शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापा भन्छन्: राप्रपाले राजतन्त्रको पक्षमा वकालत गर्ने नैतिक धरातल र तर्क कमजोर भयो

मङ्गलबार, २५ माघ २०७८, १५ : २५
मङ्गलबार, २५ माघ २०७८

पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्यागेका छन् । उनले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका थिए । थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विगतदेखि राप्रपाले उडाउँदै आएको राजतन्त्रको एजेण्डाका तर्कहरू कमजोर भएको बताएका छन् । उनले पार्टीको आन्तरिक विषयमा राजा, राजाको सचिवालय र निर्मल निवासबाट भएको हस्तक्षेपले राप्रपाले उठाएको राजतन्त्रको एजेण्डाको नैतिक धरातल नै कमजोर भएको बताए ।

विगत देखि नै राप्रपा सक्रिय राजतन्त्रको पक्षमा नरहेको भन्दै थापाले निर्मल निवासले पटक पटक राप्रपाको आन्तरिक गतिविधिमा हस्तक्षेप गर्दै आएको उनको भनाई छ । राप्रपालाई कमजोर पार्ने काम राजाबाट नै भएको भन्दै यसको फाइदा अन्य दलहरूलाई पुगेको उनले बताए ।

‘राप्रपालाई कमजोर बनाउने काम राजाबाट नै भयो । यसको फाइदा कसलाई भयो त ? हिजो हामीले शून्यबाट सुरु गरेको पार्टी आज यो स्थान सम्म ल्याएका थियौ । यसका लागि कयौँ कार्यकर्ताको रगत पसिना बग्यो । हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ । हामीलाई कयौँ ठाउँमा बायस पनि भयौ कारण थियो राजतन्त्रको एजेण्डा । पार्टी नेतृत्वमा जसले जिते पनि राजतन्त्रको एजेण्डा त एउटै थियो अनि किन बारम्बार राजाबाट पार्टीमा हस्तक्षेप हुने ?’ उनले प्रश्न गरे ।

राप्रपाको ३१ वर्षको यात्रामा चरणबद्ध रूपमा पार्टी भित्र राजाबाट हस्तक्षेप भए । अनेक गरेर पार्टीलाई एक ढिक्का बनाउन पहल गर्दा पनि राजाबाट नै बारम्बार पार्टी फुटाउने काम भए तर हामीले त्यसलाई सामान्य मानेर अघि बढेको थापाले बताए ।

थापाले राजाबाट पछाडिबाट छुरा हान्ने काम भएको पनि बताए । उनले आगामी दिनमा नयाँ ढङ्गबाट राजनीतिक यात्रा सुरु गर्ने बताए । नयाँ राजनीतिक यात्रा राप्रपाको विभाजन नभई नयाँ विचारधाराको हुने उनको भनाई छ । ‘राप्रपा फुटाउने प्रयत्न मैले गरेको होइन, म नयाँ विचारधारामा लागेको हुन । निर्मल निवास मेरो राजनीतिक जीवन समाप्त पर्ने काममा लागेको छ तर म त्यसो हुन दिन्न । अहिलेको आलो काँचो नेतृत्वले राप्रपाको संवर्द्धनवा स्थापित गर्न सक्दैन । यसले यो संवर्द्धनवाद बुझेको पनि छैन । यसलाई स्थापित गराउनु मेरो राजनीतिक जीवनको प्रमुख लक्ष्य हो । यो स्थापित हुन सकेन भने मेरो राजनीतिक यात्राको इतिहास बेकार हुनेछ । त्यसैले मेरो यात्रा नयाँ गन्तव्य तर्फ मोडिएको छ ।’ उनले भने ।

पार्टीको ३१ वर्षको यात्रामा कयौँ पटक हार व्यहोर्दै आएकोले हारबाट विचलित भएर पलायन हुने चरित्र आफ्नो नभएकाले हार र जित गौण विषय भएको उनले बताए । प्राविधिक रूपमा मात्र आफूले निर्वाचनमा पराजय भोग्नु परेको भन्दै थापाले भने, ‘निर्मल निवासको निर्देशनमा नियोजित ढङ्गबाट पार्टीको केन्द्रीय महाधिवेशनमा ४०० भन्दा बढी मतहरू बदर गराइयो । बदर मतको सङ्ख्यालाई पनि हेर्ने हो भने मैले चुनाव जितेकै हो । चुनावमा यसबारे हामी सजग हुन सकेनौँ ।’

उनले पार्टी भित्रको राजाको हस्तक्षेप साधारण कुरा नभएको बताए । भोलिका दिनमा राप्रपालाई यस्तो कदमले समस्यामा पार्ने उनको भनाई छ । ‘निर्मल निवास केवल एक नागरिकको बसोबास गर्ने घर हैन । त्यसलाई हामीले राजसंस्थाको सचिवालयको रूपमा हेरेका छौँ, हामीले परिकल्पना गरेको राजसंस्था अभिभावक चुनावीभन्दा माथि उठेको माओवादीसम्मलाई चित्त बुझ्ने सेरेमोनियल राजा हुनुपर्छ भन्ने हो । तर, त्यसको विपरीत निर्मल निवास सक्रिय भएर राजसंस्थाको प्रतिनिधिहरूको हस्तक्षेप भयो । यो साधारण विषय होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप