बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन जोडी : रेखा र राज (फोटोफिचर)

सोमबार, ०२ फागुन २०७८, ०७ : २२
सोमबार, ०२ फागुन २०७८

भ्यालेन्टाइन डे (१४ फब्रुअरी) अर्थात् प्रेम दिवस । विशेष गरी युवायुवतीले यो दिन  विशेष चाडकै रूपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही वर्षयता यो दिन विशेष रूपले मनाउने गरिन्छ । प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने र आफूलाई मनपरेको व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनि यो दिन चर्चित छ ।

प्रेम दिवसको अवसर पारेर नेपाली कला क्षेत्रमा पनि विभिन्न म्युजिक भिडियो, फिल्मको अलावा फोटो सुट समेत गर्ने गरिएको छ । यसै अवसरमा गायिका रेखा शाह र मोडल तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले पनि एक फोटो सुट गरेका छन् । फोटो सुट हेर्दा जो कोहीलाई पनि उनीहरू रियल जोडी लाग्न सक्छ । तर होइन, रिलमा समेत यी दुवैको अहिलेसम्म सहकार्य भएको छैन ।

गायिका शाह ‘सिमसिमे पानीमा’ गीत लेखन, सङ्कलन र गायन गरेर चर्चामा आएकी गायिका हुन् । २०४९ मा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्दै धादिङकी शाह नेपाली सङ्गीतकी मानक गायिका बनेकी थिइन् । आधुनिक गीत गाउन रेडियो नेपाल छिरेकी उनी समयको बहावसँगै लोक गायिका बनिन् ।

सङ्गीतलाई साधनाको रूपमा लिँदै उनले राम थापा, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेबाट शास्त्रीय सङ्गीत सिकेकी शाहका सिमसिमे पानीमा, साली भेना, मैनाचरीलाई, सैंको घर कहाँ हो कहाँजस्ता लोकगीत चर्चित छन् । 

रेखा शाह फाउन्डेसनबाट समाजसेवामा पनि सक्रिय उनी बुकहिल पब्लिकेसनको सञ्चालक हुन् । अनामनगरमा साथीहरूसँग मिलेर उनले फाइन ट्युन नामक रेकर्डिङ स्टुडियो पनि चलाएकी छन् । बेलाबेलामा जीवनशैलीका कारण समेत चर्चामा छाउने शाह प्रेमलाई हृदयसँगको शाश्वत सम्बन्ध बताउँछिन् ।

त्यस्तै राज फैजु म्युजिक भिडियो, फेसन मोडलिङका अलावा सौन्दर्य प्रतियोगितामा समेत जमेका व्यक्ति हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको आयोजक तथा कोरियोग्राफरको रूपमा समेत चर्चित राजका नेपालमा बालबालिकाको स्तरीय सौन्दर्य प्रतियोगिता आयोजना गर्ने आयोजक पनि हुन् । राम्रा ब्राण्डको विज्ञापन मोडलिङमा समेत देखिँदै आएका राज सौन्दर्य प्रतियोगिता मार्फत नेपालको कला संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रसम्म पनि पुर्‍याउन सफल छन् । राज, प्रेम जीवनको बाँच्ने आधार बताउँछन् ।

आज ‘भ्यालेन्टाइन डे’का अवसर पारेर हामीले गायिका शाह र मोडल फैजुका ‘भ्यालेन्टाइन मुड’ तस्बिरमा प्रस्तुत गरेका छौँ ।

तस्बिर  : रुपेश थापा 

ड्रेस  : श्रीषा बैदार र रेश्मा श्रेष्ठ 

मेकअप  : सोफी सुनुवार

स्थान  : आरन्य बुटिक होटल हात्तिसार 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप