बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करसँग झडपपछि अवैध काठसहितको गाडी र चालक पक्राउ

शनिबार, २९ माघ २०७८, १२ : ०३
शनिबार, २९ माघ २०७८

रौतहटमा वन सुरक्षा टोली र तस्कर समूहबीच झडपपछि अवैध काठसहितको गाडी र चालकलाई गस्ती टोलीले नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले ६ र ४ को ४२ तान चिरान सालको काठसहितको  गए राति ना ३ च ९६७५ नम्बरको महिन्द्रा पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गाडी चालक वृन्दावन नगरपालिका विश्रामपुर बलेरिका नवीन बजगाईं रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएफओ अमरदेव यादवले बताएका छन् । राष्ट्रिय वनबाट अवैधरूपमा उक्त चिरानकाठ लोड गरेर गइरहेको क्रममा  शुक्रबार राति साढे ९ बजे चन्द्रनिगाहपुरभन्दा पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत १ नम्बर लचका नजिक वन सुरक्षा गस्ती टोलीले शंका लागेर रोकेको थियो ।

गस्ती टोलीले गाडी रोकेको देखेर जंगलमा लुकिबसेका १५ र १६ जनाको तस्कर समूहले मात्र ३ जनाको सङ्ख्यामा रहेका गस्ती टोलीसँग झडप सुरु गरेको थियो । पछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट थप मद्दत त्यहाँ पुगेपछि अन्य तस्कर जंगलमा भागेको र गाडी तथा चालकलाई नियन्त्रणमा लिएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।

बरामद गाडी , काठ, तथा चालक नवीन बजगाईं डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेका छन् । तस्कर समूहले वन गस्ती टोलीसँग झडप गर्ने क्रममा स्थानीय प्रहरीलाई खबर गर्दा वास्ता नगरेको वन कर्मचारीले गुनासो गरेका छन् । भागेका तस्कर मध्येका २ जनाको मोबाइल घटनास्थलबाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप