बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको लाइन : एमसीसीलाई समर्थन, प्रचण्ड माधव र सभामुखलाई प्रहार

​‘सभामुखले राजीनामा नदिए एमालेले महाभियोग लगाउन सक्छ’
मङ्गलबार, १७ फागुन २०७८, १६ : २०
मङ्गलबार, १७ फागुन २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसदबाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसदमा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरुले रोकेर अहिले पास गरेको आरोप लगाए ।

साथै उनले सभामुख अग्नि प्रसाद सापकोटामाथि हमला गरे ।  सभामुख आफ्नो पदको रक्षाका लागि एमसीसी परियोजना अगाडि बढाउन बाध्य भएको दावी गरे । यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि पार्टी जोगाउन एमसीसी पारित गर्ने प्रक्रियामा सहभागी भएको जिकिर गरे । तर, एकीकृत समाजवादी पार्टीलाई जोगाउने सभामुखले राजीनामा दिएर नबाहिरिए एमाले महाभियोग लगाउन तयार रहेको पनि उल्लेख गरे ।

पद जाने भयो भनेर एमसीसी पास गरे, १२ बुँदेको अर्थ छैन

अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा र माधव नेपाल पद जाने भयो भनेर एमसीसी पास गर्न अघि बढेको आरोप लगाए । एमसीसी सम्झौता संसदमा टेबल गर्नुप-यो भने आत्महत्या गर्छु भन्ने जस्तो कुरा गर्ने सभामुखले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको ओलीको आरोप थियो । कार्यकर्ता सडकमा भिडिसकेपनि माओवादी र एकीकृत समाजवादी सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रीत भएर सो सम्झौता पास गरेको उनले पटक पटक दोहोर्याए ।

उनले भने, ‘ एमसीसीमा राष्ट्रघात भएको हो कि हैन तपाईंहरुले उहाँहरुलाई सोध्नुपर्ने कुरा हो । राष्ट्रघात भएको हैन भने किन हल्ला चलाउनु, किन कार्यकर्ता परिचालन गराउनुभयो, किन ढुङ्गामुढा गराउनुभयो, किन बाटो भत्काउनुभयो । प्रचण्ड माधव नेपालहरुले कार्यकर्ता उकासेर, आवेश उत्तेजनामा ल्याएर देशभक्तिको एउटा भावना उरालेर बाटो भत्काउन र ढुङ्गामुढा गर्न लगाउनुभयो । सत्ता जोगाउनका लागि जनतालाई दुःख दिनुभयो । सभामुखको पद जाने भयो, माधव नेपालको पद जाने भयो । त्यसो भएपछि यो एमसीसी पारित गर्नुभयो । राष्ट्रघात सार्वभौम सत्ताको प्रश्न हो भने सभामुखको पद वा फलानाको पदसँग साटिन सक्छन् ? त्यो जोडिन वा साटिन सक्ने विषय नै हैन । तर उहाँहरुले त्यसैगरी व्याख्या गरेको सुन्नुभएको छ ।’

अध्यक्ष ओलीले कुनैपनि दातृ मित्रराष्ट्र कसैसँग पनि सहयोग सहकार्य, कुनै विषयमा ठोस रुपमा समयमै बिचार गर्नुपर्ने बताए । राष्ट्रिय आवश्यकता र प्राथमिकताका आयोजनामा बाह्य सहयोग र लगानी पार्टीले स्वीकार्ने ओलीले बताए । उनले सम्झौता गर्नुभन्दा अगाडि त्यसमा रहेका भाषा कस्तो छ भनेर हेर्नुपर्ने बताउँदै एमसीसी सम्झौता अहिले सरकारमा रहेका गठबन्धन दलले नै गरेको बताए । उनले ओली सरकारलाई पास गर्न दिएर किन जस दिने, ओली सरकार ढालेपछि पास गर्ने भनेर गठबन्धन लागेको र सोही अनुसार पास गरिएको दावी गरे । 

उनले भने, ‘प्रदीप ज्ञवाली अमेरिका पुगेर आइपीएसको अंग बनाइयो भन्ने हल्ला पनि चलाइयो । अहिले तथाकथित १२ बुँदा राखेर पास गरियो त्यो बुँदाको कुनै अर्थ छैन । राजनीति नगरी यसलाई विकास परियोजनाको रुपमा अगाडि बढाउनुपर्ने थियो । शाकाहारी आन्दोलनले पुगेन, मांसाहारी आन्दोलन गर्नुप-यो, फेरि जंगल जानुप-यो भने धम्की दिएर आफ्नो भनाइमाथि पार्ने काम भयो । हामीले संसदमा वातावरण बनाएर छलफल गर्न चाहेका थियौं । हामीमाथि असंसदीय व्यवहार गरियो ।’

उनले सांसदहरुले सभामुखको बेल घेराउ गरेपछि संसद बसेको नमानिने बताउँदै सभामुखले असंसदीय अभ्यास गरेको आरोप लगाए । 

एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन

अध्यक्ष ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताए । उनले आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

गैरकानुनी रुपमा एमसीसीबारे मृत प्रस्ताव संसद्मा पेस गरियो

अध्यक्ष ओलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्रिय एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताए ।

एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?, प्रश्न गरे । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो भूमिकाप्रति प्रहार गरेका थिए ।

हामी एमसीसीको बारेमा संसदमा बहस गर्न चाहन्थ्यौं तर हामीमाथि ज्यादती भयो, उनले भने । गलत क्रियाकलापमा लागेकालाई पार्टीबाट निष्काशन गर्दा पनि सूचना ननिकालेको आरोप लगाउँदै उनले आफूहरुले त्यसको विरोधमा संसदमा अवाज उठाउँदा पेलेर जाने कार्य भएको बताए। 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सांसदभन्दा चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद सञ्चालन गरेको टिप्पणी गरे । जुन प्रस्ताव संसदमा प्रस्तुत भयो त्यो कानुन सम्मत नरहेको बताउँदै उनले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधान रहेको जिकिर गरे । तर तीन वर्ष अगाडि पेस भएको मृत्त प्रस्तावमाथि तथाकथित रुपमा गैरकानुनी रुपमा छलफल गराएको उनको आरोप छ ।

सभामुखले राजीनामा नदिए एमालेले महाभियोग लगाउन सक्छ

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउँदै राजीनामा नदिए महाभियोग लगाउन सकिने उल्लेख गरे । उनले  सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरे ।

ओलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए ।  गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए ।  एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।

काँग्रेसप्रति आक्रोश

अध्यक्ष ओलीले काँग्रेसको राजनीति प्रतिशोध पूर्ण नहुनुपर्नेमा जोड दिए । उनले अहिलेको गठबन्धन सरकार ढाल्न खोजेको नभई सुरुमै बन्न नदिन प्रयास गरेको बताए । उनले काँग्रेसलाई हिजो कसैले लोकेन्द्र बहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए ।

उनले भने, ‘यो सरकार बन्नै हुँदैनथ्यो लोकतन्त्रका लागि दुर्भाग्य हो । यो संविधानको उल्लंघन हो । हामीले लोकतन्त्रको आधारभूत मूल्य मान्यता र प्रणालीको रक्षाका लागि संविधानको रक्षाका लागि या मूलभूत रुपमा सहमती समझदारीका साथ लोकतन्त्रका लागि बलिदान गरेर आएका काँग्रेस र एमालेबीच आधारभूत समझदारी हुनुपर्छ भनेर भनेका हौँ । कहिले कसको रिस, कहिले कसको रिसको प्रतिशोधका रुपमा काम गरियो । एमाले गठबन्धनको जस्तो राजनीति गर्दैन हामी लोकतन्त्रको पक्षमा राजनीति गर्छौँ ।’

अब एमसीसी कार्यान्वयन गरेर जानुपर्छ

अध्यक्ष ओलीले अब एमसीसी परियोजना कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताए । एमसीसी परियोजना देशको विकास र हितको पक्षमा काम हुँदै जानुपर्नेमा उनको जोड थियो । 

उनले भने, ‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसदबाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा हुँदैन । पास भएपछि अव यो कार्यान्वयनमा जानुको कुनै विकल्प छैन । राष्ट्रहितमा यसको कार्यान्वयनको रखबारी गर्नुपर्दछ । हाम्रो भनाई यसको कार्यान्वयन देशको हितमा होस्, विकासको पक्षमा होस् ।’

पत्रकारले तपाईलाई अमेरिकी अधिकारीको फोनबाट दवाव आएको हो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले नेपालको प्रमुख पार्टीको अध्यक्षको हैसियतमा भारत, चीन, अमेरिकाका अधिकारीले फोन गर्नु स्वभाविक कुरा रहेको बताए । उनले अमेरिकी सहायक विदेश मन्त्रीको पनि फोन आएको बताए । कसैले धम्की, दवाव वा प्रभाव पार्न खोजे त्यसको प्रतिवाद गर्ने र त्यस्तो दवाव नआएको उनले दावी गरे ।

भीम रावल अनुशासनहीन हिरो

ओलीले आफ्नै पार्टीका नेता भीम रावललाई अनुशासनहीन ढंगले हिजो बन्न खोजेको आरोप लगाएका छन् । उनले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् या चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् । त्यसको विरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ ।’ त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप