स्वास्थ्य सरोकार

अङ्गदानको होडमा मन्त्रीदेखि कलाकारसम्म

घोषणा गर्दैमा अङ्ग दान गर्ने ग्यारेन्टी छैन

person explore access_timeफागुन २६, २०७८ chat_bubble_outline0

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अङ्ग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा फागुन १५ गते स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुत्युपश्चात अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।


यस्तै, पूर्व मन्त्री गगन थापा, उमाकान्त चौधरी, पूर्व मुख्यसचिव लिलामणि पौड्याल लगायत नेपाल सरकार सचिवहरू, कलाकार तथा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूले सार्वजनिक रूपमा अङ्ग दानको घोषणा गरेका छन् ।



यसरी धमाधम अङ्ग दानका लागि घोषणा गर्ने र नाम दर्ता गर्नेहरूको कमी छैन । हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजार ८ सय ७३ जनाले अङ्ग दानका लागि नाम दर्ता गराएका छन् । ८ वर्षको अवधिमा एक हजार ८ सय ७३ जनाले अङ्ग दानका लागि नाम दर्ता गरे पनि भक्तपुरस्थित प्रत्यारोपण केन्द्रबाट हालसम्म मस्तिष्क मृत्यु अर्थात् (ब्रेन डेथ) भएकाबाट एक जनाको पनि अङ्ग झिकिएको छैन ।



प्रत्यारोपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ तथा डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अङ्ग दानका लागि नाम दर्ता नगराएका तर मस्तिष्क मृत्यु भएका तीन जनाबाट भने ६ जनामा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ ।

ब्रेन डेथ भएका ती व्यक्ति निजी अस्पतालमा उपचारका लागि पुगेका थिए । तर, मस्तिष्क मृत्यु भएका तीन जनाका परिवारलाई प्रत्यारोपण केन्द्रका चिकित्सकहरूको परामर्श दिएपछि परिवार अङ्ग दानका लागि तयार भएका थिए ।

अङ्ग दान घोषणा गरेका एक हजार ८ सय ७३ जना मध्ये कसैको पनि मस्तिष्कको मृत्यु भएका छैन ? भन्ने रातोपाटीको प्रश्नमा प्रत्यारोपण केन्द्रका यूरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागीय प्रमुख तथा प्रत्यारोपण विशेषज्ञ डा. विजय मानसिंह कटुवालले अङ्ग दानको कार्ड बनाउँदैमा अङ्ग दान गर्ने ग्यारेन्टी नहुने बताए ।

उनी भन्छन्, ‘अङ्ग दानका लागि दर्ता गराएका नागरिकको बाइ चान्स मस्तिष्क मृत्यु भयो । तर, मृतकका परिवार अर्थात् छोराछोरीले मेरो बुवाको अङ्गहरु केही गर्न दिन्न भनेपछि अस्पतालले अङ्ग दानको कार्ड बनाउनु भएको छ, दिनैपर्छ भन्न त मिल्दैन ।’

नेपालमा अङ्ग दानको कार्ड बनाएर मस्तिष्कको मृत्यु भएको खण्डमा अनिवार्य रूपमा अङ्ग दान गर्नै पर्छ भन्नेबारे कानुन बोलेको छैन । जिउँदो मानिसको मानव अधिकार हुन्छ तर, मृत्युपछि लासको अधिकार कसको हो भन्ने कुरालाई कानुनले निर्क्योल नगरेकाले अङ्ग दानका लागि नाम दर्ता गरे पनि अङ्ग दानको अनिवार्यता नभएको प्रत्यारोपण विशेषज्ञहरूको भनाइ छ ।

यस्तै, परिवारको सदस्यलाई गुमाउँदा अन्य सदस्य शोकमा हुन्छन् । त्यस्तो अवस्थामा अस्पतालले अर्को व्यक्तिलाई बचाउनुपर्छ भन्दै अङ्ग दानका लागि आग्रह गर्नु उपयुक्त नहुने अस्पतालका निर्देशक तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा.श्रेष्ठको भनाइ छ  ।

अङ्ग दानका लागि कार्ड नबनाएका अचानक मस्तिष्कको मृत्यु भएका व्यक्तिको अङ्ग परिवारले दान गर्न चाहेको खण्डमा दान दिन सक्ने प्रत्यारोपण विशेषज्ञ डा. कटुवालले बताए ।

अङ्ग दानको घोषणा गर्ने र खल्तीमा अङ्ग दानको कार्ड बोकेर हिँड्दैमा मानव अङ्ग दान कार्यक्रम अगाडि बढ्न नसक्ने जनस्वास्थ्यविद्हरुको धारणा छ ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध ) नियमावली २०७३ पछि अङ्ग दानको प्रावधान ल्याइए पनि व्यवहारिक रूपमा लागू हुन सकेको छैन ।

अस्पतालका निर्देशक डा. श्रेष्ठका अनुसार नेपालमा अङ्ग दानसम्बन्धी ९९ प्रतिशत जनसङ्ख्यामा जानकारी छैन । अङ्ग दान जीवन दान हो भन्ने कुरालाई उजागर गर्नका लागि नीति निर्मातादेखि समुदायस्तरसम्म बहस र पैरवीसँगै जनचेतना फैलाउनुको विकल्प नभएको उनी बताउँछन् । एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिले कम्तीमा ४ जनालाई जीवन दान गर्न सक्ने भएकाले कलाकार, पत्रकार, सरकारले आफ्नो ठाउँबाट जनचेतना फैलाउन लागिपर्नु पर्ने डा.कटुवाल बताउँछन् ।

मानिसको (ब्रेन डेथ) अर्थात् मस्तिष्कको मृत्यु भएको खण्डमा सोही व्यक्तिलाई उपचारको क्रममा लागेको खर्च सरकारले व्यहोर्ने, काजक्रियाका लागि लाग्ने खर्च सरकारले व्यवस्था गरिदिएमा परिवारका सदस्य प्रोत्साहित भई अङ्ग दान गर्न सक्ने विशेषज्ञ डा कटुवाल बताउँछन् ।

के हो ब्रेन डेथ ?

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठका अनुसार मस्तिष्कको उपचार फेल भएमा अर्थात् मस्तिष्कले गर्ने सम्पूर्ण कार्य बन्द भई रिसिभ अनि रेस्पोन्स गर्न नसकेको अवस्थामा पनि शरीरका अन्य अङ्गले केही समय काम गरिरहेका हुन्छन् । यसरी मस्तिष्कले काम नगरेको अवस्थामा पनि शरीरका केही अङ्गले काम गरिरहेको अवस्थालाई मस्तिष्कको मृत्यु अर्थात् ‘ब्रेन डेथ’ भनिन्छ ।  ‘ब्रेन डेथ’ भएको केही समयसम्म पनि दुई वटा मिर्गौला, दुई वटा फोक्सो, कलेजो, प्यानक्रियाज, सानो तथा ठूलो आन्द्राले काम गरिरहन्छ ।

मस्तिष्कको मृत्यु भइसकेपछि अन्य अङ्गले काम गर्न नछाड्दै तिनलाई अरूको शरीरमा प्रत्यारोपण गर्न सकेमा जीवन मरणको दोसाँधमा परेका व्यक्तिले नयाँ जीवन पाउन सक्ने उनले बताए ।

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठ मृत्यु भइसकेपछि खरानी बन्ने अनि माटोमा गल्ने अङ्गले जीवन र मरणको दोसाँधमा रहेका धेरै मानिसलाई नयाँ जीवन दिएर पुण्य कमाउन सकिने बताउँछन् ।

अङ्ग दानका लागि नाम दर्ता गराएका व्यक्तिको यदि आकस्मिक रूपमा भेन्टिलेटर, आइसीयूमा पुग्दा मस्तिष्क मृत्यु भएमा त्यस्ता व्यक्तिबाट अङ्ग झिकिन्छ । एक जना मस्तिष्क मृत्यु भएको बिरामीले जीवन र मरणको दोसाँधमा रहेका ७ जनासम्म मानिसलाई नयाँ जीवन दिने प्रत्यारोपण केन्द्रका निर्देशक तथा मिर्गौला प्रत्यारोपण वरिष्ठ विशेषज्ञ डा. श्रेष्ठको भनाइ छ ।

उनका अनुसार एक जना मस्तिष्क मृत्यु भएका बिरामीबाट दुई वटा मिर्गौला, कलेजो, दुई वटा फोक्सो, प्यानक्रियाज, सानो आन्द्रा, ठूलो आन्द्रा झिकेर अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।

यद्यपि नेपालमा मुख्यतः मिर्गौला र कलेजो प्रत्यारोपण हुँदै आएको छ । नेपाल हालसम्म स्वदेश र विदेशगरी १२ सयभन्दा बढीले मिर्गौला प्रत्यारोपण गराएर औषधि सेवन गर्दै आएका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ८२१ जनाले मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।

नेपालमा वार्षिक रूपमा करिब २२ सय जनासम्मको दुर्घटना हुने गर्छ । जसमा करिब एक हजार जनाको ‘ब्रेन डेथ’ हुने अनुमान गरिएको छ । मस्तिष्कको मृत्यु भएका एक हजार जनामध्ये कम्तीमा २ सय जनाको मात्र मिर्गौला अरूलाई प्रत्यारोपण गर्न सकेको खण्डमा ४०० जनाको ज्यान जोगाउन सकिने निर्देशक डा. श्रेष्ठको भनाइ छ ।

यस्तै मस्तिष्कको मृत्यु भएका ती दुई सय जनाबाट कम्तीमा अन्य एक हजारलाई विभिन्न अङ्ग दान गरेर जोगाउन सकिने उनले बताए ।

अङ्ग दानलाई दुई तरिकाले बुझ्नुपर्छ

त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. सन्तोष क्षेत्रीले अङ्ग दानलाई दुई तरिकाबाट बुझ्नुपर्ने बताए । कसैले अङ्ग दानका लागि नाम दर्ता गरेका हुन्छन् भने कसैले तत्काल भवितव्य आएको खण्डमा अङ्ग दानका लागि दर्ता गराउन सक्ने प्रत्यारोपण विशेषज्ञ डा. क्षेत्री बताउँछन् । विशेषज्ञ डा. क्षेत्रका अनुसार मृत्युपछि अङ्ग दान अन्तर्गत आकस्मिक रूपमा सडक दुर्घटना वा रुखबाट लडेर अस्पतालमा भेन्टिलेटर उपचाररत बिरामीको मस्तिष्क मृत्यु भएको खण्डमा पारिवारिक सहमतिमा त्यस्ता अङ्ग झिकेर अरूलाई दिने प्रक्रियालाई अङ्ग दान भनिन्छ ।

समुदायमा अङ्ग दानबारे झट्ट सुन्दा मृत्युपछि दिइने अङ्गलाई अङ्गदान भनेर बुझ्ने गरेको उनको भनाइ छ ।

हाल अङ्ग दानका लागि नाम दर्ता गरेका व्यक्तिले प्राकृतिक रूपमा मृत्यु भएको खण्डमा आँखा दान गर्न सक्छन् भने अकस्मात् रूपमा दुर्घटना भई भेन्टिलेटर भर्ना भएका र ब्रेन डेथ भएका मानिसको परिवारले समर्थन जनाएको खण्डमा अङ्ग दान गर्न सक्ने प्रत्यारोपण विशेषज्ञ डा. क्षेत्री बताउँछन् ।

शरीर पनि दान गर्न सकिन्छ

ब्रेन डेथबारे चर्चा परिचर्चा भइरहँदा शरीर दानको बहस चल्न अति आवश्यक रहेको मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. क्षेत्री बताउँछन् ।

अङ्ग दानसँगै शरीर दान अर्थात् घाँटीबाट मुनिको भागको दान गर्न मृत्युभन्दा अगाडि नै दर्ता तथा घोषणा गर्ने मानिसहरू छन् । त्रिवि शिक्षण अस्पतालमा शरीर दानका लागि हालसम्म ५ जना व्यक्तिले नाम दर्ता गराएका छन् । मृत्यु भइसकेको शरीर मेडिकल प्रयोजनका लागि आवश्यक पर्ने उनको भनाइ छ । मृत्यु भइसकेपछि गाड्ने, जलाउने शरीरलाई मेडिकल प्राक्टिकल प्रयोगका लागि दान गर्न चाहनेले यसरी नाम दर्ता गराउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा मेडिकल प्रयोगात्मकता अभ्यासका लागि वार्षिक रूपमा २२ वटा मृत शरीर आवश्यक पर्ने अस्पतालले जनाएको छ । नेपालमा शरीर दान गर्ने न्यून सङ्ख्यामा हुने भएकाले प्रहरीसँग समन्वय गरेर लामो समयसम्म पहिचान नभएका बेवारिसे शवलाई प्रयोगात्मक कार्यका लागि प्रयोग गरिँदै आएको डा. क्षेत्रीले सुनाए ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।