बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधानी महायज्ञमा दर्शकलाई झुमाए नेपाली र भारतीय कलाकारले

मङ्गलबार, १७ फागुन २०७८, २० : २७
मङ्गलबार, १७ फागुन २०७८

रौतहटको मौलापुरमा मधानी महायज्ञको उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उद्घाटनको अवसरमा नेपाली तथा भारतीय कलाकारले  दर्शकलाई नचाएका थिए  । रौतहट लगायत तराई  क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको  छ ।

शिवरात्रीको विशेष अवसरमा आयोजना भएको  मधानी महायज्ञको पूर्व प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेपनि उनी अनुपस्थित भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले  गरेका थिए ।  महायज्ञको उद्घाटनको अवसरमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री प्रभु साह, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, अबुलकलाम, एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, उपेन्द्र साह, बब्बन सिंह, कटहरियाका मेयर सियाराम कुश्वाहा लगायतका नेताहरूको उपस्थिति रहेको थियो । महायज्ञमा भारतिय भोजपुरी सुपरस्टार खेसारीलाल यादव र रानी चटर्जीले झन्डै ४ घन्टासम्म आफ्नो प्रस्तुति राखेका थिए । साथै नेपाली महानायक राजेश हमाल, रचना शिवाकोटीले पनि प्रस्तुति राखेका थिए । 

भोजपुरिया कलाकार खेसारी लाल, रानी चटर्जी, नेपाली कलकार हमाल तथा शिवाकोटीको प्रस्तुतिले समय लाखौं दर्शक मन्त्रमुग्द भएका थिए ।  झन्डै २ हजार वर्षभन्दा पुरानो पुरातात्त्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको थियो । लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्त्व विभागद्वारा उक्त मन्दिरको उत्खनन गर्दा सुरुमा महादेव मन्दिर १३ औं सताब्दी भन्दा पहिलेको रहेको ठहर गरिएको थियो । पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसंग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको छ ।

मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई व्यवस्थित गरी महाशिवरात्रीको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ भव्यताका साथ आयोजना हुँदै आएको छ । मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने दोस्रोपटक गत वर्ष तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी थिए । महायज्ञको अवसरमा मौलापुरमा पुरातात्त्विक महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन् । कतिपय स्थानीयवासीले पूर्ण निष्‍ठाका साथ भारतबाट गंगा जल ल्याएर उक्त मन्दिरमा चढाउने गरेका छन् । मधानी महायज्ञको अवसरमा मौलापुर पतौरास्थित लाग्ने सप्‍ताह व्यापी मेलामा हुनेगरेको धार्मिक तथा सांस्कृतिक कार्यक्रममा लाखौं मानिसको सहभागिता हुने गर्दछ । 

यसपटक मधानी महायज्ञको उद्घाटनको कार्यक्रम तथा मेलालाई व्यवस्थित एवं सुरक्षितरूपमा सफल बनाउन दर्जनौं  स्वयंसेवकका साथै सयौं सशस्त्र र नेपाल प्रहरी लगायत परिचालन गरिएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप