शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीको ७१ औँ जन्मदिन : बुद्धदेखि बन्दुकसम्मको चर्चा

बुधबार, ११ फागुन २०७८, २० : २४
बुधबार, ११ फागुन २०७८

वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मिएका खड्गप्रसाद शर्मा ओली (केपी ओली) को आज ७१ औँ जन्मिदिन हो । जन्मदिनको अवसरमा जीवन वरपर रहेर लेखिएको समवेत दृष्टि नामक पुस्तक लोकार्पण गरेका छन् ।

भक्तपुर मध्यपुरस्थित एक पार्टी प्यालेसमा उक्त पुस्तक उनी, पिता मोहनप्रसाद र पत्नी राधिका शाक्यले  संयुक्त रूपमा लोकार्पण गरे । सञ्जय खड्का र लोग्सरी कुँवरको सङ्कलन र सम्पादन रहेको उक्त पुस्तकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा विभिन्न कार्यक्रम तथा अन्तर्वार्तामा व्यक्त गरेका विचारका अंश समेटिएका छन् । पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, गायिका आनी छोइङ डोल्मा कूटनीतिज्ञ नीलाम्बर आचार्य लगायतको उपस्थिति रहेको थियो ।

बन्दुकको चर्चा 

वरिष्ठ साहित्यकार स्नेह सायमीलाई पुस्तकको बारेमा बोल्दै ओलीका जीवनका धेरै कुरा समेटिएको बताए । ‘समर्थक मात्र नभएर ओलीको कट्टर विरोधी पनि केपी ओलीले के बोल्छन् भनेर सुन्न चासो दिने गरेका छन्,’ सायमीले भने । पुस्तकमा धेरै कुरा जीवनयापनका लागि काम लाग्ने उनको भनाई रहेको छ । सपना देख्ने कुरा नभएर जोगाउने काम भएको भन्ने ओलीको बोली महत्त्वपूर्ण रहेको सायमीले बताए । 

सायमी स्मरण गरे, ‘तत्कालीन माओवादीको युद्धको समयमा म कुनै पहाडतिर गएको थिए । रातको समय थियो हिउँ परिरहेको थियो । एक्कासि मलाई बन्दुक बोकेका जनसेनाहरूले घेरे । त्यसपछि मलाई डर लाग्यो  । तर, केही कुराकानीपछि उनीहरूले छोडिदिए । त्यहाँ एकजना महिला जनसेना बहिनी हुनुहुन्थ्यो । पछि शान्ति सम्झौताको क्रममा मैले उहाँलाई क्यान्टनमेनमा भेटे उहाँ अलि निराश जस्तो हुनुहुन्थ्यो । विडम्बना केही समयपछि उहाँ सिंहदरबारको गेटमा भारतीय मेवा र चाइनिज स्याउ बेच्दै हुनुहुन्थ्यो ।’ सायमी राज्यको नीति निर्माण तहमा पुगेकाहरूको कारण ती बहिनी जस्ता धेरैको अवस्था दयनीय भएको बताए । 

बुद्धको चर्चा 

लोकप्रिय गायिका आनी छोइङ डोल्मा पनि एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन भक्तपुर पुगेकी थिइन् । उनले आफू कुनै राजनीतिकत संस्था र आस्था भन्दा पनि आफूलाई माया गर्ने ओली र पत्नी राधिका शाक्यको कारणले कार्यक्रममा आएको बताइन् । ओली पनि राधिकाले देखाएको न्यानोपन र सद्भावले आफूलाई सधैँ मन छोएको उनको भनाई थियो । उनले बौद्ध परम्परा अनुसार ओली र पत्नी राधिकालाई शुभकामना दिएकी थिइन् । आफू बुद्धको अनुयायी भएकाले आफूलाई भएकाले जीवनलाई सतमार्गलाई लैजानु सबैको दायित्व भएको बताइन् । 

यस्तो नेता देशले पाउन मुस्किल छः आचार्य 

कूटनीतिज्ञ नीलाम्बर आचार्य केपी ओली गफ गर्ने मात्र नेता नभएर काम गर्ने नेता  भएको बताए । आफू भारतकोलागि नेपालको राजदूत हुँदा ओली प्रधानमन्त्री भएर नक्सा सार्वजनिक गरे पनि विश्वभरका नेताहरूले नेपालको प्रधानमन्त्री कोही भन्दा कम नभएको भन्ने बुझेको उनको भनाई छ । बिहान एउटा कुरा गर्ने दिउँसो अर्को कुरा गर्ने नेताहरूका कारणले देश विकास नभएको भन्दै अब आउने प्रधानमन्त्रीहरूले ओलीको काम बाट धेरै सिक्नु पर्ने बताए । 

जोखिम मोलेर ओलीसँग विवाह गरेँ : राधिका शाक्य 

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यले २०४४ सालमा विवाह भएको दिनदेखि नै आफ्ना पतिको जीवन आज हो की भोलि जस्तो रहेको स्मरण गरिन् । बिहान घरबाट निस्केको मानिस साँझ नर्फिएसम्म के हो के भन्ने भएको उनको भनाई थियो । अझै निर्वाचनको बेलामा त विरोधीको त्रास झनै हुने शाक्यले बताए ।  ‘जोखिम मोलेर नै मैले उहाँसँग विवाह गरेको हुँ । आज आउँदा त्यो जोखिम मोल्नु मेरा लागि सफल भएको ठहरिएको छ’, शाक्यले भनिन् ।

शाक्यले लोकार्पण भएको पुस्तकले ओलीबारे फैलाइएका भ्रमहरू चिर्न सहयोग पुग्ने बताइन् । श्रीमान्को जन्मदिनको अवसर पारेर गृह जिल्ला तेह्रथुममा रहेका ९ वटा विद्यालयका १/१ छात्रछात्रा गरेर १८ जना छात्र छात्रालाई आफूले वार्षिक १ लाख ८० हजार सहयोग गर्दै आएको बताइन् । 

मेरो बाँकी जीवन देश र जनतालाई: ओली 

कार्यक्रममा बोल्दै ओलीले ७० वर्ष पुरा भएर ७१ औँ जन्मदिन मनाउन पाउँदा एक प्रकारले खुसी लागेको तर जीवन छेउमा पुगेको जस्तो आभास हुन थालेको बताए । उनले भने ‘मेरो यो बाँकी जीवन देश र जनताको लागि हो ।’ 

ओलीले आफू जनताकै बलमा एमाले अध्यक्ष र प्रधानमन्त्री समेत भएको भन्दै एमालेमाथि अहिले जालझेल भए पनि जनताले पुन: एमालेलाई नै ल्याउने दाबी गरे । अध्यक्ष ओलीले आफूहरूले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप समेत लगाए । 

उनले भने, ‘एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमा मात्रै उसलाई हराउन सकिन्छ, त्यो हो जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोइहाल्छौँ, टेकी हाल्छौँ । जनतासँग एकाकार भइहाल्छौँ ।’

६९ औँ जन्मदिन मनाएपछि विवाद 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आफ्नै जन्मघरमा मनाए । पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औँ जन्मदिन आफ्नो जन्मथलोमा मनाएका थिए । तर सो जन्मदिनको अवसरमा ल्याएको केकमा नेपालको नक्सा थियो  । ओलीले सो काटेपछि सामाजिक सञ्जालमा देशको नक्सा काटेको भन्दै विवाद भएको थियो । 

७० औँ जन्मदिन बालुवाटारमा 

गत वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफ्नो ७० औँ जन्मदिन मनाएका थिए । आफ्ना परिवारका सीमित सदस्यहरूका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप