शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलबाट पिछा गरेर प्रा.डा श्रीकृष्ण गिरीको गाडीमा ढुंगामुढा

६ जना पक्राउ
सोमबार, ०२ फागुन २०७८, २१ : ०५
सोमबार, ०२ फागुन २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी चढेको गाडीमा माघ १३ मा त्रिभुवन विमानस्थल पछाडि ढुंगामुढा भयो । दुईओटा पल्सर मोटरसाइकलले घरबाट नै फलो गरेर उनको गाडीमा ढुंगा प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मोटरसाइकलले पछ्याएर र अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि स्कुटरमा पर्खेर बसेका दुईजना युवाले ढुंगा हानेर भागेका थिए । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाहरुको संख्या ६ पुगेको छ ।

पक्राउ पर्नेमा सल्यान घर भएका ३२ वर्षीय अर्जुन बुढाथोकी, सोलुखुम्बु घर भएका २७ वर्षीय चेतबहादुर बस्नेत, दोलखा घर भएका पेनसन शेर्पा, रामेछाप घर भएका ३७ वर्षीय तुलबहादुर थापा मगर, काभ्रेका धिरज तामाङ र डम्बरबहादुर जिम्बा छन् । प्रा.डा. गिरीमाथि आक्रमण गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ ।

प्रहरीले माघ २५ र २६ मा उनीहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले सो घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने–‘त्यो विषय अनुसन्धानकै क्रममा छ ।’

आयोगको कार्यालय सानोठिमी भक्तपुर जाँदा अन्तर्राष्ट्रिय विमानस्थल पछाडि काँडाघारीमा गिरी चढेको प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुटेको छ । सो घटनापछि गिरीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) दिइएको छ ।

चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगविरुद्ध आन्दोलनमा छन् । यसअघि चीनबाट फर्केका इन्टनसिप पुरा गर्न बाँकी विद्यार्थीले गिरीमाथि दुव्यवहारको प्रयास गरेका थिए । उनीमाथि पटक पटक आक्रमण प्रयास हुँदै आएको थियो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप