शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् लोभबाट हुने फाइदा

मङ्गलबार, १७ फागुन २०७८, ११ : ३६
मङ्गलबार, १७ फागुन २०७८

कसैले आफ्ना नानीहरूलाई लोभ गर्न हुन्न भन्ने शिक्षा दिने गरेका छन् भने ठाने हुन्छ ठूलो गल्ती गरिरहेका छन् । लोभ गर्नुहुन्न, लोभले लाभ, लाभले विलाप भन्ने होइन बरु लोभले लाभ, लाभले फलिफापै फलिफाप भन्ने गर्नुपर्छ । न तपाईं लोभ गर्नुहुन्न भनेको भरमा लोभ नगरी बस्न सक्नुहुन्छ न नानीहरूलाई त्यसो भनेको भरमा नगरी बस्न सक्छन् ।

एउटा बालकलाई केही दिनुस् फिर्ता गर्न गाह्रो मान्छ । पेटले पचाउन सकेको हुँदैन मनले खान खोजिरहेको हुन्छ । दाँतले चपाउन सकेको छैन, चपाउन खोजिरहेको हुन्छ । आँखाले देख्न छाडिसक्यो बढी देख्ने रहर जागिरहेको हुन्छ । कान सुन्न छाडिसक्यो बढी सुन्ने चाहना जागिरहेको हुन्छ । हातले समाउन सकेको छैन, समाउने रहर प्रबल हुँदै गइरहेको हुन्छ । गोडाले टेक्न छाडिसक्यो अझ टेक्ने चाहना प्रबल हुँदै गइरहेको हुन्छ । दस इन्द्रियको अवस्था त्यस्तै हो, अन्तस्करण चतुष्टय अर्थात् मन, बुद्धि, चित्त र अहङ्कारको अवस्था त्यस्तै हो ।

लोभ जन्मजात गुण हो । जन्मजात गुण हो र त उसलाई नपछ्याई कोही पनि बस्न सक्दैनन् । कसमा हुँदैन लोभ ? मानिसमा हुन्छ, पशुपक्षीमा हुन्छ, कीरा कमिलामा हुन्छ । रुख, बिरुवा, वनस्पति आदि जड चेतन यावत प्राणीमा हुन्छ । देवी देवतासमेत लोभ नगरी बस्न सक्दैनन् । ब्रह्माजीमा लोभ छ, विष्णुमा लोभ छ, शङ्करमा लोभ छ । इन्द्रमा लोभ छ, वरुणमा लोभ छ । कसले गरेका छैनन् लोभ ? त्यसो हुन्थ्यो भने न ब्रह्माजी सरस्वतीको सौन्दर्यमा लोभिन्थे न शङ्कर मोहिनीमा मोहित हुन्थे । राम सुनको मृगमा लोभिएका छन्, कृष्ण सुदामा कनिकामा लोभिएका छन् । परासरको लोभ माझी कन्यामा देखिएको छ, विश्वामित्रको लोभ अप्सरामा पोखिएको छ ।  

जब लोभ नगरी कोही पनि बस्नै सक्दैनन् भने किन गर्नुहुन्न भन्ने ? मुखले चाहिँ गर्नुहुन्न भन्ने मनले चाहिँ नगरी बस्नै नसक्ने हो भने योभन्दा ठूलो ढोङ र आडम्बर के हुन सक्छ ? आफू पनि बिग्रने र अरूलाई बिगार्ने भनेको यस्तै ढाँेगी प्रवृत्तिले हो । जब लोभ गर्नु नै छ, नगरी बस्नै सकिन्न भने किन गर्नुहुन्न भन्ने ? त्यसैले लोभ नगर्ने भन्ने होइन बरू धेरै गर्ने भन्ने हो तर लोभ गर्ने तरिका भने मिलाउनुपर्छ । प्रश्न उठ्न सक्छ त्यो भनेको के हो ? उत्तर सहज छ केही पनि होइन । मात्र त्यसको व्यवस्थापन हो । यस आलेखमा यसैबारे प्रकाश पार्ने प्रयास गरिएको छ ।

लोभ भनेको कुनै विषय वस्तुप्रतिको आशक्ति हो । विषय जे पनि हुन सक्छ । धन, सम्पत्ति, पद, प्रतिष्ठा, यस्तैयस्तै । तिनीहरूमा सोझै विषय वस्तुप्रति लोभिनु लोभ हो त्यसको स्रोत पत्ता लगाई त्यसप्रति लोभित हुनु व्यवस्थापन हो ।

मानौँ हामीलाई कुनै चिज खान मन लाग्यो । पहिले त्यो कहाँ, कहिले, कसरी बन्छ, कसरी पाइन्छ पत्ता लगाउनुस् । किनकि त्यही नै तिनका स्रोत हुन् । यसका लागि खेतबारीको खोज गर्नुपर्ला, फल्ने र फुल्ने तरिकाको जानकारी चाहिएला । खेतबारी छैन भने सट्टापट्टा गरेर पनि पाउन सकिन्छ । यसको भरपर्दो साधन पैसा हो । सरकारले नै त्यसको व्यवस्था गरिदिएको छ । यस्तो अवस्थामा कि आफैँले श्रम गरेर प्राप्त गर्नुपर्ने भयो कि पैसा कमाई सट्टापट्टाद्वारा प्राप्त गर्न सकिने भयो । यही नै व्यवस्थापनको सरल तरिका हो ।

हुन सक्छ तपाईंलार्ई व्यपारी वा उद्योगपति बन्न मन लागेको छ । कसैले गाडी चडेको देख्नुभयो । उद्योग, कल–कारखाना देख्नुभयो । विलासिताको जीवन देख्नुभयो । गाडीमा हिडेका छन्, मनमा लागेका सामान किनेका छन्, भोगेको छन् । तपाईँलाई पनि त्यस्तै बन्न मन लाग्यो । त्यस्तै बन्नुस्, बन्ने प्रयास गर्नुस् । व्यापारी बन्न मन लागे व्यापार गर्नुस् । उद्योगपति बन्न मन लागे उद्योग व्यवसाय चलाउनुस् । काम ठूलो सानो नभन्नुस्, सानैबाट सुरु गर्नुस् । काम ठूलो सानो हुँदैन । कामले भने ठूलो सानो बनाउँछ । सुरुमा गाह्रो पर्न सक्छ । तर केही छैन व्यपारी वा उद्योगपति कहाँ गएर काम सिक्नुस् । कुन सामान कहाँ पाइन्छ, कुन पार्टपुर्जाको प्रयोग कहाँ, कसरी हुन्छ । हरेक कुराको जानकारी पाउन सक्नुहुन्छ ।

काम सिकेपछि आफैँ उद्योग खोल्नुस्, व्यवसाय गर्न थाल्नुस् । पैसा छैन भने त्यसको पनि चिन्ता लिनु पर्दैन । सरसापट गर्न सक्नुहुन्छ । बैङ्कहरू तपाईंकै हुन्, तपाईंकै प्रतीक्षा गरिरहेका छन् । तपाईंकै लागि खुलेका हुन् । हिजोआज सरकार आफैँ पनि सानोतिनो लगानी गरेर उद्योग व्यवसाय गर्न उत्साहित गराउँदै आएको छ । उनीहरूकहाँ जानुस्, योजना प्रस्तुत गर्नुस्, ऋण माग्नुस् । योजनामा लगाउनुस् । दुई चार वर्षमै कहाँबाट कहाँ पुग्नुहुन्छ पत्तै पाउनुहुने छैन ।

कुनै धनीमानीको जीवनशैली देख्नुभयो । उनको कार्यकक्षमा बराबर मानिस आउने जाने गरेका छन् । घन्टी थिचेको भरमा कार्यालय सहयोगी उपस्थित भएका छन् । बोल्नेसम्म फुर्सद छैन । फायल पल्टाउँदै छन् कुरा गर्दै छन् । कम्प्युटरमा खेलिरहेका छन्, मानिससँग बोलिरहेका छन् । काम सकिन भ्याएको हुन्न गाडी लिएर चालक भाइ खडा हुन पुगेका छन् । तपाईंलाई पनि त्यस्तै बन्न मन लाग्यो । त्यसो हो भने त्यसको पनि स्रोत खोज्नतिर लाग्नुस् । उनी कसरी त्यस्तो भए । त्यस्तो हुन केके गरे । त्यसको सोधखोज गर्नुस् र त्यसैप्रति लोभित हुने गर्नुस् ।

यसका लागि सर्वप्रथम त्यससम्बन्धी पढाइमा ध्यान दिनुपर्ला । पढेर मात्र पनि नहोला, राम्रो नम्बर ल्याउनु पनि पर्ला । उनले पनि त्यस्तै गरेका होलान् । त्यस्तै गरेर नै त्यहाँ पुगेका होलान् । त्यसैले पूर्ण मन लगाएर पढ्नुस् । सरकारले पढ्ने व्यवस्था गरिदिएको छ । स्कुल क्याम्पस, विद्यालय, विश्वविद्यालय खोलिदिएको छ । आवश्यक जनशक्तिको व्यवस्था गरिदिएको छ । अरूले गरेन नभन्नुस् । आफूले के गर्नुपर्छ भन्नेतिर ध्यान दिनुस् । मन लगाएर पढ्नुस् । उनीहरूले परीक्षा लिनेछन् । परीक्षासँग नडराउनुस्, त्यसको सामना गर्नुस् । परीक्षा तपाईंको शत्रु होइन, सहयोगी हो । सहयोग गर्नै आएको हो । सावधानीपूर्वक परीक्षा दिनुस् । राम्रो नम्बरमा पास हुनुहुनेछ । क्रमशः कक्षा चड्दै जान सक्नुहुन्छ र त्यहाँसम्म पुग्नका लागि चाहिने शिक्षाको प्रमाणपत्र लिन सक्नुहुनु हुनेछ । अनि त्यसैलाई भजाएर त्यस्तो स्थानमा पुग्न सक्ने वातावरण तयार पार्न सक्नुहुन्छ । 

हुनसक्छ कुनै नेता, राजनेताको जीवनशैली देखेर लोभ लागेको छ । यहाँ पनि त्यस्तै हो । उनीहरू कसरी त्यहाँ पुगे त्यसको खोजी गर्नुस् । उनीहरू पनि सोझै त्यहाँ पुगेका पक्कै होइनन् । धेरै दुःख गरेर पुगेका हुन् । जनताको सुखदुःखमा साथ दिए होलान् । सँगै बसे होलान्, सँगै खाए होलान् । सँगै हिँडे होलान् । तपार्ईँ पनि त्यस्तै गर्नुस् । नेता वा राजनेता बन्न सक्नुहुनेछ । यही नै लोभ ऊर्जा व्यवस्थापनको तरिका हो । सारमा यति नै भनौँ पैसाप्रति लोभिनु लोभ हो । पेसाप्रति लोभ गर्नु व्यवस्थापन हो ।

यी केही उदाहरण हुन् । जीवनका यावत पक्षमा यही नियमले काम गरेको हुन्छ । विस्तृत जानकारीका पङ्क्तिकारको युट्युब च्यानल हेर्नुहोला, जसको लिङ्क तल दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप