मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको महासचिवमा कसले मार्ला बाजी ?

बिहीबार, १९ फागुन २०७८, १७ : २९
बिहीबार, १९ फागुन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शुक्रबार  बस्दैछ । बैठक बस्ने समय जतिजति घर्किँदैछ, त्यतित्यति सो पार्टीमा पद प्राप्तिका लागि दौडधुप पनि बढ्दै छ । केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन नै बैठकको मुख्य एजेण्डा छ । पदाधिकारी चयन तथा कार्यविभाजनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सो पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच भागबण्डाका लागि बार्गेनिङ चलिरहेको छ ।

एमसीसी पारितसँगै नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । यसबीचमा अध्यक्ष प्रचण्डले श्रेष्ठसँग दुईपटक छलफल गरिसकेका छन् । अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच फागुन १७ गते र आज बिहान गरी दुई पटक छलफल भएको हो । श्रेष्ठले एमसीसीमा असन्तुष्टि जनाए पनि उनको चाहना पार्टीमा हुन गइरहेको पदाधिकारी चयन र कार्यविभाजनमा बार्गेनिङ नै हो भन्ने टिप्पणी भइरहेको छ । पदाधिकारीमध्ये पनि महासचिवका लागि ठुलो हानथाप भइरहेको छ ।

महासचिवको दौडमा नारायणकाजी पक्षका कोही छैनन् । अध्यक्ष प्रचण्डसँगको भेटमा श्रेष्ठले पार्टीमा महासचिव कसलाई बनाउने भन्ने आफ्नो सरोकारको विषय होइन, तर अन्य पद सम्मानजनक पाउनुपर्ने माग गरेको बताइएको छ । उनले एमसीसीको विषयमा पनि असन्तुष्टि जनाउँदै पार्टीको बैठकमा यसबारे व्यापक छलफल हुनुपर्ने भनेका छन् ।

​श्रेष्ठ पक्षका एक नेताले भने, ‘नारायणकाजीका लागि महासचिव पद इस्यु होइन, अन्य पद सम्मानजनक रुपमा पाउनुपर्छ भन्ने हो, त्यो कुराको जानकारी अध्यक्ष प्रचण्डलाई पनि गराई सक्नुभएको छ ।’

श्रेष्ठले कुन कुन पदमा दावी गरेका छन्, त्यो कुरा बाहिर आएको छैन तर उनको पक्ष महासचिवको दौडमा नरहेको स्पष्ट छ । तर अहिले पदाधिकारी र कार्यविभाजन भन्दा एमसीसीको मुद्दा विशेष एजेण्डा बन्ने सम्भावना रहेको ती नेताले बताए ।

माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिन्छ ।

महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतले चासो देखाइरहेका छन् । तर तीमध्ये जनार्दन शर्मा र वर्षमान पुनबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रचण्ड पक्षका एक नेताले भने, ‘कृष्णबहादुर महरालाई उपाध्यक्ष दिएर प्रचण्डले मिलाउन सक्नु हुन्छ । पम्फा भुसाल र देव गुरुङलाई सचिव अथवा उमहासचिवमा मिलाउन सक्नु हुन्छ तर जनार्दन शर्मा र वर्षमान पुनलाई मिलाउन उहाँलाई गाह्रो छ ।’  

नारायणकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा बस्ने चाहना राखेको बुझिएको छ । हुन त वरिष्ठ उपाध्यक्ष पद कृष्णबहादुर महरालाई पनि चाहिएको छ तर प्रचण्डलाई लागि महराको व्यवस्थापन गर्न कुनै समस्या नरहेको ती नेताको बुझाइ छ । जनार्दन शर्मा र वर्षमान पुनले सहमतिमै महासचिव पाउनु पर्ने दावी गर्दै आएका छन् । यदि सहमतिमा नभए प्रतिस्पर्धा गर्न पनि तयार रहेको उनीहरु दुवैले बताउँदै आएका छन् ।

गत पुसमा माओवादी केन्द्रको महाधिवेशन चलिरहँदा वर्षमान पुन उपचारका लागि चीनमा थिए । यहाँ केन्द्रीय समिति निर्माणसँगै पदाधिकारी चयनको चर्चा सुरु भएपछि उनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका थिए । राजनीतिक विश्लेषकहरुका अनुसार नेता पुनले आफू उपचारमा रहेको बेला पनि महाधिवेशनमा आफ्नो उपस्थिति देखाउन त्यो फोटो सार्वजनिक गरेका थिए । पार्टीमा आफ्नो प्रभाव देखाउन त्यो बेलाको तस्बिर पर्याप्त थियो । त्यही भएर उनी महाधिवेशनमा उपस्थित नहुँदा पनि महासचिवमा उनको चर्चा थियो । उनी चीनबाट उपचार गराएर नेपाल आएपछि उनको चर्चा बढ्न थाल्यो ।

यता, संसदबाट एमसीसी पारित भएपछि पार्टीमा जनार्दन शर्माको ग्राफ बढेको र वर्षमान पुनको ग्राफ घटेको विश्लेषण भइरहेको छ । एमसीसीका कारण प्रचण्ड अप्ठ्यारोमा परेको बेला जनार्दन शर्माले उनलाई खुलेर साथ दिएका थिए तर वर्षमान पुन त्यति खुलेका थिएनन् । पार्टीका नेताहरुका अनुसार वर्षमान पुनले खुलेर एमसीसीको विरोध नगरे पनि प्रचण्डलाई खुलेर साथ पनि दिएका थिएनन् । यस अर्थ पनि महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जनालाई रोज्ने अवस्था प्रचण्डलाई आयो भने उनले जनार्दनलाई नै रोज्ने एकथरीको भनाइ छ । तर प्रचण्डलाई वर्षमान पुन पनि चाहिन्छ ।

महासचिवका लागि यी दुईको बीचमा कडा प्रतिस्पर्धा देखिएको कारण अध्यक्ष प्रचण्ड पनि दबाबमा परेका छन् । सो दबाबका कारण उनी अहिले पदाधिकारी चयन नगर्ने पक्षमा छन् । प्रचण्ड निकट एक जना केन्द्रीय सदस्यले भने, ‘महासचिवका लागि जुनको खालको दबाब प्रचण्डमाथि परेको छ, त्यसले गर्दा उहाँ पदाधिकारी नै चयन नगर्ने पक्षमा देखिनुभएको छ ।’

अध्यक्ष प्रचण्ड भोलिदेखि बस्ने केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय समिति विस्तार गर्दै पोलिटब्युरो तथा स्थायी कमिटी बनाउने तयारीमा लागेका छन् । त्यसका लागि उनले आफ्ना निकट नेताहरुसँग परामर्श पनि थालिसकेका छन् । यद्यपि, नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले केन्द्रीय कमिटीको बैठकबाट पदाधिकारी चयनका लागि विशेष जोड दिएका छन् ।  तर प्रचण्ड त्यसलाई टार्ने प्रयासमा छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबोल गजुरेलले पनि केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयन, कार्यविभाजन भन्दा एमसीसीको एजेण्डा मुख्य हुने वातावरण बन्दै गएको बताए । उनले भने, ‘अवस्था पहिलाको जस्तो छैन, एमसीसीलाई लिएर पार्टीमा फरक मत आइरहेका छन्, त्यसैले पहिला त्यसको बारेमा टुङ्गो लाग्छ, अनिमात्र अरु विषयमा प्रवेश हुन्छ ।’

​महासचिव कार्यकारी पद भएका कारण त्यसमा सबैको चासो हुनु स्वाभाविक हो तर को महासचिव बन्ने भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए । भोलिको बैठकमै पदाधिकारी चयनको विषयमा छलफल नहुनेजस्तो देखिएको उनको भनाइ छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले पार्टीका लागि महासचिव पद महत्वपूर्ण भएकाले सबैको चासो त्यसमा जानु स्वाभाविक भएको बताए । तर महासचिव को बन्छन् भन्दा पनि सहमतिमै बनाउनु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘संगठनका लागि महासचिव पद महत्वपूर्ण पद हो, त्यसैले मान्छे चयन गर्दा सबै कुरामा ख्याल गर्नुपर्छ तर म फलानै व्यक्ति हुनुपर्छ भन्ने पक्षमा छैन, जो हुन्छन् सहमतिमा हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप