शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले छिर्के लगाएर होइन, दौडेर स्वर्ण पदक जित्छ : केपी ओली

शुक्रबार, १३ फागुन २०७८, १५ : ०३
शुक्रबार, १३ फागुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् ।

‘निर्वाचनको मिति घोषणा भएपछि भोक लाग्न छोड्यो, निन्द्रा लाग्न छोड्यो । निर्वाचनको हिसाबकिताब गर्छन् अनेक खालका’, ओलीको भनाइ छ । उनले  सरकारमा हुने पार्टीका नेता कार्यकर्ता एमालेले लिएको नीति र विचार सहि भएकै कारण एमाले प्रवेश गरिरहेको बताए ।  पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनका नाममा जनता अल्मल्याउने, छक्कयाउने काम गरिरहेको बताए । गठबन्धनप्रति लक्षित गर्दै ओलीले भने, ‘धक्का, क्रमभंग, छलाङ, महाविपत्ति । यसले के के विकास गर्छ ? विकास गर्छ ? कसलाई धक्का ? कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार ढालिदियो, कम्युनिस्ट पार्टी फुटाइयो’, ओलीको भनाइ छ ।  

उनले प्रतिक्रियावादीहरुसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छौ भन्नेहरु कम्युनिस्ट हुन नसक्ने समेत बताए ।  उनले वास्तविक कम्युनिस्ट पार्टी हो एमालेमात्र भएको जहाँ नेपाली त्यहाँ एमाले भइसकेको बताए । ‘गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन ? सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन’, ओलीको भनाइ छ ।  

त्यस्तै उनले एमालेले छिर्के लगाएर नभई दौडेर स्वर्ण पदक जित्ने दावी समेत गरे । ‘दौडन कोही तयार छ भने एमाले दौडमा सामेल भएर, दौडमा अगाडि पुगेर दौडेर स्वर्णपदक जित्छ, छिर्के लगाएर लडाएर खोस्दैन’, ओलीको भनाइ छ ।  

उनले एमालेको विचारले मात्रै देश बन्ने भन्दै अरु पार्टीसँग देश बनाउने विचार नै नभएको दावी पनि गरे । ‘हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विचार छ अरु पार्टीसँग छैन’ उनले हालको सत्ता गठबन्धनले भ्रष्टाचार गर्नमै बाहेक केही नजानेको समेत बताए । ‘२४ लाख खोप कहाँ हरायो ? तमासा पनि हदको हुन्छ नि ’ ओलीले सरकारमा बसेकाहरुले नै कार्यकर्ता पठाएर सडक भत्काएको र प्रहरीलाई ढुंगा हान्ने गरेको बताए । 

सत्ता गठबन्धनमा रहेका झलनाथ, डा.बाबुराम भट्टराई र काँग्रेसको नाम लिँदै उनले आफुलाई ढुंगा हानिएको बताए । ‘अरुलाई ढुंगा हानिँदैन तर म बाटामा हिँड्छु ढुंगा हान्छन्’, ओलीको भनाइ छ । ओलीले देश बनाउने कुरामा एमाले दृढ संकल्पित रहेको र देश बनाएर छोड्ने दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप