शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभामा एमालेको अलमलः सरकारलाई साथ कि विरोध ?

बिहीबार, १९ फागुन २०७८, ०७ : ४९
बिहीबार, १९ फागुन २०७८

कर्णाली प्रदेशमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री होउञ्जेलसम्म विभिन्न विषयलाई एजेण्डा बनाउँदै लगातार संसद चल्न नदिएको एमाले अहिले वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति भने लचिलो देखिन्छ । संसदमा न सरकारलाई रचनात्मक रुपमा सहयोग गरेको जस्तो देखिन्छ, न सरकारका गलत गतिविधिहरूको खरो रुपमा विरोध नै गरेको जस्तो देखिन्छ । यसरी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष भूमिकामा रहेको नेकपा एमालेले दोहोरो चरित्र देखाइरहेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक संसदमा भन्दै आएका छन्, ‘सरकार सहि बाटोमा हिँडे हाम्रो रचनात्मक सहयोग हुन्छ ।’ तर उनै कँडेलले अचेल संसदमा बोल्दा अस्पष्ट धारणा राखिरहेका हुन्छन् । उनको बोली सरकारलाई साथ दिएको जस्तो पनि देखिन्छ, विरोध गरेको जस्तो पनि ।

माघ १८ मा एमालेले सरकारसँग एक खालको सम्झौता गर्यो । उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्ने भनिएको छ । तर प्रदेशसभाको नवौँ बैठकको १० औं बैठकमा एमालेले आफैले सम्झौता गरेको ७ बुँदेलाई हतियार बनाएर संसद अवरुद्ध गर्यो । लिखित धारणा नआएको भन्दै उसले संसद अवरुद्ध गरेको जिकिर गर्यो । त्यो दिन एमालेले संसद चल्न दिएन । जबकि सोही दिन मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले ७ बुँदै  समझदारीको कार्यान्वयनमा भएको प्रगतिबारे मुख्यमन्त्रीले सरकारको धारणा सार्वजनिक गर्ने कार्यसूची रहेको बताएको थियो ।

सचिवालय स्रोतले भन्यो,‘सरकारको धारणा पछि चित्त नबुझे अवरोध गर्ने हो । धारणा नै राख्न नदिई सरकारले समझदारी कार्यान्वयन गरेन भनेर कसरी विपक्षी दलले संसद अवरुद्ध गर्न सकेको होला ?’

तर बुधबार नवौं अधिवेशनको एघारौं बैठकमा एमाले संसदीय दलका नेता कँडेलले सुरुमै बोल्ने समय मागेर पूर्ण रुपमा सरकारको समर्थन मात्रै गरेनन्, मुख्यमन्त्री शाहीको प्रशंसा पनि गरे । झण्डै १५ मिनेट भन्दा बढी समय बोलेका उनले राजनीतिक परिदृश्यमा देखिएका घटनाक्रमको पात्र आफूहरु सबै भएको भन्दै सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उद्घोष गरे । उनले वर्तमान मुख्यमन्त्रीको कार्यशैली सही र पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यशैलीको लगातार विरोध गरे । उनले भने,‘कर्णालीको परिचय फेरिएको छ । फरक परिचयको साथ सरकार अघि बढ्दै छ । विगतको सरकारको अयोग्यताका कारण चार बर्ष खेर गयो ।’

‘कँडेलको प्रायः मन्तव्य पूर्व मुख्यमन्त्री लक्षित विरोधी, वर्तमानको प्रशंसा गरेर आफू जहिले सहि मार्गमा उभिएको जस्तो हुन्छ । तर उनको यस्तो शैलीले न सरकारलाई रचनात्मक सहयोग पुगेको जस्तो देखिन्छ, न सरकारका गलत कामकारबाहीको विरुद्धमा खरो रुपमा उत्रिएको जस्तो नै देखिन्छ,’ नेकपा माओवादी केन्द्रका एक सांसदले भने,‘वर्तमान मुख्यमन्त्रीले प्रतिपक्षसँग साँठगाँठ गरेर पूर्व मुख्यमन्त्रीलाई असक्षम देखाउने खेल भइरहेको छ । तर पनि हाम्रो संसदीय दलका नेताको कुनै प्रतिक्रिया छैन ।’

कँडेलले यस अघिको सरकार, सरकारमा रहेका व्यक्तिले नभई अन्त कतैबाट चलाइरहेको भन्दै खरो टिप्पणी गरेका थिए । तर, अहिले भनिरहेका छन्,‘सभामुख महोदय, हामी सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौं।’ यसरी प्रतिपक्षले साथ दिन्छौं भनेपछि सभामुख राजबहादुर शाहीले बुधबारको बैठकको कार्यसूची अघि बढाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप