बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

गीतमा अधिकार कसको ?

स्टेजमा गायकले रचनाकार, सङ्गीतकारको नामै लिदैनन्ः श्रवण मुकारूङ
बिहीबार, ०५ फागुन २०७८, ०७ : ०९
बिहीबार, ०५ फागुन २०७८

गीतकार विपिन किरणको ‘नबिर्से तिमीलाई’ बोलको गीतले गायिका अन्जु पन्तलाई नयाँ उचाइ दियो । तर यो गीत उही भर्सनमा गायिका रचना रिमालले गाएपछि विवाद आएको छ । यही विवादले गुमनाम जस्तो रहेका गीतकार विपिन किरणको अहिले चर्चा छ । गीतमा सर्वाधिकार गीतकारको हुने भएकाले गीतकारले जसलाई पनि गाउन दिन सक्ने जिकिर उनको छ ।

कुनै पनि गीत चर्चित हुन गीतकार, सङ्गीतकार र गायकको त्रिपक्षीय भूमिका महत्त्वपूर्ण हुन्छ । सुरुवातमा गीतको न्वारन गर्ने नै गीतकार भए पनि पछिल्लो समयमा गीतकार ओझेलमा परेको गुनासा सुनिन थालिएको छ । एउटा स्रष्टाले गीत लेखेर दिएपछि सङ्गीत भरिन्छ अनि मात्र गायकले गाउँछ । गीतका कारण गायक तथा सङ्गीतकार चिनिन्छन्, गीतकार भने ओझेलमा नै । यो दुःखेसो गीतकारहरूको हो ।

समय समयमा गायकहरु देशविदेश गएर विभिन्न स्टेजमा गीत गाउँछन्, मोटो रकम जम्मा गर्छन् तर त्यसको गीतकार को हो भनेर परिचयसमेत नदिने प्रवृत्ति छ । स्वदेश विदेशका स्टेजहरूमा मात्र होइन, एफएम रेडियो र टीभीहरूले पनि स्रष्टाका गीत बजाएर आम्दानी गरिरहेका छन् तर दाम त के गीतकारको नाम समेत उच्चारण गर्न कन्जुस्याइ गरेका छन् ।

गीतकार श्रवण मुकारुङका ‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई’ लगायत धेरै गीत चर्चामा छन् । सर्जकहरू मर्कामा रहेको बताउँदै स्रष्टा मुकारुङ पुराना दिन सम्झिन्छन्, ‘२०४२–४३ तिर मैले गीत लेख्न थाल्दा यो विधाले अहिलेजस्तो व्यावसायिक रूप लिएको थिएन । रेडियो नेपाल लगायत केही निजी रेकर्डिङ स्टुडियो थिए । हामी गीत सङ्गीतलाई केवल आत्मसन्तुष्टि, लत, साधना वा पूजाका रूपमा लिन्थ्यौँ । पारिश्रमिकका नाममा, धेरै पछिसम्म मैले रेडियोमा रेकर्ड भएपछि रेडियोले दिने ३ सय देखि ५ सय सम्म पाएँ ।’

गीतकार मुकारुङ पछि गायक गायिकाले नै क्यासेट एल्बम निकाल्ने समय आएको सम्झिदै अगाडि भन्छन्, ‘क्यासेट निकाल्नेले गीत माग्थे, तिनलाई हामी थोरै पारिश्रमिक वा त्यतिकै  दिन्थ्यौँ । तिनले क्यासेट बेच्थे, कमाउँथे । बिस्तारै तिनले देश विदेशमा स्टेज सो गर्न थाले, राम्रो कमाउन थाले । हामीले कहिल्यै स्टेज सोमा गाए बापतको आफ्नो पारिश्रमिकको कुरा उठाएनौँ । तिनले तब स्टेजमा हाम्रो नामसमेत लिन छोडे । मानौँ, रचनाकार र सङ्गीतकार ती आफैँ हुन् ।’

समयको रफ्तारसँगै अहिले भिडियो बनाउने, युट्युबमा राखेर कमाउने ट्रेन्ड छ । गीतकार मुकारुङ भन्छन्, ‘हामीले यसको पनि हालखबर सोधेनौँ, मानौँ हामीलाई मतलब नै छैन । अहिले रिमेक आदिको झगडा किन आयो त ? सारमा त पैसाको कुरा नै हो । ‘बाघको छालामा स्यालको रजाइँ’ भनेको यही हो । होइन भने तिनले गाएको (आवाजको) भर्सन मात्रै तिनको हो ।’ असल शब्द–सङ्गीत हरेक युगमा नयाँ पुस्ताले गाउने भन्दै श्रवण आफ्ना कुरा सबै गायकप्रति लक्षित नभई जसले गीतकार र सङ्गीतकारलाई बेवास्ता गरी तिनका सिर्जनालाई आफ्नो निजी सम्पत्ति ठान्छन्, तिनले व्यवहार सुधानुपर्ने जिकिर गर्छन् ।

अधिकांश गीतकारको साझा बोली हो श्रवण मुकारुङको भनाइ । त्यसैले उनको फेसबुक स्टाटसमा देश–विदेशका विभिन्न कमेन्ट गरेका छन् । मनिराज गुरुङ भन्छन्, ‘सबैभन्दा बढी ओझेल पर्ने वा पारिने नै गीतकार हो । जबकि रचना भएपछि मात्र गीतमा सङ्गीत भरिन्छ र सङ्गीतको धुन सिर्जना भएपछि मात्र गायक र गायिकाले स्वर भर्छन् । त्यसैले कुनै पनि गीतको असली आमा अर्थात् सर्जक गीतकार हो ।’

मनिराजको जस्तै विचार हिमांशु राईको पनि छ, ‘गायकहरू गीतकारको पसिनाबाट सिर्जित शब्दलाई गुनगुनाएर रातारात हिट भइरहँदा गीतकार पर्दापछि सधैँ ओझेल बनिरह्यो, परिचय गुमाएर गुमनाम भयो । त्यसैले देशभरिका गीतकार, सर्जकहरूले आफ्नो अधिकारको रक्षा र पसिनाको उचित मूल्यको बारेमा खुलेर बहस र छलफल चलाउने बेला भयो । साथै प्रतिलिपि अधिकार तथा सम्झौता गरिएका बुँदाहरूको अधिकारलाई कानुनतः सुरक्षित राख्ने परिपाटीको प्रबन्ध र उचित व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्यको लागि अधिकतम पहल गरिनु पर्दछ ।’

सोम राईको भनाइ छ, ‘उहिले रेडियोमा गीत बजाउँदा उद्घोषकद्वारा सबैभन्दा पहिले रचनाकार, दोस्रोमा सङ्गीतकार र अन्तिममा मात्र गायक–गायिकाको नाम भनिन्थ्यो । अहिले पनि सोही नियम व्युँताउनु उपयुक्त हुन्छ । नत्र अचेलको सुनिने हैन ‘हेरिने’ गीतसङ्गीतको माहौलमा आवाज जति नै मीठो भए पनि रूपरङ्ग राम्रो नभएका, उमेर खाएका र नाच्न गाउन नजान्ने गायक–गायिकाको समेत भविष्य देखिँदैन ।’

स्रष्टा रञ्जु मार्ग पनि स्रस्टा ठगिएको बताउँछन् । भन्छन्, ‘भावनाको मूल्य पैसामा तुलना गर्न सकिँदैन । तैपनि हरेक व्यक्तिको परिश्रमको मूल्य दिइनुपर्छ । आज धेरैभन्दा धेरै सर्जक आफ्नो परिश्रमको मूल्य पाउनबाट वञ्चित भएका छन् । यो यथार्थ हो र यससम्बन्धी आवाज नउठ्नु दुर्भाग्य हो ।’

यस सम्बन्धमा रातोपाटीले केही गीतकारहरुलाई गीतको अधिकार कसको ? भनेर प्रश्न गरेको छ ।

प्रतिलिपि अधिकार पनि गीतकारको हुन्छ

बीबी थापा (गीतकार)

गीतमा गीतकारको अधिकार हुन्छ । प्रतिलिपि अधिकार पनि गीतकार हुन्छ । तर आधा आधा बाँड्ने सल्लाह भएको छ भने त्यो पनि गीतकार र सङ्गीतकारको मात्रै हुन्छ, गायकले प्रतिलिपि अधिकार पाउँदैन । गायक स्रष्टा होइन, गीतकार र सङ्गीतकार मात्र स्रष्टा हुन् । गायक भनेका प्रस्तोता मात्र हुन् । तीन जनालाई बाँडौँ भन्ने सल्लाह भएको छ भने आपसी कुरा भयो । सर्जक चाहिँ मुख्य भयो, उसको आफ्नो प्रोडक्सन छ, कम्पनी उत्पादक छ भने । कम्पनीको कम्पनीले लान्छ, उसलाई कति दिनुपर्ने हो त्यो कन्ट्रयाक्टमा हुन्छ । नभएदेखि गीतकार आफैँले गरेको छ भने गीतकारमै यसको अधिकार हुन्छ ।

