बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा अब महिलाको क्यान्सर उपचार प्रदेश सरकारले गरिदिने

बिहीबार, १९ फागुन २०७८, १५ : ०१
बिहीबार, १९ फागुन २०७८

गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्ताक्षर गरेको पहिलो निर्णय नै महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार गर्ने थियो । त्यसपछिको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई अनुमोदन गर्‍यो ।

आर्थिक वर्ष सकिनै लाग्दासमेत सुरु नभएको उक्त कार्यक्रम बल्ल कार्यान्वयनमा आएको छ । प्रदेश सरकार र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सहयोग सम्बन्धमा सम्झौता भएको छ । क्यान्सर पीडित महिलाको उपचार गराइरहेका महिलाले प्रदेश सरकारबाट थप ५० हजार रुपैयाँ सहयोग पाउने छन् ।

स्वास्थ्य सचिव डा.श्रीराम तिवारीले बुधबार भरतपुर अस्पतालसँग सम्झौता भएको बताए । ‘संघ सरकारले दिने रकमकै आधारमा हामीले ५० हजार थपिदिने छौं,’ उनले भने, ‘अहिले महिलाको प्रजनन अंगसम्बन्धी सबै क्यान्सरको उपचारमा प्रदेश सरकारले रकम दिनेछ ।’

क्यान्सर पीडित विरामीलाई संघ सरकारले पनि एक लाख उपचार शुल्क दिँदै आएको छ । सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अंगसँग सम्बन्धित क्यान्सरको उपचारका लागि सोही रकममा थपेर प्रदेशले सहुलियत दिन लागेको हो । यही उपचारका लागि सरकारले चालू वर्षमा ५० लाख बजेट विनियोजन गरेको छ । अहिले गण्डकी प्रदेशबाट मात्रै १५ सय हाराहारी क्यान्सर विरामी उपचाररत छन् ।

सहुलियतसँगै सरकारले आफ्नै विशिष्टिकृत अस्पताल निर्माणको प्रक्रियासमेत अघि बढाएको छ । तर सबै उपकरणसहितको अस्पताल निर्माणमा धेरै खर्च लाग्ने भएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग समन्वय गरिएको तिवारीको भनाइ छ ।

गण्डकी सरकारले सबैभन्दा पहिले पाँच वर्षभित्र विशिष्टिकृत अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । अहिले गण्डकी विश्वविद्यालयसँगको साझेदारीमा मेडिकल कलेज सञ्चालन गर्ने र उक्त कलेजमा क्यान्सर रोग विशिष्टिकृत अस्पताल निर्माण हुने स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।

‘क्यान्सरको छुट्टै अस्पताल बनाउन धेरै खर्च लाग्छ । प्रदेशसँग त्यति धेरै स्रोत छैन,’ उनले भनिन्, ‘अहिले भइरहेको कुनै अस्पताललाई लिएर मेडिकल कलेजसँगै क्यान्सर उपचार सुरु गर्न लागेका छौं ।’ सरकारी मेडिकल कलेज नभएको प्रदेशमध्ये गण्डकी पनि हो ।

क्यान्सर उपचारमा सहयोगसँगै प्रदेशभरि क्यान्सर पीडित, क्यान्सरबाट मृत्यु भएकाको तथ्याङ्कसमेत संकलन गरिँदैछ । भरतपुर अस्पतालकै सहयोगमा रजिष्ट्रेसनको काम गर्न लागिएको हो । अस्पतालले यहाँका आठ जिल्लामा यसअघि नै तथ्यांक तयार गरेको छ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप