बालसंसार

प्रेरक प्रसङ्ग : मूल्य वस्तुको होइन विशेषताको हुन्छ

person explore access_timeफागुन २२, २०७८ chat_bubble_outline0

एकपटक विश्वविख्यात वैज्ञानिक थोमस एल्वा एडिसन रेल गाडीबाट कतै जाँदै थिए । गाडी चलिरहेको थियो उनी कुनै पुरानो धार्मिक पुस्तक पढ्नमा व्यस्त । उनको तल्लीनता देखेर नजिकै बसेका सज्जनले सोधे–


‘महाशय ! देख्दैछु निकै पहिलेदेखि पढ्नमा तल्लीन हुनुहुन्छ, कुन पुस्तक हो यो ?’



एडिसनले टाउको नउठाइकनै उत्तर दिए–



‘मान्नुस् कुनै एक धार्मिक पुस्तक ।’

‘कति वर्ष पुरानो होला यो ?’

‘त्यस्तै हुनुपर्छ हजार वर्षजति ।’

उत्तर सुनेर आश्चर्य मान्दै सज्जनले भने–

‘आजको वैज्ञानिक युगमा पनि यति पुरानो धार्मिक पुस्तक ? के गर्नुहुन्छ यस्तो पुस्तक पढेर । लाग्छ तपाईँलाई विज्ञानको महत्व थाहा छैन । विज्ञानको पुस्तक पो पढ्नुपर्छ, जो दैनिक जीवनमा काम आउँछ । यस्ता थोत्रा पुस्तक पढेर किन समय बरवाद गर्नुहुन्छ ?’

उनको कुरा सुनेर मुसुक्क हाँस्दै एडिसनले सोधे–

‘यहाँको परिचय ?’

‘विज्ञानको प्रोफेसर हुँ, कलेजमा त्यही विषय पढाएर फर्कँदैछु ।’

‘ए !’

यति भनेर उनी पुनः पढ्नतिरै लागे । लामो सयमसम्म उत्तर नपाएपछि सज्जनले फेरि सोधे–

‘किन मेरो कुरा राम्रो लागेन ? उत्तर दिनुभएन नि ? नराम्रो नमान्नुहोला । तपाईँहरूजस्ता नौजवानले विज्ञानलाई महत्व नबुझेको देखेर सम्झाउन खोजेको हुँ ।’

‘होइन, होइन, त्यसो होइन ।’ एडिसनले उनलाई हेर्दै भने–

‘काममा जानुपर्दा मानसिक एकाग्रताका लागि र कामबाट फर्कदा थकाइ मार्नका लागि यस्तो पुस्तक पढ्ने गर्छु, जसले मलाई छुट्टै आनन्द दिने गर्छ ।’

‘ए मैले त भुसुक्कै बिर्सेछु ।’ सज्जनले प्रसङ्ग बदल्दै भने–

‘अनि तपार्ईँको परिचय नि ? कहाँ के गर्नुहुन्छ ?’

‘ए परिचय ? मलाई थोमस एल्वा एडिसन भन्ने गर्छन् ।’

उत्तर सुनेर सज्जन छाँगाबाट खसेजस्ता भए । उनको अवस्था देखेर एडिसनले सम्झाउँदै भने–

‘अप्ठ्यारो मान्नुपर्दैन । यति मात्र हो कि महत्व वस्तुको नभई उसको विशेषताको हुन्छ भन्ने मेरो मान्यता छ । पुस्तक कुन र कति पुरानो हो भन्ने कुराको अर्थ छैन । अर्थ त त्यसको हुन्छ उसले कति काम गर्छ भन्ने कुराको ।’

यति भनेर एडिसन उठे । त्यतिबेलासम्म उनको स्टेशन आइपुगेको थियो । सज्जन हेरेकोहे¥यै भए ।’

यो एउटा दृष्टान्त हो । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । मानिस होचो, अग्लो, कालो, गोरो, राम्रो, नराम्रो, ठूलो, सानो, धेरै, थोरै, धनी, गरीव जे पनि हुन सक्छ । त्यसको कुनै अर्थ छैन तर उसले के गरेको छ भन्ने कुराले भने धेरै अर्थ राख्छ ।

महाभारतको युद्ध भइरहेको थियो । दुर्योधनको पक्षमा रथी र महारथीका सङ्ख्या पनि धेरै थियो सेना पनि धेरै थिए । उनका भाइहरू नै सय भाइ थिए । उता पाण्डवका पक्षमा भने उनीहरू आफू पनि पाँच भाइ थिए । रथी, महारथी र सेनाका सङ्ख्या पनि कम थियो । तैपनि विजय पाण्डवकै भयो । धेरै हुँदैमा महत्व बढी हुने भए यहाँ विजय दुर्योधनको हुनुपर्ने थियो ।

रामायणका पात्र शवरीको कथा सबैले सुनेका छौँ । उनले भगवान् रामलाई जुठो बयर खुवाएकी थिइन् । शबरी थकामादा, गरीव, शोषित, पीडित र दलित वृद्ध नारी थिइन् तर कस्ताकस्ता मैहुँ भन्ने राजा महाराजा तथा ऋषिमुनिहरू हेरेको हे-यै भए । उनीहरूलाई एक झल्को दर्शन पाउनसमेत गाह्रो प¥यो तर शबरीले भने केही गर्नै परेन । राम आफैँ आएर उनले झुठो हालेको काचो बयर खाइदिए । धनी, मानी र ज्ञानी हुँदैमा दर्शन पाउने भए यस्तो अवसर ती राजा महाराज र ऋषिमुनिहरूले पाउनुपर्ने थियो ।

भागवतमा एउटा कथा छ । हिरण्य कशिपु तत्कालीन समाजका सम्राट थिए । तीनैलोकमाथि विजय पाएका थिए । उनको नाम सुन्नासाथ देवताहरूसमेत थर्कमान हुने गर्थे तर उनका पाँचवर्षका छोरा प्रह्लादसित भने केही पनि थिएन । आफ्नै बाबुसमेत उनका पक्षमा थिएनन् । तैपनि भगवान् नरसिंहबाट बाबु हिरण्यकशिपुले दण्ड पाए भने छोरा प्रह्लादले काख । यहाँ पनि धनीमानी हुँदैमा महत्व बढी हुने भए विजय हिरण्यकशिपुको हुनुपथ्र्यो तर त्यस्तो भएन ।

पौराणिक ग्रन्थहरूमा तारकासुरको कथा आएको छ । उनी निकै शक्तिशाली र पराक्रमी थिए त्यतिबेलाका । देवताहरूलाई समेत बन्दी बनाउने सामथ्र्य राख्थे । शक्तिशाली हुँदैमा महत्व बढी हुने भए यहाँ पनि वियय उनको हुनुपर्ने थियो तर त्यस्तो भएन । पाँचै वर्षका गणेश र कुमारले उनका कामतमाम गरिदिए । 

पुस्तक पनि त्यस्तै हो । महत्व पुस्तकमा होइन उसको विषय र विशेषतामा खोज्नुपर्छ ।  पुरानो हुँदैमा वा धार्मिक हुँदैमा महत्व कम हुन्छ भन्ने होइन । महत्व त्यहाँ हुन्छ हामीले त्यसबाट केकति फाइदा लिने गरेका छौँ वा लिन सकेका छौँ । पुराना र धार्मिक पुस्तक भनेका त्यस्ता पुस्तक हुन्, जसलाई जसरी पढ्न खोजियो त्यसैगरी पढ्न पनि सकिन्छ र जसरी अथ्र्याउन खोज्यो त्यसैगरी अर्थिन्छन् पनि । यस्ता पुस्तक जति पढे पनि नयाँ नै लाग्छन् भने जे खोज्यो त्यही दिन्छन् पनि । एउटै गीता महत्व थाहा नपाउनेका लागि पुरानो किताबको ठेली मात्र लाग्न सक्छ । महत्व थाहा पाउनेका लागि जीवन र जगतलाई छर्लङ्ग्याउने ऐना बन्न सक्छ ।

संसार आफैँमा त्यस्तो पाठशाला हो, जहाँ गुरुको अभाव छैन । पदपदमा गुरु भेटिन्छन् । फरक यति हो हामीले त्यसबाट केकति सिक्न सकेका छौँ । परमहंस शिरोमणि दत्तात्रय महाराजले कमिला र हात्तीदेखि हवा, पानी, माटोसम्मलाई गुरु मानेका थिए । उनका २४ वटा गुरु थिए रे भागवतमा व्यासजीले भनेका । तिनमा सर्प, बिच्छी, माकुरो, कुमलकोटीदेखि बालकबालिकासम्म पर्थे । त्यसैले त उनी जति सुखी र आनन्दित अर्को देखिएका थिएनन् संसारमा । चिन्न सके बालुवामा पनि सुन पाउन सकिन्छ नसके सुनकै ढिक्का फेला परे पनि कुनै अर्थ छैन । यही नै जीवन हो, जीवनदर्शन हो, जीवनको सार हो ।     

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।