धी त समाले तर त्यतिमै सीमित हुन भने चाहेनन्, सकेनन् र दिग्विजयका लागि निस्के । हुन पनि उनी यति बढी पराक्रमी थिए कि उनको नाम सुन्नेबित्तिकै तत्कालीन भूगोलका राजामहाराजाहरू सिंहको शब्द सुनेर भागेका व्याँसाहरूले जस्तै भागाभाग गर्थे । यही शौर्य र बहादुरीका कारण उनले चाँडै नै आर्यावर्तका अधिकांश भूभागमा आधिपत्य कायम गराएका थिए । 



एक पटकको कुरा हो वनविहार गर्न गएको बेला केही बेर विश्राम गर्न ब्रह्मर्षि वसिष्ठको आश्रम छिरेका थिए । वसिष्ठ तत्कालीन ऋषि समाजका प्रमुखमा पर्थे । उनका अगाडि भूमण्डलका सबै राजामहाराजाहरू शिर झुकाउँथे । कुनै पनि विशेष काममा उनको सहमति आवश्यक हुन्थ्यो । अन्यथा त्यसले आधिकारिकता नै पाउन सक्दैन थियो तर उनी आफैँ भने साधारण आश्रमवासी जीवन व्यतीत गर्दै आएका थिए । घमन्ड र अहङ्कार कुन चराको नाम हो भन्नुपर्ने अवस्था थियो । 

आश्रममा अकस्मात् दलबलसहित सम्राट् विश्वरथको उपस्थिति देखेर वसिष्ठले खुसी व्यक्त गर्दै तत्कालै स्वागतसत्कार तथा यथेष्ठ मिष्टान्न भोजनले तृप्त पारी आउनुपर्नाको कारण सोधे ।

आउनुको खासै कारण त थिएन तर ...।’ विश्वरथले आश्चर्य मान्दै भने–

‘महर्षिजी ! के चमत्कार हो यो ? जादू भनौँ कि टुनामुना ? हामीले आउँदैछौँ भनेका पनि थिएनौँ । खानपानको व्यवस्था गर्न भनिएको पनि थिएन तर यति छोटो समयमा यतिका मानिसलाई त्यो पनि यथेष्ठ मिष्टान्न भोजनले तृप्त पाने काम कसरी सम्भव भयो ।’

‘जादूसादु केही होइन महाराज ! वसिष्ठले विनम्रतापूर्वक उत्तर दिए–

‘म त निमित्त मात्र हुँ । जे भएको छ यिनै कामधेनुको कृपा हो । उनकै कृपाले जतिबेला भन्यो त्यतिबेला, जति भन्यो त्यति र जस्तो भन्यो त्यस्तै चीज प्राप्त गर्छु र पो अतिथिसेवा गरी गृहस्थीधर्म निर्वाह गर्न सकेको छु महाराज ! नत्र त हामी जस्ता आश्रमवासीको पासमा के नै हुन्छ र ।’

वसिष्ठको कुरा सुनेर विश्वरथमा लोभ जाग्यो । उनले आफ्नो र आश्रमको समेत मर्यादाको ख्यालै नगरी भने–

‘ओहो ! महर्षिजी ! त्यस्तो गाई त राजाको दरवारमा पो हुनुपर्छ त ? ऋषिआश्रममा के काम ? आश्रमै चलाउनु न हो ? यो त सामान्य गाईबाटै भइहाल्छ नि । त्यसैले ती गाई मलाई दिनुस् बरू सट्टामा मन लागेको चीज माग्न सक्नुहुन्छ ।’

विश्वरथको कुरा वसिष्ठलाई मन परेन तर त्यति ठूला सम्राट् सिधै नकार्न पनि सकेनन् र टोलाउन लागे । विश्वरथलाई वसिष्ठको अवस्था बुझ्न बेर लागेन । त्यसपछि खोसेर भए पनि लान्छु भन्दै वसिष्ठमाथि जाइलागे तर उनको ब्रह्मतेजको अगाडि विश्वरथको केही लागेन । समग्र सैन्यबल लगाउँदा पनि एक्लो वसिष्ठलाई हल्लाउन नसकेपछि उनी आफ्नो राजसिक बललाई धिक्कार्दै तपस्या गर्न हिँडे । 

कठोर तपस्या गरी क्षत्रिय राजा विश्वरथबाट महर्षि विश्वामित्र बनेर राजधानी त फर्के तर त्यतिबेलासम्म उनको राज्य सयौँ टुक्रामा विभाजित भइसकेको थियो । त्यसैले वनमै आश्रम जीवन व्यतीत गर्दै वसिष्ठसँग टक्कर लिन थाले । यही क्रममा उनीबाट वैदिक ऋचाहरू रचन भएका मात्र थिएनन् समाजसुधारका क्षेत्रमा समेत थुप्रै काम भएका थिए ।  

त्यतिबेलासम्म सशरीर स्वर्ग जाने अवसर कसैले पनि पाएका थिएन् तर विश्वामित्रले तपोबलले त्यो पनि सम्भव गरेर देखाए । उनी तपस्या गर्न गएको बेला सत्यव्रत नामक राजाले उनको परिवारलाई बचाएका थिए । त्यसको सट्टामा उनले सत्यव्रतलाई सशरीर स्वर्ग पठाउने काम गरे । देवताहरूका अस्वीकृतिका कारण तत्काल त्यो सम्भव नभए पनि अन्तरिक्षमा अर्कै लोक खडा गरी सत्यव्रतलाई बसाउन भने कसैले रोक्न सकेन । 

राजा हरिश्चन्द्रको यज्ञमा नरवलीको परम्परा तोडेपछि बढेको उनको लोकप्रियता शिला बनेर बसेकी गौतमपत्नी अहल्याको उद्धारपछि थप चुलिएको थियो । तैपनि वसिष्ठले भने यसलाई आधिकारिकता दिएका थिएनन् ।

वसिष्ठ जीवित रहुन्जेल आफ्नो कामको मूल्याङ्कन होला जस्तो नलागेकाले एकदिन साँझ उनी वसिष्ठलाई सदाका लागि विदा गर्छु भन्दै चक्कु लिएर हिँडे । वसिष्ठ दम्पत्ती भने त्यतिबेला पनि विश्वामित्रकै प्रशंसा गरिरहेका थिए ।

जब उनले आफ्नो अनुपस्थितिमा पनि आफ्नै प्रशंसा भइरहेको सुने त्यसपछि पो झल्याँस्स भए र घमन्ड र अहङ्कार त्यागी वसिष्ठको पाउमा परे । वसिष्ठले पनि तत्कालै ‘उठ्नोस् बह्मर्षिजी !’ भन्दै ब्रह्मर्षिको पद प्रदान गर्ने काम मात्र गरेनन् सप्तऋषिमण्डलमा समेत नियुक्त गरी थप उचाइ प्रदान गरे ।

यसरी विश्वामिमा जबतक घमन्ड अहङ्कार थियो तबतक उनको योगदानको समेत मूल्याङ्कन हुन सकिरहेको थिएन तर जब घमन्ड र अहङ्कार त्यागे त्यसपछि भने पहिलेदेखि चाहदै आएको ब्रह्मर्षिको पद मात्र पाएनन् कल्पनै नगरेको सप्तऋषिमण्डलमा समेत स्थान पाउन सफल भए । आज उनको भौतिक शरीर त छैन तर देन भने सप्तर्षि तारा बनेर अहिले पनि चम्किरहेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।