‘नबिर्से तिमीलाई’ गीतको केसमा चाहिँ के भयो भने १०, १२ वर्ष अगाडिको गीत, एउटै ट्रयाकमा, ट्रयाक परिवर्तन नगरीकन सेम टु सेम ट्रयाकमा नयाँ भोकल हालेर, कभर सङ्ग निकालेको चाहिँ गल्ती हो । कभर सङ्ग हुँदा चाहिँ ट्रयाक चेन्ज हुनुपर्छ । कि अघिल्लो ट्रयाक चाहिँ फलानोको हो र यसमा मैले गाउने प्रयास गरेँ अथवा यसमा मैले नयाँ गायक गायिकालाई दिए भनेर स्रष्टाले लेख्नु, बोल्नुपर्छ । यसको ओरिजनल ट्रयाक चाहिँ फलानाको हो भनेर बोल्नुपर्छ ।

यस केसमा ओरिजनल ट्रयाक अन्जु पन्तको हो भनेर लेख्नुपर्छ । त्यो नभनीकन नयाँ भर्सनमा भनेर सेम गीत, सेम ट्रयाक, सेम मेलोडी, वर्डमा गर्दा नयाँ भर्सन हुँदैन । त्यो भाइरल हुने तरिका मात्र हो ।

त्यसले के गर्छ भने पुराना पुराना गायकहरूका ट्रयाक अरूलाई दिइयो भने पुराना गायकको नाम हराउँदै नयाँ गायकले गाउँदै जान्छन्, त्यो समस्या हुन्छ । तर रिमिक्स भयो भने केटाको केटीलाई केटीको केटालाई दिइयो भने हुन्छ । रिमिक्स गर्न पाइन्छ । तर नयाँ भर्सन भन्ने हो भने नयाँ नै ट्रयाक गर्नुपर्छ । नत्र ओरिजनल भर्सनको गायक, एरेन्जरको नाम स्पष्ट लेख्नुपर्छ । नभए गायक गायिका माथि अपमान हुन्छ ।

५० वर्षपछि त्यो जनताको हुन्छ

राजेन्द्र थापा (गीतकार)

गीतमा शब्दको अधिकार आजीवन गीतकार तथा गीतकारको परिवारको हुन्छ । गीतकार मरेको ५० वर्षपछि मात्र त्यो जनताको हुन्छ । सङ्गीतमा सङ्गीतकारको सर्वाधिकार हुन्छ । अब कसैले उत्पादन गर्छ, खर्च गर्छ भने पनि शब्द र सङ्गीतको अधिकार पाउँदैन उसले । कसैलाई क्यासेट बनाउने अधिकार दिएको छ भने र चलचित्र बनाउने अधिकार दिएको छ भने त्यो अधिकारको प्रयोग गर्न पाउँछ, त्योभन्दा बाहिर जान उसले पाउँदैन ।

एउटा गीतकारले १२, १५ वर्षपछि अर्को गायकलाई गाउन दिन पाउँछ । कुनै गीतकारले सम्झौता गरेको छ भने तोकिएको समयसम्म अरूतिर प्रयोग गर्न पाइँदैन । तर सामान्यतः ८, १० वर्षपछि चाहिँ त्यो चलचित्रको गीत पनि सम्झौता छैन भने नयाँ एरेन्ज गरेर जसलाई पनि गाउन दिन पाइन्छ । सम्झौता समयपछि जसलाई पनि गाउन दिन सक्छ ।

सबै अधिकार गीतकारमै हुन्छ

सुरेश अधिकारी (सङ्गीतकार तथा सङ्गीत रोयल्टी सङ्घका अध्यक्ष)

सबै अधिकार गीतकारमै हुन्छ । यसमा आर्थिक र नैतिक गरी दुई खालका अधिकार हुन्छन् । आर्थिक अधिकार चाहिँ गीतकारले अरू कुनै व्यक्ति वा संस्थालाई प्रत्यायोजन गर्न सक्छ तर नैतिक अधिकार सधैँ ऊसँगै हुन्छ । नैतिक अधिकार कसैलाई हक हस्तान्तरण गरे पनि हुँदैन ।

तर रोयल्टीको अधिकार भनेको संस्थाको हुन्छ । आर्थिक अधिकार प्रात्योजन गरेर प्रोड्युसरलाई दिएको छ भने मेकानिकल राइट्स चाहिँ प्रोड्युसरको हुन्छ । गीतकारले आफैँ लगानी गरेको छ भने आर्थिक अधिकार अरूलाई दिएको छैन भन्ने बुझ्नुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप