कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते चैतमा

नेपाल कराँते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता चैत अन्तिम साता हुने भएको छ ।
पूर्व प्रधानमन्त्री स्व. भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडीको सहभागिता रहने छ । टिम च्याम्पियनलाई १ लाख नगद पुरस्कार दिइने छ भने उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
नेपाल कराँते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औँ एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने बताए । कराँतेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौल समूहबाट ४ खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने बताए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका प्रतियोगिताका मुख्य योजनाकार मीनकृष्ण महर्जनले कोभिडले सुस्ताइ रहेको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने बताउँदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।
प्रायोजक लिनिङका कार्यकारी प्रमुख राजन महर्जन र सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दिप जोशीले प्रायोजनले आगामी दिन पनि निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । प्रायोजन सम्बन्धी जानकारी छुट्टै पत्रकार सम्मेलन गरी जानकारी गराइने आयोजक डोजोका अध्यक्ष श्रेष्ठले अवगत गराए । पत्रकार सम्मेलनमै आयोजक डोजोका सचिव विनोद श्रेष्ठलाई सह–संयोजकमा मनोनयन गरिएको जानकारी दिइयो । प्रतियोगिता संयोजक आठौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेका स्वर्ण विजेता रवि महर्जनले विनोदलाई सह–संयोजकमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका थिए । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
-
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
-
प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरे: प्रभु साह
-
‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी