शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कति छन् विदेशमा नेपाली ?

आइतबार, ०१ फागुन २०७८, १८ : २२
आइतबार, ०१ फागुन २०७८

भारतसहित संसारका विभिन्न देशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुको संख्या कति छ ? यस बारेमा हामीकहाँ अघिल्लो आधी शताब्दीदेखि अन्योल कायम रहँदै आयो । अन्य मुलुकको त कुरा छाडौँ, भारतमा मात्रै नेपाली नागरिकहरुको संख्या ६० देखि ७० लाख रहेको छ भन्ने कुरा बेलाबेलामा बाहिर आए । यो भनाई काठमाडौंको खुला मञ्चको मैदानमा  अमुक दलले गरेको सभामा ५ लाख मानिस जम्मा भए भन्नुसरह थियो । यसमा कुनै सत्यता थिएन । किनकि त्यस मैदानको क्षमता ३० देखि ३५ हजार भन्दा बढी होइन । विदेशमा कति छन् त नेपालीहरु भन्ने बारेमा पनि विभिन्न पक्षबाट बढाई चढाई दावी भए । तर अब सरकारले जारी गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाबाट यसबारे स्पष्ट हुन गएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले विदेशमा  लगभग २२ लाख नेपाली नागरिक रहेको ताजा तथ्याङ्क  हालै सार्वजनिक गरेको छ । यसबाट विदेशमा रहेका नेपाली नागरिकहरुको संख्याबारे ठूलो अन्यौलको अन्त गरिदिएको छ ।  यसबाट विदेशमा रहेका नेपालीहरूबारे यस अघि विभिन्न पक्षले अगाडि ल्याउने गरेका तथ्य मिथ्याङ्क थिए भन्ने कुरा स्पष्ट हुन्छ ।

उदाहरणका लागि भारतीय दुतावासले भारतमा ६० लाख नेपाली नागरिकहरु रोजगारमा रहेको दावी गर्ने गरेको छ भने दिल्लीले पनि बेलाबेलामा यही आँकडा अगाडि सार्ने गरेको पाइन्छ । कसै कसैले त भारतसहित संसारका विभिन्न मुलुकमा रोजगारीका लागि गएका नेपालीहरुको संख्या एक करोड रहेको हावादारी दावी गरेको पनि पाइन्छ ।

जनगणनाको ताजा तथ्याङ्कले यी सबै अनुमानहरुको अन्त गरिदिएको छ । ठूलो जनशक्ति र साधनस्रोत परिचालन गरेर गरिएको जनगणनाको नतिजा नै विदेशमा रहेका नेपालीहरुको संख्या यकिन गर्ने एकमात्र भरपर्दो आधार हो । २०७६÷२०७७ को अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा  लगभग ४५ लाख नेपाली नागरिकहरुले वैदेशिक रोजगारीका लागि श्रम अनुमतिपत्र लिएको उल्लेख गरिएको छ । यो तथ्याङ्कलाई केन्द्रीय तथ्याङ्क विभागले हाल जारी गरेको विदेशमा भएका नेपालीहरुको तथ्याङ्कसित दाँज्दा ठूलो अन्तर देखा पर्दछ । तर वास्तविकता त यो हो कि यो तथ्याङ्क श्रम विभागले  सन् २००८ देखि जारी गरेको  जम्माजम्मी श्रम अनुमति पत्रको संख्या हो र यसमा करार सकेर यस अवधिमा स्वदेश फिर्ता आउनेहरुको संख्या उल्लेख छैन ।

ताजा जनगणनाको तथ्याङ्कसित यो आँकडालाई भिडाउँदा स्पष्ट हुन्छ कि यस अवधिमा ठूलो संख्यामा नेपाली नागरिकहरु वैदेशिक रोजगारबाट स्वदेशमा फिर्ता भएका छन् । सन् २०११ को जनगणनामा विदेशमा रहेको नेपालीहरुको तथ्याङ्क उल्लेख भएको पाइँदैन । त्यसका ठाउँमा गयल जनसंख्या भनेर उल्लेख गरिएको छ । यसरी गयल हुने जनसंख्या १९ लाखको हाराहारीमा छ । यसरी २०११ को जनगणनालाई आधार मान्दा पनि विदेशमा रोजगारीमा गएका नेपाली नागरिकहरुको संख्या ताजा जनगणनाले देखाएको तथ्याङ्कसित मेल खाएको देखिन्छ ।

जनगणनामा विदेशमा गएका नेपाली नागरिकहरुको तथ्याङ्कमा एक चौथाई संख्या छुटेको फराकिलो अनुमान गर्दा पनि यसरी छुटेका विदेशमा रहेका नागरिकहरुको संख्या झण्डै ५ लाख हुन आउँछ । अर्थात् लगभग २७ लाख नेपालीहरु विदेशमा रहेको देखिन्छ । जसमा ८ देखि १० लाखको संख्यामा भारतमा र बाँकी अन्य देशहरुमा रहेको देखिन्छ । भारतीय जनगणना २०११ ले भारतमा २९ लाखको हाराहारीमा  नेपालीहरु रहेको देखाउँछ, जुन भारतीय नागरिकहरु हुन् । त्यो संख्यामा दुई चार लाख नेपालीहरु नेपालका नागरिक भएको अनुमान गर्न सकिन्छ । अमेरिकी थिंक ट्यांक पिउ रिसर्च सेन्टरले सन् २०१५ को स्थितिमा भारतमा लगभग ५ लाख प्रवासी नेपालीहरु रहेको उल्लेख गरेको छ । यसबाट पनि भारतमा माथि भनिएजस्तै ८÷१० लाख भन्दा बढी प्रवासी नेपालीहरु रहेको देखाउँदैन ।

सबै कोणबाट हेर्दा विदेशमा गएका नेपालीहरुको संख्या ३०÷३५ लाख भन्दा बढी देखा पर्दैन अर्थात् कुल जनसंख्याको लगभग १० प्रतिशत विदेशमा रहेका छन् । यो संख्यालाई स्वदेशभित्रै कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरेर क्रमशः कम गर्दै लैजाने नीति राज्यको हुनु पर्दछ । वैदेशिक रोजगारलाई दुरुत्साहन गर्ने राज्यको नीति हुनु पर्दछ ।

नेपालको ठूलो जनशक्ति रोजगारीका लागि विदेशमा निर्भर छ, यो कुरा सही हो तर करोड नेपाली जनता विदेशमा छन् भन्ने दावी निराधार छ, जस्तो कि माथिको विवरणबाट स्पष्ट हुन्छ । यस्तो निराधार दावीबाट नेपालमा युवाहरुका लागि कुनै भविष्य छैन भन्ने भाष्य तयार हुन गएको छ, जसले जनशक्ति पलायनको आगोमा घिउ थप्ने मात्र काम गरिरहेको छ । अर्कोतिर भारतले ६० लाख नेपालीहरुलाई रोजगार दिएको  छ भनेर सन् साठीको दशकदेखि हुँदै आएको निराधार प्रचारले पनि मुलुकको परनिर्भर मनोविज्ञानलाई झनै शक्तिशाली बनाईदिएको छ । अनुमान होइन, तथ्य र विज्ञानलाई आधार बनाएर मात्र हामी सही नतिजामा पुग्न सक्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप