बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिबे नकटो’ हास्य–निबन्ध सार्वजनिक

मङ्गलबार, १७ फागुन २०७८, ११ : ४७
मङ्गलबार, १७ फागुन २०७८

साहित्यकार लेखनाथ पोखरेलको ‘चिबे नकटो’ हास्य–निबन्ध सङ्ग्रह सार्वजनिक भएको छ । विविध शीर्षकमा २९ वटा हास्य–निबन्ध समेटिएको यस कृतिको सावित्री पोखरेलले प्रकाशनमा ल्यएकी हुन् । केही समयअघि ‘फकलीको गाउँ’ नियात्रा सङ्ग्रह र ‘मार्बल हाउसकी शालिनी’ कथा सङ्ग्रह सार्वजनिक गरिसकेका पोखरेलको ‘चिबे नकटो’ तेस्रो कृति हो । 

यस कृतिमा ‘हस् हाकिमसाब !, ‘प्रेत लेखक’, ‘भाउँतो पो आइलाग्यो’, ‘कुराउनीको कोसेली’, ‘भिँगटीको रेडियो’, ‘झँक्री बा’, ‘चिबे–नकटो’, ‘बाफरे बाफ !’, ‘भाइचा’, ‘आमाको माइतीघर’, ‘दशा बिग्रिएपछि !’, ‘दोषी सपना’ र ‘सुर्तीको फूर्ति’ ‘मेरो गुरु साह्रै सिपालु’, ‘वैशाखनन्दका कथा’, ‘म बुढो भएँ अरे !’, ‘रानीमत्ताको लेख’, ‘पुर्पुरोमा हात’, ‘सगोत्रीको मोह’, ‘प्रवृत्ति’, ‘म त ट्वाँ परेँ नि !’, ‘पण्डितजीको पटियाला पेग’, ‘अब बाजे भने फरक पर्दैन’, ‘साहेब ध्यानमा होइसिन्छ’, ‘नबल्झिएको च्याँखे’, ‘ब्योमवाला’, ‘टाइमपास’, ‘सम्पन नेपाली’ र ‘कोरोनाकाल’ जस्ता हास्य–निबन्ध सङ्कलित छन् । 

कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म भोगेका तथा अनुभूत गरेका समाजका विकृति र विसङ्गतिलाई हास्यव्यङ्ग्यका मालामा उनेर कृति तयार पारेको वरिष्ठ साहित्यकार खेमनाथ दाहाल बताए । उनले भने, “प्रस्तुत कृतिमा समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिविम्ब भएको पाइन्छ । यो कृति जति हास्यव्यङ्ग्यले पूर्ण छ, त्यति नै बोधगम्य पनि छ । सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो ।” 
समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैँ बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले बताए । उनले यसअघिका कृतिजस्तै यो निबन्धले पनि पाठकको मन जित्नेमा आशा व्यक्त गर्दै कृतिमा भएका कमीकमजोरीलाई सुधार गर्न सुझाव र सल्लाह उपलब्ध गराइदिन पाठकसमक्ष आग्रह गरे ।

लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । २८० पेजमा समेटिएको यो कृतिको मूल्य ४०० रुपैयाँ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप