शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी एजेण्डा बोकेर कमल थापाको नयाँ पार्टी राजनीतिमा, के होला चुनाव चिन्ह ?

शुक्रबार, २८ माघ २०७८, १२ : ५३
शुक्रबार, २८ माघ २०७८

राप्रपा परित्याग गरेर नयाँ पार्टी गठन गर्ने गृहकार्य गरेका कमल थापाले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गरिसक्ने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर नयाँ पार्टी खडा गर्न लागिएको जानकारी दिए । 

‘हिजोमात्रै मेरो सहयोगी, शुभचिन्तक, पार्टीभित्र र बाहिरका बुद्धिजिवी साथीहरुले नयाँ पार्टी गठन गरेर अघि जान मलााई जिम्मेवारी दिनु भएको छ’, थापाले भने, ‘त्यो जिम्मेवारीलाई पूरा गर्ने क्रममा मैले गृहकार्य सुरु गरिसकेको छु । फागुनको पहिलो हप्ताभित्रमा निर्वाचन आयोगमा कानुन बमोजिम नयाँ पार्टी दर्ताको काम पुरा गर्नेर्छौँ ।’

उनले अगाडि भने, ‘मलाई साथीहरुले जिम्मेवारी दिँदा हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर नयाँ पार्टी खडा गर्ने जिम्मेवारी दिनु भएको छ । हिन्दुराष्ट्र सुशासन र समृद्धि हाम्रो नयाँ यात्राको एजेण्डा हुनेछ ।’ बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने र त्यसका लागि थापालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । 

थापाको पार्टीको चुनाव चिन्ह के ?
थापाको पार्टीले राजसंस्थाको एजेण्डा बोक्नेछैन । यससँगै उनले आफ्नो पुरानो एजेण्डा तोडेर नयाँ बाटो तय गर्ने निश्चित भइसकेको छ । थापाले पार्टीको नाम राष्ट्रिय एकता पार्टी राख्नेबारे छलफल भइपनि टुंगो लागिसकेको छैन । पार्टी दर्ता पछि थापाको चुनाव चिन्ह के होला भन्ने चासो पनि उत्तीकै छ।  

नेताहरुका अनुसार चुनाव चिह्नको रूपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा छन् । एक नेताका अनुसार हात्ती र तीन आँखामध्ये एउटा चुनाव चिह्न राखिने सम्भावना बढी छ । महादेवको त्रिनेत्र हुने अर्थमा तीन आँखा र गणेशसँग धार्मिक अर्थ जोडिएकाले हात्ती चिह्न छलफलमा आएको ती नेताले बताए । 

हिन्दुवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अघि सार्ने तयारीमा रहेका थापाले उक्त दर्शनलाई कुनै न कुनै प्रकारले प्रतिनिधित्व गर्ने चुनाव चिह्न चाहेका छन् । यसअघि राप्रपामा हुँदा थापा चुनाव चिह्न ‘गाई’को पक्षपाती थिए । पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) सँग राप्रपाको एकीकरण हुँदा ‘हलो’ चुनाव चिह्न हुँदा थापा दुःखी भएका थिए ।

थापाले पार्टीको गत निर्वाचनमा निर्मल निवासले आफूलाई हराएको आक्रोशमा पार्टी नै परित्याग गरेर नयाँ बाटो रोजेका हुन् । यसैबीच कमल थापाले एमसीसी पास हुनुपर्ने बताएका छन् । एमसीसीका सम्बन्धमा उठेका आशंका निकारकरण गरेर एमसीसी पारित गरे नेपाललाई कुनै हानी नोक्सानी नहुने उनको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप